काठमाडौँ – ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ यति वेला चर्चाको शिखरमा छ ।
काठमाडौँदेखि हराएर वर्षौँदेखि परिवारबाट टाढिएर बस्न बाध्य प्रकाश अर्थात काले तामाङको परिवारसँगको पुनर्मिलन देखाइएको उक्त भिडिओ नेपालमा ट्रेन्डिङ १ मा रहेको छ । यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तामाङप्रति चिन्ता प्रकट गरिरहेका छन् ।
धेरैले शेयर गरिरहेको यो भिडियो हेरेपछि स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यस्त गरेका छ्न । एकदिन अघि सामाजिक सञ्जालमा पोस्ट गर्दै भिडियो हेरेर भावुक बनेको पोस्ट गरेका उनले आज फेरि पोस्ट गर्दै प्रकाशको जीवन सहजताका लागि तदारुकता देखाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको बताएका छन् । गृह सचिव अर्यालले दुई–चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।
यसबारे प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’
३५ वर्ष घरबार–ठेगानाविहीन भएका प्रकाश ‘हेर्ने कथा’ टिमको सक्रियतामा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए । गएको दसैँमा घर फर्किएका उनले नागरिकता बनाउने प्रयास गरेका थिए ।
तर, बसाइसराइको कागजातको अभावका कारण उनले नागरिकता बनाउन पाएका थिएनन् भने जीवन धान्नै समस्या परेको भन्दै उनी छेकम्पार फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया