काठमाडौँ– टिकटकले विकृति र उच्छृङ्खलाता बढाएको भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्डको सरकारले प्रतिबन्ध नै लगायो । यद्यपि प्रयोगकर्ताहरुले यसलाई विभिन्न प्रविधिहरु मार्फत प्रयोग गरि नै रहेका छन् । टिकटकलाई मनोरञ्जन मात्र नभएर यसलाई आफ्नो व्यवसाय र करिअरकै आधारस्तम्भ बनाउनेहरु समेत धेरै छन् ।
टिकटकबाट आफ्नो कला प्रतिभा देखाएर धेरैले कलाकारिताको बाटो समाएका छन् । अहिले तिनै टिकटक स्टारहरु म्युजिक भिडियो, फिल्म हुँदै विभिन्न विज्ञापनहरुमा समेत मोडलका रुपमा काम गरिरहेका छन् ।
टिकटक हुँदै कलाकारितामा व्यस्त तिनै कलाकाहरुका बारेमा हामी चर्चा गर्नेछौं ।
गरिमा शर्मा
टिकटकबाटै उदाएकी कलाकार हुन् चितवनकी गरिमा शर्मा । म्युजिक भिडियो हुँदै उनले फिल्मसम्मको यात्रा तय गरिसकेकी छिन् । ‘लण्डन टु पेरिस’ उनको डेब्यु फिल्म हो ।
उनले ‘पिरतीको गीत’ बोलको गीतबाट म्युजिक भिडियो यात्रा थालेकी थिइन् । उनको अभिनय रहेको ‘नबोली नबोली,’ ‘पर्दैन फकाउन,’ ‘एउटा सपना छ,’ ‘बस्यौ अलग्गै’ लगायत थुप्रै म्युजिक भिडियो हिट छन् । ‘दौतरी,’ ‘ह्रस्व दीर्घ,’ ‘वर एण्ड वधु’ लगायत फिल्ममा समेत उनले अभिनय गरेकी छिन् ।
स्मारिका–समारिका ढकाल
स्मारिका र समारिका ढकाल जुम्ल्याहा जोडी हुन् । झापाका यी दुवै जना टिकटकमा निकै हिट जोडी हुन् । नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीको फ्यान फलोअर्सलाई हेर्ने हो भने कुनै स्थापित सेलिब्रेटीको भन्दा कम छैन ।
यी दुईमध्ये स्मारिकाको विवाहपछि सम्बन्ध विच्छेद समेत भइसकेको छ । दुवै जनाले दर्जनौँ म्युजिक भिडियो गरेका छन् । पछिल्लो समय स्मारिका अझै व्यस्त छिन् । स्मारिकाको अभिनय रहेको तीज गीत ‘काली पसम कि’ अहिले निकै चर्चामा छ ।
प्रिज्मा–प्रिन्सी खतिवडा
कला क्षेत्रमा टिकटकबाट उदाएका अर्को हिट जोडीका प्रिज्मा र प्रिन्सी खतिवडा पनि हुन् । जुम्ल्याहा दिदीबहिनी म्युजिक भिडियोमा निकै व्यस्त छन् ।
६६ लाखभन्दा पनि बढी फ्यान फलोअर्स रहेका यो जोडीले कुनै सर्जकको गीतमा टिकटिक बनाए बापत पारिश्रमिक समेत लिने गरेको बताउँदै आएका छन् । ‘तिम्रै नग्मा,’ ‘छल छल,’ ‘जाल बुन्यो’ लगायतका दर्जनौं गीतमा यी दुईलाई देख्न सकिन्छ ।
दीपा–दमन्ता श्रेष्ठ
ताप्लेजुङका दीपा–दमन्ता श्रेष्ठ पनि टिकटकबाट नै उदाएका कलाकारहरु हुन् । टिकटकबाटै उदाएका यो जुम्ल्याहा जोडीलाई थुप्रै म्युजिक भिडियोहरुमा देखिएपनि पछिल्लो समय भने केही ओझेलमै छन् । यद्यपि यो जोडीलाई मन पराउने फ्यानहरु २५ लाख भन्दा बढी छन् ।
बिन्दास–झकास’ गीतबाट उनीहरुले मोडलिङ यात्रा शुरु गरेका थिए । यी दुईले ‘अमिलो निबुवा’ लगायत म्युजिक भिडियोमा काम गरेका छन् । यो जोडी केही समय अघि डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा समेत सहभागी भएका थिए ।
रेश्मा घिमिरे
टिकटकबाट उदाएकी रेश्मा घिमिरे पेसाले नर्स हुन् । उनी २०१४ की ‘मिस पूर्वाञ्चल’ विजेता समेत हुन् । टिकटकमा आउनु अघि नै फिल्ममा काम गरेपनि त्यति चर्चामा नआएको बताउने रेश्मा टिकटकको अभिनय कलाले नै म्युजिक भिडियोहरुमा व्यस्त भइन् ।
‘यो साइनो मायाको,’ र ‘अन्तिम संस्कार’ फिल्ममा उनी छिन् । ‘तिमी बिजी टिकटकमा,’ ‘गलबन्दी पछ्यौरी,’ ‘कल्लाई थाहा छैन,’ ‘डोली सजाइ,’ ‘हेरन कान्छी’ लगायतका गीतमा उनको अभिनय देख्न सकिन्छ ।
पवित्रा साकी
टिकटकमा सुदुरपश्चिमको लय र भाषाले चर्चित टिकटक स्टार हुन्, पवित्रा साकी । उनी ‘मिस पबी’ को नामले चिनिन्छिन् । डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी उनी उतैको भाषामा टिकटक भिडियो बनाएर पोष्ट गर्थिन् ।
उनी अहिले म्युजिक भिडियो, सिरियल र विज्ञापनहरुमा समेत व्यस्त छिन् । ‘सँगसँगै,’ ‘जुम्ला,’ ‘आहा कति राम्री’ लगायतका म्युजिक भिडियोहरुमा उनले अभिनय गरेकी छिन् ।
गीता ढुङ्गाना
सुदूरपश्चिमकी अर्की चर्चित टिकटक स्टार हुन्, गीता ढुङ्गाना । डेउडा गीतमा बनाइएका उनका टिकटकहरु धेरैले रुचाएका छन् । टिकटकबाटै मोडलिङमा प्रवेश गरेकी उनका साढे चार लाखभन्दा बढी फ्यान फलोअर्स छन् ।
उनको अभिनय रहेको तीजका गीतहरु ‘दाउरी माया,’ ‘मै दुखी रैछुकी,’ ‘छड्के हानेर,’ ‘घुमाउँछु चार दिन’ हालै मात्र सार्वजनिक भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया