यतिबेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक, संस्थापक एवम् काठमाडौँ ट्रिएनालेका संस्थापक अध्यक्ष सङ्गीता थापा ‘काठमाडौँ ट्रिएनाले–२०२६’ कै कार्ययोजना दौरानमा छिन् ।
साढे तीन दशकभन्दा लामो समयदेखि सिद्धार्थ ग्यालरी र फाउण्डेसन मार्फत थापाले नेपाली कला सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म फैलाएकी छिन् ।
थापा र शशिकला तिवारीको पहलमा कान्तिपथस्थित प्रताप भवनबाट सन् १९८७ मा शुरु भएको सिद्धार्थ ग्यालरी सन् १९९७ मा बबरमहलमा सारिएको थियो । त्यसपछि निरन्तर छ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरु ग्यालरीमा भइसकेका छन् ।
उनकै पहलमा ‘काठमाडौँ इन्टरनेशनल आर्ट फेस्टिभल’ हुँदै ‘काठमाडौँ ट्रिएनाले’ जस्ता अन्तर्राष्ट्रिय स्तरको कला प्रदर्शनीहरु भएका छन् । उनै थापासँग कलाको विस्तार र विकासका लागि भइरहेका पहल, यसमा रहेका कठिनाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाका अवस्था के छ र यस क्षेत्रमा राज्यको सहायता कस्तो छ’ भन्ने सन्दर्भमा जोयनेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
नेपालको परिवेशमा कला ग्यालरी चलाउन कत्तिको गाह्रो छ ?
ग्यालरी चलाउन त्यति सजिलो छैन । ग्यालरी मार्फत हामीले नेपाली कला क्षेत्रलाई विस्तार गर्ने कोसिस गरेका छौं । यहाँ सबै कलाकारका कलालाई हामीले समेटिरहेका छौं । तर हरेक प्रदर्शनीहरुमा सबै आर्टहरु सबै बिक्री भएर ग्यालरीको भाडा उठ्छ भन्ने छैन । कुनै शो मा दुई तीन वटा बिक्री हुन्छन् भने कुनैमा हुँदैनन् । तर पनि हामीले निरन्तर रुपमा ग्यालरीलाई चलाइरहेका छौं । पहिला हामीले प्रत्येक दुई हप्तामा नयाँ प्रदर्शनी गथ्र्यौं भने अहिले हरेक महिना गर्ने गरेका छौं ।
ग्यालरी शुरु गर्दाको तपाईंको खास सपना के थियो ?
शुरुवाती समयमा मात्र नभएर शशिकला तिवारी जी पनि हुनुहुन्थ्यो । नेपाली आर्टलाई राष्ट्रिय मात्र नभएर कसरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने भन्ने थियो । नेपालमा टुरिजम भनेको सगरमाथा, हिमाल, जङ्गल सफारी जाने भन्ने मात्र बुझेका छन् । टुरिजम भनेको कल्चर पनि हो । कलालाई पनि टुरिजमका रुपमा अगाडि लैजान सकिन्छ । कलालाई पनि सरकारले राष्ट्रिय एजेण्डा बनाएर यसको महिमा ग्लोबल बजारमा लैजान सक्छ ।
तपार्ईंहरुले कला ग्यालरी सञ्चालन गर्दै गर्दाको शुरुवाती अवस्था कस्तो थियो ?
त्यतिबेला एकदमै रमाइलो अवस्था थियो । कान्तिपथमा शुरुवात गरिएको ग्यालरीमा पहिला बाहिरको हो–हल्ला केही थिएन । ठमेलबाट टुरिस्टहरु ग्यालरीमा आउँथे । पछि असाध्यै भिडभाड, धुलो बढ्यो । झ्याल खोल्न पनि नसक्ने अवस्था बनेपछि १९९७ तिर मा हामी यता सरेका थियौं । त्यो बेला कलाको माहोललाई बुझ्ने भर्खरको माहोल निकै रमाइलो थियो ।
तपाईं आफैं पनि कलाको अध्यता । सिर्जनाभन्दा पनि आर्ट ग्यालरी स्थापनातिर किन आउनुभयो ?
कला पढेको, जानेको भएर नै मलाई यसको माया लागेर होला । त्यसैले यो फिल्ड छोड्न सकिएको छैन । आर्ट ग्यालरी पनि आउनु एकदमै जरुरी थियो र छ । जति ग्यालरीहरु हन्छन्, त्यति कलाहरुले स्पेश पाउन सक्छ । हाम्रो दायरा फराकिलो हुन सक्छ ।
ग्यालरी शुरुवात भएपछि अन्तर्राष्ट्रिय कला प्रदर्शनी पहलहरु कसरी शुरुवात भए ?
