दैनिक सरदर कति मात्रामा हिँडडुल गर्न आवश्यक छ भन्ने कुरामा हामी स्पष्ट छैनौ । मानव जीवनमा हिडाईको प्रभाव र असर कतिसम्म पर्छ भन्ने कुराको ज्ञान हामीलाई थाहै छैन भन्दा पनि हुन्छ ।
मानव स्वास्थ्यका अन्य कुराहरूमा, अन्य रोगहरूको विषयमा हामीले चासो राखे तापनि दैनिक कति मात्रामा अनिवार्य रूपमा हिँड्नुपर्छ र धेरै यात्रा गर्दा के हुन्छ र पुरै निष्क्रिय भएर बस्दा कस्तो असर पर्छ भन्ने कुराको हेक्का हामी कसैले राख्दैनौ ।
तर निष्क्रिय भएर पैदल यात्रा नगरी बिलासी जीवन बिताइरहँदा हामीले आफैले रोग उत्पादन गरिरहेका हुन्छौ । यस कारण हामीले दैनिक कति किलोमिटर हिँड्नुपर्छ ?
कति पनि हिँडडुल नगरी बस्दा हामीलाई कस्तो असर पर्छ ? कस्ता रोगहरूले हामीलाई पछ्याउँछन् भन्ने कुरा बुझ्न आवश्यक छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिडाईं पर्याप्त मात्रामा पुगेको छैन । किशोरावस्थाका बालबालिकाहरू ८० प्रतिशत भन्दा बढी पर्याप्त मात्रामा नहिँडेको तथ्याङ्क रहेको छ । अपर्याप्त मात्राको हिडाईका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ ।
नियमित हिडाईं शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उच्च रक्तचाप ,मधुमेह, कोलेस्ट्रोल,मस्तिष्कघात, हृदयघात जस्ता रोगहरूको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ।विभिन्न प्रकारका क्यान्सरहरूका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्त्वपूर्ण मानिन्छ ।
स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको मानसिक स्वास्थ्य राम्रो भएको पाइएको चिकित्सकहरूको भनाई छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको हाड जोर्नी समेत बलियो हुने गर्छ ।
कति हिँड्न आवश्यक ?
मानिसहरूमा यसबारेमा थुप्रै भ्रमहरू रहेको पाइन्छ । अधिकांश मानिसहरूमा दैनिक कति हिँड्नुपर्छ भन्ने कुराको ज्ञान छैन । कोही व्यक्ति लामो समयदेखि शारीरिक रूपमा निष्क्रिय रहेको छ भने चाँडै मृत्यु हुने जोखिम बढी हुन्छ ।
यदि उमेर ढल्केका मानिसहरू निकै कम मात्रामा हिँडडुल गर्छन् भने मृत्युको जोखिम बढ्ने गर्छ । सक्रिय जीवनशैली भएका मानिसहरूले आफूलाई अचानक हुने मृत्युबाट जोगाउन सक्छन् । मानिसहरू दिन प्रतिदिन शारीरिक रूपमा निष्क्रिय भइरहेको अवस्था छ ।
मानव शरीरको निर्माण प्रतिदिन ६० किलोमिटरसम्मको हिडाईलाई थेग्न सक्ने गरी बनाइएको विज्ञहरू बत्ताउँछन् । हिडाईंका कारण मानव शरीरमा आउने पसिनाले मान्छेलाई झनै बढी ऊर्जा दिने विभिन्न अनुसन्धानहरूबाट पत्ता लगाइएको छ । गाउँ तथा सहर बसाइँका क्रममा मानिसहरूको हिफरक पर्ने गर्छ ।
सहरीया जीवनशैलीले मानिसलाई अल्छीपना उपहार दिएको छ । जसका कारण गाउँमा भन्दा सहरका मानिसहरू उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोरेल जस्ता समस्याबाट पिडित भएका छन ।
शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउने व्यक्तिहरूमा कमै रोग पत्ता लागेको छ । तर जो व्यक्ति शारीरिक रूपमा निष्क्रिय छ त्यस्ता व्यक्तिलाई सुगर,प्रेसर लगायतका विभिन्न रोगहरू बढी लागेको पाउन सकिन्छ ।
शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरू मानसिक रूपमा समेत स्वस्थ भएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया