काठमाडाैँ- सम्भव समूहको आयोजनामा भएकाे ‘पोएट्री कन्सर्ट-२०२४’ मा कविहरुले कविता मार्फत देशकाे समकालीन अवस्थादेखि आदिवासी स्वर, लय, पहिचान र युवा जाेशहरुलाई अभिव्यक्त गरेका छन् ।
राष्ट्रिय नाचघरमा शनिबार आयोजित कार्यक्रममा दश जना कविहरुले कविता प्रस्तुति गरेका थिए । कार्यक्रममा अनिता न्यौपानेले ‘आफ्नै पाइतला टेकेर’ र ‘यो देश देखेर मलाई असाध्यै डर लागिरहेछ,’ शकुन आँसुले ‘नवयुगकी सुम्निमा’ र ‘पाठशाला,’ अस्मिता वादीले ‘के बाँच्नु भनेको सास फेर्नुमात्र हो ?’ र ‘लास बोक्ने खुट्टाहरु’ शीर्षकमा दुईदुईवटा कविता वाचन गरेका थिए ।
त्यस्तै, उत्तम तुम्सा लिम्बूले ‘एउटा प्रश्न सोध्नु थियो,’ ‘ठूलीले जाँड बेच्न छाडिन्’ र ‘मुलुक कैले फर्किन्छस् ठूले ?,’ युग सर्वनामले ‘रगतको पैदलयात्रा’ र ‘म मर्छु होला,’ सन्जित फलानाले ‘चौतारी,’ ‘आम्बो’ र ‘उचाइ’ तथा सुरज रानाले ‘अक्षरहरु,’ ‘सास फेर्ने मूर्ति’ र ‘प्रहरी चौकीमा सोल्टा’ शीर्षकमा कवितावाचन गरेका थिए ।
स्वप्निल स्मृतिले मिथोचको कविता ‘ऐठन,’ रिमा केसीले राज एकान्तको कविता ‘छापामारको सन्देश’ र सीता तुम्खेवाले बलिन्द्र योङहाङको कविता ‘मोनालिसा’ वाचन गरेकी थिइन् । फोक्टो ब्यान्डका संस्थापक अनुप तिमिल्सिनाले गीटार, अच्युत थापामगरले बाँसुरी र अनिल गन्धर्भले सारङ्गीमार्फत सङ्गीत दिएका थिए ।
कार्यक्रममा सहभागी कवि श्रवण मुकारुङले सङ्गीतसहितको कवितात्मक प्रस्तुतिले पारम्परिक कवितावाचनलाई चुनौती दिएको बताए । उनले भने, ‘नयाँ पुस्ताका कविहरुले के लेखिरहेका छन् र कविताबारे उनीहरुको बुझाइ कस्तो छ भनेर बुझ्ने अवसर पाइयो ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङले अतिथि कविहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
बच्चु हिमांशुले संचालन गरेको कार्यक्रममा डा.विप्लव ढकाल, यासेली योङ्हाङ, बिमला तुम्खेवा, कुमारी लामा, प्रगति राई, हेमन यात्री, सन्जीव राई, उमेश अकिञ्चन, गणेश खनियाँ, प्रकाश रम्घाली, चन्द्रवीर तुम्बापो, लक्ष्मी रुम्बा, करण राई, देवेश राई, मनोज थापामगर, अनिल सुब्बा, जेडी तमु, अप्सरा लावती, नरेश लावती, विशाल सेनेहाङ, प्रज्वल अधिकारी, असिम सागरलगायत सयबढी श्रष्टाहरुको उपस्थिति रहेकाे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया