काठमाडौँ– ९२ औं तामाङ पहिचान दिवसका अवसरमा गरिएको ‘नवौं तामाङ ज्ञान महोत्सव’मा तामाङ पहिचान, इतिहाससँगै भाषा, कला र सभ्यताको चर्चा गरियो ।
बिहीवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजना तथा प्रतिष्ठानको सहकार्यमा गरिएको महोत्सवमा तामाङ एवं गैर तामाङ सुमदायका व्यक्तित्वहरुले तामाङले भोगेको अँध्यारो इतिहास र पहिचानकै लागि भएको लामो संघर्षहरुबारे चर्चा गरिएको थियो ।
प्रतिष्ठानका कुलपति एवं कवि भुपाल राई, ताम्सालिङ संयुक्त संघर्ष समितिका प्रवक्ता जय गाेले, तामाङ अन्तर्राष्ट्रिय परिषदका महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ लगायतकाको उपस्थिति रहेको महोत्सवमा डम्फू बजाएर सभा थालनी गरिएको थियो ।
उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.तारामणि राईको ‘तामाङ भाषाका भौगोलिक भाषिक भेदहरु,’ भाषा आयोगका कायममुकाय सचिव डा.लोकबहादुर लोप्चनको ‘बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजको कार्यान्वयन के हुँदैछ ?,’ तामाङ अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सन्जिला मोक्तानको ‘डाब्जोङमा भाषा पाठशालाको स्थापना र तामाङको पहुँच,’ अधिवक्ता रवीन्द्र थिङको ‘राजनीति, न्याय प्रणाली र तामाङ समुदाय,’ तामाङ डाजाङका अध्यक्ष फूलकुमार बोम्जनको ‘तामाङ डाजाङको संक्षिप्त इतिहास’ लगायत तामाङ समुदायकै विषय केन्द्रित रहेर १० वटा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
महोत्सवमा ‘किन तामाङ आन्दोलन उठ्न सकेन’ शीर्षकमा बहस समेत गरिएको थियो । बहसमा ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक डा. गणेश योञ्जन, नेपाल महिला घेदुङका पूर्व अध्यक्ष सुनी लामा र लेखक तथा विश्लेषक निष्णु थिङ सहभागी भएको बहसमा सहजकर्ताका रुपमा कवि एवं पत्रकार राजु स्याङ्तान थिए ।
महोत्सवलाई सम्बोधन गर्दै कुलपति राईले आदिवासी समुदायले ज्ञान परम्पराको स्वामित्वकरण र अवलोकन गर्दै त्यसलाई राजनीतिकरण गर्नुपर्ने धारणा राखे । ‘राजनीतिकरण गर्नु भनेको खाली चुनाव लड्नु, जित्नु र सत्तामा पुग्नु होइन,’ उनले भने, ‘पहिचानको विषयमा बोल्नु पनि राजनीति हो । आदिवासी विचारलाई राजनीतिकरणमा हामी चुकेका छौं ।’
तामाङ समुदाय मात्र नभएर सम्पूर्ण आदिवासीको भोगाइ र छाउ एउटै भएकोले यसलाई राज्य सत्तासम्म स्थासिपत गराउन राजनीतिकरण हुनैपर्ने कुरामा उनले जोड दिए । राज्यको असहिष्णु प्रवृत्तिकै कारण आदिवासीहरुले आफ्नो ज्ञानको परम्परा आफैं बोकेर हिड्नुपर्ने सुनाउँदै उनले यसलाई अब मूलधारमा ल्याउनुपर्ने बताए ।
त्यस्तै, महोत्सवका आयोजक तथा संयोजक थिङले आधुनिक शिक्षाको बाढी आएको समयमा आजको पुस्तालाई औषधी र भोलिकालाई ज्ञानको भण्डार होु् भन्ने हेतुले महोत्सव गर्दै आएको सुनाए । आदिवासी ज्ञान लोप हुँदै गएको अवस्थामा यसलाई पुर्नर्जीवित गर्न जरुरी रहेको उनले सुनाए ।
तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रुपमा मनाउँदै आएका छन् । तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए ।
सोही मागलाई मध्यनजर गरी सम्बोधन गर्दै भीम शमशेरले वि.सं.१९८९ भदौ ६ गते नेपालमा भोटे, लामा, मुर्मि आदि नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेका थिए । सोही दिनलाई ऐतिहासिक रुपमा तामाङ पहिचान दिवसका रुपमा मानिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया