काठमाडौँ– सन् १९६३ मा सर्बियाको बेलग्रेडमा जन्मेका कलाकार स्टोजन मिलानोभको नाम समकालीन कला सिर्जनामा स्थापित छ । मानव आकृति होस् या प्राकृतिक दृश्य कैद भएका उनका कला सिर्जनाहरु निकै लोकप्रिय छन् ।
मिलानोभको सिर्जना यात्रा बाल्यकालबाटै आरम्भ भयो । बाल्यकालमा स्कूले शिक्षा प्रारम्भमै उनले पेन्सिलले अक्षरभन्दा भन्दा कलालाई नै उतार्ने जमर्को गरे ।
उनको कला यात्राका लागि स्कूलमै देखेको एउटा दृश्यले उनलाई कलाकारको रुपमा उभ्याउन प्रेरित गर्ने काम गर्यो । स्कूलमै एकदिन उनले आफूभन्दा सिनियर एकजना विद्यार्थीले कमिक जस्तै स्केच गरिरहेको देखे ।
उनले कमिक त पढेकै थिए, तर त्यसलाई कलाको रुपमा उतार्न सक्छ भनेर सोचेका थिएनन् । त्यही कमिक स्केचले उनलाई मोहित बनायो । त्यो उनलाई जादुमय लाग्यो । त्यसपछि ‘म पनि किन गर्नै सक्दिन र’ भन्ने उनको दिमागले सोच्यो र त्यस्तै गर्ने निर्णय लिए ।
त्यसपछि उनले रेखाचित्रसँगै विभिन्न स्केचहरु बनाउन शुरु गरे । यसले उनमा चित्र सिर्जना गर्न सक्छु भन्ने आत्मविश्वास बढायो । यही नै उनको कला यात्राका लागि टर्निङ पोइन्ट साबित भयो ।
आफूभित्र कला सिर्जना क्षमता छ भन्ने कुरामा समेत उनी ढुक्क भए । जुन कुरा उनले यसअघि कहिल्यै सोचेका थिएनन् । त्यसपछि उनले स्कूले सहपाठीदेखि शिक्षकहरुको समेत स्केच बनाउन थाले । त्यसरी नै उनको चित्रसिर्जना कार्य अगाडि बढिरह्यो ।
पछि कलेज जीवनमा भने उनी वास्तुकलाका अध्ययनतिर लागेर वास्तुकलाको सीप र कौशलतालाई नै उनले चित्र सिर्जनातिर ल्याए । बेलग्रेडमै वास्तुकलामा उनले डिग्री गरेका हुन् । वास्तुकलाको अध्ययनमै पनि चित्रप्रतिको उनको भोक मेटिएको थिएन ।
आफ्नो अध्ययनमा वास्तुकला रहेपनि कलेजबाट बेलुकी घर फर्कने बित्तिकै उनको मन बहलाउने र मानसिक रुपमा स्वस्थ बनाउने उनको लागि त्यही चित्रकला सिर्जना नै थियो । बेलुकी घर फर्केपछि फेरि उनी चित्रतिरै लाग्थे । दिनभरीको थकान र दिनचर्यालाई बिसाउने उनका लागि चित्र नै थियो ।
प्रत्येक दिनका थकानहरु उनी चित्र सिर्जनाको लयमा मिसाउँथे र आफैं मोहित हुन्थे । ति चित्रहरु सिर्जना भएपछि उनी घरको कोठाहरुमा मात्र नभएर उनी बेलग्रेडका सडकपेटीसम्म पनि पुर्याउँथे ।
त्यतिबेला उनका कलाकृतिहरुलाई धेरैले मन पराए र उनको सिर्जनशील क्षमताको प्रशंसा समेत गरे । त्यही बेला उनले सिर्जना मार्फत पनि आर्थिक रुपमा बलियो हुन सक्छु भन्ने महसूस गरे । चित्रमै आफू व्यावसायिक रुपमा अगाडि बढ्न सक्छु भन्ने सोचेपनि उनी वास्तुकला अध्ययनतिर थिए । उनले अध्ययनकै रुपमा त्यतातिर पनि ध्यान पुर्याउनैपर्ने बाध्यता थियो ।
तथापि यता वास्तुकलाले पनि उनलाई चित्र सिर्जनाका लागि रेखाचित्रदेखि आकार निर्माणमा सघाउ पुर्याइरहेकै थियो । जहाँ उनले एकेडेमिक रुपमै परम्परागत शिल्प र कला ज्ञान समेत दिइरहेका थिए । वास्तुकला अध्ययनकै क्रममा उनले कला इतिहासका विभिन्न कालखण्डहरुबारे विस्तृतमा बुझ्ने मौका पाए । यसले उनमा अझै कला सिर्जनाप्रतिको गहन बोध भयो ।
१९८५ देखि नै औपचारिक रुपमा चित्र सिर्जनातिर आए । यसैलाई उनले व्यावसायिक रुपमा समेत अगाडि बढाए र यसैमा उनी आर्थिक रुपमा समेत बलियो बने । उनले सर्बियास्थित ‘एप्लाइड आर्ट्स कलाकारहरु र डिजाइनहरुको संघ’ र सर्बियाकै ‘ललितकला कलाकार संघ’ मा स्वतन्त्र कलाकारका रुपमा रहेर कला क्षेत्रका लागि काम गरेका छन् ।
आफू मात्र नभएर उनले कला मार्फत सर्बियाली कला फाँटलाई समेत चिनारी दिए । क्यानभासमा तेल रङका माध्यममा सिर्जना भएका उनका चित्रहरुमा विशेषत मानवीय र शहरी परिदृश्यहरुको चित्रण भेटिन्छन् ।
अझै त्यसैमा उनले नारी सौन्दर्य र कोमलतालाई कुची र रङकै सहायतामा क्यानभासको दुनियाँमा चित्रण गरेका छन् । ल्याण्डस्केप विधाका उनका शहरी परिदृश्य, पहाड एवम् नदीनालाहरुका सौन्दर्य समेटिएका चित्रहरु समेत उत्तिकै मनमोहक छन् ।
अझ मानव आकृति र फिगरसहितका उनका चित्रहरुमा मानव जीवनको सूक्ष्म अन्वेषण, तिनका भावना र अभिव्यक्तिहरु जीवन्त रुपमा समेटिएका छन् । जुन चित्रहरुमा मानव शरीर र रुपको समेत गहिरो छाप भेटिन्छन् । चाहे महिला होस् या पुरुष आकृति झल्किएका उनको कलामा मानव गहिरो संवेदना, दर्शन, चिन्तन र विचारहरु समेत प्रतिबिम्बित भएका छन् । उनका ल्याण्डस्केप चित्रहरुमा भने प्राकृतिक वातावरणको सौन्दर्य र भव्यतालाई देखिन्छ ।
उनले चित्रकै माध्यममा पहाडको सौन्दर्य, शान्तता, खोलानाला तथा वनजङ्गलको सुस्केरा र प्रकृतिको महिमा वर्णन गरेका छन् । उनका कलाहरुमा प्रत्येक गतिशील रेखाहरुमा अध्यारो र उज्यालो पक्षहरु समिश्रित छन् । मानिसको आकृतिसहितका उनका प्रत्येक चिजहरुमा जो कोहीलाई आफैंलाई पाउन सक्छन् र आनन्द महसूस गर्न सक्छन् ।
व्यक्तिगत जीवन र आफ्नो कार्यलाई सधैं सन्तुलनमा राख्नुपर्छ भन्ने मान्यता राख्ने मिलानोभले कला सिर्जनासँगै जीवनशैलीलाई सधैं कलात्मक र विलाशील बनाउने प्रयत्न गरिरहे । कला उनका लागि काम मात्र नभएर उनको जीवनकै कलात्मक पक्षको प्रतिबिम्ब पनि हो । जसलाई उनले जीवन जिउने तरिकाका रुपमा समेत लिएका छन् । उनी आफ्नो कलासिर्जना गर्छन् र सिर्जनापछि भने अरुका लागि राख्छन् । उनी कलाकै माध्यममा संसारका हर मानिसको हृदयमा पुग्न चाहन्छन् ।
उनले कला जीवनमा कला र अनुशासनलाई सँगसँगै लगे । कलामा स्वतन्त्र दृष्टिकोणलाई मान्ने उनी त्यसमा सभ्य समाज निर्माणका लागि जिम्मेवारी बहनमा उत्तिकै सजक र सचेत थिए । कला सिर्जनामा खोजिने स्वतन्त्रताले समाजका लागि अराजकताको सिर्जना गर्नुहुन्न भन्ने मान्यतामा उनी अडिग थिए । उनी भन्ने गरेका छन्, ‘कलाले मेरो भावनात्मक अवस्थाहरूको ऐनाको रूपमा काम गर्छ । म मेरो भावनात्मक अवस्थाको आधारमा सिर्जना गर्छु ।’
आफ्नो कला सिर्जनामा आफू मात्र नभएर समाज र मानव प्रवृत्ति रूपान्तरण र विकासका आधारहरु छन् भन्ने उनी मान्छन् । यही नै उनको बलियो पक्ष हो । उनको भनाइमा कलाले प्रकृति, मानव जस्ता पक्षका कलात्मक संसार मात्र नभएर ज्ञान समेत समेट्न सक्छ । सिर्जना कलाको क्षेत्र मात्र नभएर समग्र अन्य पक्षलाई समेत उपयोगी हुने उनी धारणा राख्छन् । उनकै बुझाइमा कलाकै माध्यममा अन्य क्षेत्रलाई सूक्ष्म रुपमा बुझाउन र बुझ्न सकिन्छ ।
उनले आफूले सिर्जना गरेका केही कामहरु बिक्री नगरिकन सुरक्षित तवरले राखेका छन् । केही केही सिर्जनाहरुमा भने ९० को दशकमा सर्बियामा भएको प्राकृतिक विपत्तिमा परे । जसमा उनका उनका कतिपय सिर्जनाहरु नाश भए । त्यसताका आफ्नो भावुक मनलाई पोख्न उनले त्यस्तै चित्रहरु सिर्जना गरे । उदास र पीडाका भावहरु पोख्ने क्रममै फेरि उनी प्रकृति र मानव सौन्दर्यतिरै फर्के । प्रकृति र मानवमा भइपरी आउने सबैजसो कुरामा सुन्दरता खोज्नुपर्छ भन्ने कुराबाट उनी प्रेरित भए ।
विश्वमा भइरहने उथलपुथल, अशान्त वातावरण, मानव र प्रकृतिमा भइरहने कलह, चिन्ता र संकटमा पनि कलाका सर्जकहरुले सुन्दर सिर्जना गरिरहने साहस लिइरहनुपर्छ भन्ने भावले उनले क्यानभासमा कुची चलाइरहे । किनकी संसार त परिवर्तनशील छ, यसलाई कसैले रोकेर वा छेकेर यथास्थितिमा राख्न सकिँदैन । त्यसकारण चित्र, साहित्य, सङ्गीत, नृत्यका माध्यमहरुमा सर्जकहरुले जस्तैसुकै कठिन र कठोरतालाई पनि सुन्दर र सहज तुल्याउने कोसिस गर्नुपर्छ भन्ने बुझाइमा उनी छन् ।
राष्ट्रिय मात्र नभएर अन्र्तराष्ट्रिय कला प्रदर्शनी, कला कार्यशाला, बहस र गोष्टीमा सहभागी भएका उनले झण्डै डेढ दर्जन पटक एकल कला प्रदर्शनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया