मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए । 

आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख उनले गरे । १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने बताए । 

उनले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्त्वपूर्ण हुने बताए ।    

भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले सोही क्रममा बताए । 

भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसङ्ग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सातवटै प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै सरकारी अस्पतालहरु सुविधासम्पन्न भए निजी अस्पतालमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुने बताए । 

भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्न भक्तपुर नपाले जग्गा उपलब्ध गराइ सहयोग गरेको, अस्पतालमा ब्याप्त भ्रष्टाचार र अनियमितलाई रोक्न भक्तपुर नपाले गरेको पहल आदि प्रसङ्ग स्मरण गर्दै उनले कुनै पनि संस्थाको भवन र उपचारलाई सुविधायुक्त बनाई जनशक्तिलाई दक्ष बनाउन सके संस्था दिगो रूपमा सञ्चालन हुने बताए । 

प्रमुख प्रजापतिले आधुनिक र सुविधासम्पन्न भवन निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्ने, कानुन बमोजिम दर्ता नभएका एनजीओ तथा आइएनजीओका प्रतिनिधि कुनै सरकारी संस्थाहरुको सदस्य मनोनयन गर्न नहुने, कर्मचारी विनियमको तत्काल संशोधन गरी कर्मचारीलाई स्थायित्व दिनुपर्ने, संघले सबै सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्ने, सबै प्रदेशहरुमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने र क्यान्सरका सबै उपचार निःशुल्क गर्नुपर्नेलगायतका विषयमा स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?