शुरुवातमै हामीले भारत र पाकिस्तानका कलाकारहरुको कला प्रदर्शनी गरेका थियौं । त्यतिबेला नेपालमा विदेशी कलाकारको प्रदर्शनी किन गरिएको भनेर यहाँ प्रश्न उठेको पनि थियो । तर बाहिरका कला र कलाकार जब यहाँ आउँछ सबै कुरा सेयरिङ हुन्छ र अर्कै माहोल सिर्जना हुन्छ । काठमाडौं ट्रिएनालेको मुख्य कारण र उद्देश्य पनि यही थियो ।
सन् २००९ मा हामीले ‘काठमाडौं इन्टरनेशनल आर्ट फेस्टिभल’ गर्यौं । त्यसपछि हामीले यसलाई तीन वर्षमा गर्ने योजना बनायौं र २०१२ मा पनि भयो । २०११ मा सिद्धार्थ आर्ट फाउण्डेसन दर्ता भयो । २०१५ मा हुनुपथ्र्यो भूकम्प आयो । त्यतिबेला कला लेखन, क्युरेसन, आर्ट इन टाइम अफ डिजास्टरलाई कसरी गर्ने भन्ने कुरामा एकदमै भूकम्प जाने न्युजिल्याण्डबाट एकजना क्युरेटर बोलायौं । यसलाई फेस्टिभल फर्म्याटमा जानेभन्दा पनि ट्रिएनालेकै स्वरुपमा २०१७ मा गर्यौं । त्यसपछि कोभिडका कारण हुन सकेको थिएन । २०२२ मा भएपछि अहिले २०२६ मा हुने काठमाडौँ ट्रिएनालेकै लागि योजना र कार्यहरु शुरु भएको छ ।
तपाईंकै अनुभवका आधारमा विश्व कलाको परिवेशमा नेपालको कला कहाँ छ ?
अहिले नेपाली कला पनि अन्तर्राष्ट्रिय लेभलमा पुगेका छन् । काठमाडौँ ट्रिएनाले जस्ता प्रदर्शनीले बाहिरका कला नेपालमा आएका छन्, भने हाम्रो कला बाहिर पुगेका छन् । ट्रिएनालेबाट नै कलाकारहरु कतिपय अन्तर्राष्ट्रिय स्तरका बेनाले कला प्रदर्शनीहरुमा गइरहनुभएको छ ।
कलाको अहिलेको माहोललाई तपाईंले कसरी लिनुभएको छ ?
अहिले ग्यालरीहरु खुलिरहेको छ र प्रदर्शनीहरु पनि भइरहेका छन् । मलाई त एकदम खुसी लाग्छ । जति ग्यालरी खुल्यो, त्यति नै कलाहरुले ठाउँ पाउनुहुन्छ । जति ग्यालरीहरुमा प्रदर्शनी भयो, दर्शकहरुमा पनि बुझाइ बढ्छ । कला बुझ्न कला ग्यालरी नै पुग्नुपर्छ । ग्यालरी नपुगेसम्म कला बुझ्न सकिँदैन ।
नेपालमा कलालाई राज्यले हेर्ने प्रवृत्तिलाई कसरी लिनुभएको छ ?
अहिले राज्यको पनि कलालाई हेर्ने प्रवृत्ति राम्रो हुँदै गएको छ । ‘काठमाडौँ ट्रिएनाले–२०२६’ मा सिद्धार्थ आर्ट फाउण्डेसनसँग पहिलोपटक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समेत जोडिएको छ । यो राम्रो शुरुवात हो । यो भन्दा अघिल्लो कार्यकालमै केके कर्मचारी, गाेपाल चित्रकार जीहरुकाे समयमा ट्रिएनालेलाई राम्रो कार्यक्रमका मानेर नेपाल सरकारलाई चिट्टी लेखिदिनुभएको थियो । मलाई के लाग्छ भने कला क्षेत्रका लागि सरकार त्यसै तातिएर आउँदैन । ट्रिएनाले र सिद्धार्थ आर्ट फाउण्डेसनको काम राम्रो मानेर नै अहिले प्रतिष्ठान हामीसँग जोडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया