मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरिने

काठमाडौँ– बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरिने घोषणा भएको छ ।
वरिष्ठ साहित्यकार प्रा.रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार २०८१ सालको पुरस्कार सर्जक श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको कोषले जनाएको छ ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औंसीको दिन प्रदान गरिँदै आएको छ ।

नियमित प्रदान गरिँदै आएको यस पुरस्कार सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो ।

को हुन् पुरस्कृत हुन लागेका केदार श्रेष्ठ
यस वर्ष पुरस्कृत हुन लागेका केदार श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय छन् । पिता विष्णुकुमार श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठबाट वि.सं.२०४५ मा हालको ज्वालामुखी गाउँपालिकाको सुनखानीमा जन्मेका हुन् ।
उनी समकालिन कला–साहित्य क्षेत्रमा युवा रङ्गकर्मीको रुपमा परिचित छन् ।

उनका ‘गुलियो स्याउ,’ ‘आइसक्रिम सपना’ जस्ता बालसाहित्य कृतिहरु नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् । उनका लियो टल्सटायका अनुदित बालनाटकहरु पनि प्रकाशित छ भने केही नाटकहरु र कवितासङ्ग्रह प्रकाशोन्मुख छन् ।

रङ्गमञ्चमा नाटककार, कलाकार, परिकल्पनाकार तथा निर्देशकका रुपमा सक्रिय श्रेष्ठ थिएटर मल नाटकघर (स्था.वि.सं.२०७१) र थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल (स्था.वि.सं २०७०)का संस्थापक तथा कला निर्देशक समेत हुन् ।

‘उपियाँको निबन्ध,’ ‘करेसा कन्सर्ट,’ ‘मान भर्सेस मती,’ ‘बदरङ्ग,’ ‘भोको घर,’ ‘जामुनको रुख’ जस्ता उनका लोकप्रिय नाटकहरु छन् । उनले साहित्यकार पारिजातको ‘शिरिषको फूल’मा आधारित नाटकको परिकल्पना समेत गरेका थिए ।

उनी बालवाङ्मय तथा अनुसन्धान केन्द्रका सचिव, बालरङ्मञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको नेपाल केन्द्र आसितेज नेपालका महासचिव, नेपाल बालसाहित्य समाजका आजीवन सदस्यको रुपमा नेपाली भाषा, कला, साहित्यमा सक्रिय छन् ।

अन्तराष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता, निर्देशक समेत रहेका उनी पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत तथा चर्चा कमाएको कथानक चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘गाउँ आएको बाटो’को कास्टिङ निर्देशक समेत हुन् ।

उनले विश्वविद्यालय अध्ययनकालिन समयदेखि नै ‘साहित्य सुस्केरा श्रृंखला’मार्फत आफ्नो पुस्ताका लागि साहित्यमा स्थान खोजी गर्दै आएका छन् ।

बालबालिकालाई कला, साहित्य, रङ्गमञ्चमा आकर्षित र संलग्न गर्दै, कथा, कवितालगायतका साहित्य विधालाई दृश्य साहित्यको रुपमा रङ्गमञ्चमा प्रस्तुत गर्दै मोतीरामीय अभियानमा समेत उनको विशेष योगदान रहेको छ ।

पत्रकारिता र राजनीति शास्त्रमा औपचारिक शिक्षामा स्नातकोत्तर गरेका उनले नेपाली भाषा–साहित्यका स्नातक गरेका छन् । बालसाहित्य तथा रङ्गमञ्चका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला तथा सेमिनारबाट पनि उनी दीक्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?