काठमाडौँ– अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा भ्वाइसेज अफ विमेन मिडियाले ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ कृति विमोचन गरेको छ ।
यस कृति ‘सि इज द स्टोरी’ कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालाबाट १३ जना महिला फोटोग्राफरहरूले खिचेका उत्कृष्ट फोटो कथाहरूको संग्रह हो ।
कार्यशालामा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा के सी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला तामाङ, अदिती श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी, कृति घिमिरे लगायत १३ जना महिला फोटोग्राफरको सहभागिता थियो । यस कार्यशालाले महिलाहरूलाई फोटोको माध्यमबाट आफ्नो कथा विश्वलाई बताउने नयाँ अवसर प्रदान गरेको छ ।
उक्त सार्वजनिक कार्यक्रममा ‘फोटोग्राफीमा महिलाः समकालीन चुनौतीहरू र अवसरहरू’ शीर्षकमा प्यानल छलफल समेत गरिएको थियो । प्यानलमा नेपालका प्रतिष्ठित फोटोग्राफर तथा फोटो सर्कलकी निर्देशक नयनतारा गुरुङ कक्षपति, फोटोग्राफर उमा बिस्ट, र फोटो पत्रकार मोनिका मल्लले सहभागिता जनाएका थिए ।
छलफलले फोटोग्राफीमा महिलाहरूले सामना गर्ने चुनौतीहरू र तिनले प्राप्त गरेका अवसरहरूको विषयमा गहन चर्चा गरिएको थियो ।
पुस्तकमा समावेश गरिएका फोटो कथाहरू ती १३ जना महिला फोटोग्राफरहरूको संघर्ष र साहसको जीवित दस्तावेज हो । यी तस्वीरहरूमा उनीहरूले सामना गरेका सामाजिक, सांस्कृतिक, र व्यक्तिगत संघर्षहरूलाई जीवन्त रूपमा चित्रण गरिएको छ ।
पुस्तकले महिलाहरूको अघोषित संघर्ष र तिनले सामना गर्ने चुनौतीहरूको कथा बाहिर ल्याएर फोटोग्राफीमा महिलाको उपस्थिति र योगदानलाई बलियो रूपमा प्रस्तुत गरेको छ ।
भ्वाइसेज अफ विमेन मिडियाले महिला तथा किशोरीहरूको क्षमता विकास, नेतृत्व कौशल, र टेक्नोलोजीमा पहुँच वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूले महिलाहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
कृति प्रकाशन जस्ता कार्यले समाजमा महिला फोटोग्राफरहरूको भूमिकालाई थप सशक्त बनाउन र उनीहरूको आवाजलाई समाजमा मुखरित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया