काठमाडौँ– बलिउडमा मात्रै नभई हलिउडमा पनि उतिकै चर्चित र लोकप्रिय छिन्, अभिनेत्री प्रियंका चोपडा । उनी एक बलिउडमा एक महंगो कलाकारका रूपमा मात्रै नभई गायिका तथा निर्माताका रुपमा पनि परिचित छिन् ।
सन् १९८२ को जुलाई १८ मा भारतको जमशेदपुरमा जन्मिएकी अभिनेत्री चोपडा अहिले ४२ औँ वसन्तको यात्रामा छिन् । भारतमा जन्मिए पनि उनका केही समयको बाल्यकाल अमेरिकामा बित्यो ।
उनको बुबा अशोक चोपडा आर्मीमा चिकित्सक पदमा कार्यरत थिए भने आमा पनि सेनामा नै कार्यरत थिइन् । दुवै जना सेना भएकै कारण उनले सानै उमेरमा धेरै शहर घुम्ने मौकासमेत पाएकी थिइन् ।
उनी आफूभन्दा १० वर्ष कान्छा निक जोनससँग प्रेम सम्बन्धमा परेका थिए । उमेरान्तर भएकै कारणले उनीहरुको सम्बन्धको चर्चा पनि बेग्लै थियो । तर पनि उनीहरुले सन् २०१८ मा इगेजमेन्ट गरी डिसेम्बरमा हिन्दु र क्रिश्चियन परम्परा अनुसार उनीहरूले विवाह गरे ।
सन् २०२२ मा यी दम्पत्ती सरोगेसीबाट छोरीको आमाबाबु पनि बने ।
उनले लखनउको लामट्रस स्कूल र बलेलीको सैन्ट मारिया गोरेटी कलेजबाट आफ्नो अध्ययन पूरा गरेकी हुन् । १३ वर्षको उमेरमा उनी थप पढाइको लागि आफ्नी काकीसँग अमेरिकामा गएकी थिइन् ।
अमेरिकामा छालाको रंगको कारणले उनले धेरै भेदभाव सहन बाध्य भइन् । आफूसँगै अध्ययन गर्ने महिलाले उनलाई रंगभेद गर्ने, रंगकै कारण मजाक गर्नेलगायतको गतिविधि गर्दै आएका थिए । अमेरिकामा बसेकै कारण केही वर्षसम्म त उनले अमेरिकामा रंगभेदको सामनासमेत गर्नुपरेको थियो । रंगभेदकै कारण केही वर्ष बाथरुममा लुकेर खाजा खानु परेको किस्सा उनीसँग छ ।
अमेरिकामा तीन वर्षको बसाइपछि उनी भारतमा फर्किन् । भारत फर्केपछि उनी थप पढाइको लागि बरेलीको आर्मी स्कूलमा भर्ना भइन् । यसै समयमा उनले स्थानीय सौन्दर्य प्रतियोगिता ‘मे क्वीन’ को उपाधि पनि जितेकी थिइन् ।
उनले मन पराउने मानिसहरु घरको वरिपरि घुम्ने गर्थे । उनलाई विभिन्न तरिकाबाट हैरान पार्ने काम गर्थे । यसले गर्दा उनी आफ्नै घरमा पनि बन्धक भएर बस्न बाध्य भएकी थिइन् । अर्थात् मन पराउने मान्छे घरमा आउने भएकाले उनको बुबाले घरमै थुनेर राख्थे ।
प्रियंकालाई ‘मिस इण्डिया वल्र्ड’ मा सहभागी गराउनका लागि उनको आमाले केही फोटोहरु प्रतियोगितामा पठाएकी थिइन् । यसैबाट उनी मिस वल्र्डमा सहभागी भएर सन् २००० मा उपाधिसमेत जितिन् । मिस वल्र्ड जित्ने उनी पाचौँ भारतीय महिला हुन् । सो उपाधी जितेसँगै बलिउड क्षेत्रमा करिअर बनाउने उनले योजना बनाइन् ।
मिस वर्ल्डको उपाधिपछि फिल्ममा अफरै अफर
मिस वर्ल्डको उपाधि जितेपछि प्रियंकालाई फिल्मको लागि अफर आएको थियो । उनलाई पहिलोपटक अब्बास मस्तानको रोमान्टिक फिल्म ‘हमराज’ लागि अफर गरे पनि विभिन्न कारणले अभिनय गर्न पाइनन् । यसपछि उनले तमिल फिल्म ‘थमिजहन’ मा अभिनय गरिन् ।
उनले सन् २००३ मा फिल्म ‘द हिरोः लब स्टोरी अफ स्पाइ’ बाट डेब्यू गरिन् । यस फिल्ममा उनले दोस्रो लिड हिरोइनको रुपमा काम गरेकी थिइन् । यस फिल्ममा सन्नी देओल, प्रिति जिन्टा, अमरिश पुरीलगायतका कलाकारको अभिनय थियो । फिल्म सो वर्षको ब्लक बस्टर साबित भएको थियो । साथै प्रियंकाको अभिनयलाई धेरैले तारिफसमेत गरेका थिए ।
केही समयमा अभिनेत्री उनले फिल्म ‘अन्दाज’ मा काम गरिन् । फिल्ममा उनको अपोजिटको रुपमा अभिनेता अक्षय कुमार थिए । यस फिल्ममा पनि उनलाई सेकेण्ड लिड भूमिका निभाउन दिइएको थियो । फिल्ममा उनको अभिनयको निकै तारिफ भयो । फिल्मबाट उनले फिल्मफेयर अवार्डमा ‘बेस्ट स्पोर्टिङ एक्टर्स’ अवार्ड जितिन् ।
सन् २००४ मा उनको ‘प्लान,’ ‘किस्मत’ र ‘असम्भव’ फिल्म रिलिज भयो । तर बिडम्वना तीन वटै फिल्म बलिउडमा फ्लप भए । केही समय पछि डेविड धवनले कमेडी फिल्म ‘मुझ्से शादी करोगी’ को लागि अभिनेत्री चोपडालाई अप्रोच गरे ।
यस फिल्ममा उनी अभिनेता सलमान खानको अपोजितको रुपमा देखिएकी थिइन् । यो फिल्मले व्यवसायिक रुपमा राम्रो कमाइ मात्रै गरेन सो वर्षको तेस्रो हिट पनि भयो ।
यसपछि उनलाई अब्बास मस्तानको ‘एतराज’ फिल्ममा नकरात्मक भूमिकाको अफर आयो । यस फिल्ममा उनले सोनिया कपुरको भूमिका निभाएकी थिइन् । यो फिल्म हिट मात्रै भएन प्रियंकाको धेरै तारिफ पनि भयो । फिल्मबाट उनले नेगेटिभ रोलको अवार्ड पनि जितेकी थिइन् । यसपछि उनलाई बलिउडमा कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन ।
विश्वकै शक्तिशाली महिलामा सूचीकृत
मिस इण्डिया हुँदै मिस वल्र्ड भएकी अभिनेत्री प्रिंयका चोपडा विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी थिइन् । सन् २०१८ मा ‘युएस टुडे’ले सार्वजनिक गरेको प्रतिवेदनमा उनी विश्वकी शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी थिइन् ।
विभिन्न टेलिभिजन स्टार, गायिका, नायिका तथा ओस्कार अवार्ड विजेताहरु सो सूचीमा पर्दै आएका छन् । बलिउडसँगै हलिउड फिल्ममा पनि अभिनय गरेकी अभिनेत्री प्रियंका आफूलाई स्टारभन्दा पनि सफल व्यक्तिको रुपमा चिनाउने रुचि राख्छिन् ।
प्रियकाको खानपान
खानामा शौखिन रहेकी उनी स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक दिन पौष्टिकयुक्त खानेकुराको सेवन गर्छिन् । उनी बिहानको खाजामा ओमलेट, टोस्ट र एभोकाडो खान्छिन । आहारमा दाल, भात, तरकारी, सुप, ग्रिल गरिएको कुखुराको मासु, माछा, उमालेको अण्डा आदि खान्छिन् । दही र भात मनपराउने उनी राइता, अचार, सलाद र मखना खान्छिन् । नायिकालाई चाट पनि निकै मन पर्छ ।
शरीरलाई हाइड्रेटेड राख्नका लागि उनी दैनिक ८ देखि १० गिलास पानी पिउने गर्छिन् ।
प्रियंका चोपडाको फिटनेसको रहस्य
चार दशककी प्रियंका अहिले पनि उस्तै जवान र फिट देखिन्छन् । यसको लागि उनी हरेक दिन कार्डियो व्यायाम, योगा, पौडीलगायत विभिन्न खालको कसरत गर्ने गर्छिन् ।
जिमको प्रेमी नभए पनि उनी शरीरलाई टोन राख्नको लागि नियमित कार्डियो एक्सरसाइज गर्छिन् । यसले तौल घटाउनुका साथै उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, हार्ट अट्याक र क्यान्सरजस्ता रोगबाट आफूलाई टाढा राख्न सकिन्छ ।
शरीरलाई लचिलो बनाउन र मानसिक स्वास्थ्यको लागि उनी हरेक दिन योग गर्छिन् । खाली समयमा उनलाई पौडी खेल्न मनपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया