मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आरतीको कार्यक्रमले बढायो धार्मिक आकर्षण

विराटनगर – विराटनगरमा हेर्न लायक के छ रु जोकोहीले यसको जवाफ पाउँदैनन् । किनभने सत्ता र शक्तिको केन्द्रमा रहे पनि विराटनगरले हेर्न लायक कुनै संरचना निर्माण एवं परिकल्पना गरी आममानिसलाई आकर्षण गर्न सकेको थिएन ।

विराटनगरस्थित सिङ्घिया परोपकारधाममा यही साउनको २५ गते शुक्रबारका दिनदेखि सुरु भएको साप्ताहिक आरती कार्यक्रमले धार्मिक आकर्षण बढाएको छ । बच्चादेखि वृद्धसम्म आरती कार्यक्रममा रमाइरहेका देखिन्छन् । आदिवासी, जनजाति समुदायका मानिसको पनि आरतीमा उल्लेख्य एवं उत्साहजनक सहभागिता देखिन्छ ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक गतिविधिलाई चलायमान एवं प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका रहेको आरती कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

“आरतीका लागि छिमेकी मित्रराष्ट्र भारतको बनारस, हरिद्वार जाने गरिन्थ्यो, अहिले आफ्नै घरआँगनमा आरती हुँदा यस क्षेत्रका मानिसमा हर्षोल्लाससहित उत्साह र उमङ्ग देखिएको छ”, मुख्यमन्त्री कार्कीले भने, “यसलाई निरन्तरता दिन सक्नुपर्छ, हाम्रा युवा वर्गलाई समेत आकर्षित गर्न सफल आरती कार्यक्रमलाई धार्मिक पर्यटनसँग जोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

यही साउन २५ गते शुक्रबार नागपञ्चमीको दिनदेखि परोपकारधाममा सुरु भएको आरती कार्यक्रममा पहिलोपटक १५ हजारभन्दा बढी धर्मावलम्बीको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । सो परोपकारधाममा बर्सेनि चार सयभन्दा बढीको अन्तिम संस्कार हुने गरेको छ । विराटनगरसहित आसपासका मानिसहरू पितृस्मरण गर्दै सिङ्घिया नदीतटस्थित सो धाममा जाने गर्दछन् । जनविश्वासअनुसार सिङ्घिया नदी शृङ्गारी ऋषिले स्थापना गरेका हुन् ।

‘ढिलो गरेर आरती सुरु भयो भन्ने लाग्छ’ आरती आयोजक परमार्थ सिङ्घिया आरती सेवा समितिका अध्यक्ष तथा पूर्वमुख्यन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले भने, “आरतीको कार्यक्रमले हाम्रो समाजलाई जोडेको छ, सामाजिक सद्भाव कायम गर्न सफल भएको छ, यसको व्यापक प्रचारप्रसार हुन आवश्यक छ, त्यसका लागि सबैसँग अपिल गर्दछु ।”

आयोजक संस्थाका महासचिव राजन न्यौपानेका अनुसार हरेक शुक्रबार र हिन्दू धर्मको विशेष अवसर पारेर आरतीको कार्यक्रम गरिने छ । आरती कार्यक्रम सञ्चालनका लागि १२ जना कर्तव्यनिष्ट एवं दक्ष स्थानीय ब्राह्मणलाई प्रशिक्षण दिएको बताउँदै आयोजक संस्थाले साप्ताहिक रूपमा हुने आरती कार्यक्रममा पाँच जनाका दरले सहभागी हुनेगरेको स्पष्ट गरेको छ ।

आरतीमा हिन्दू मात्र होइन जैन, मुस्लिम धर्मावलम्बीको पनि सद्भावपूर्ण सहभागिता रहेको देखिन्छ । “आरती कार्यक्रमले खोलानाला स्वच्छ राख्छ, ईश्वरको पुकारा गर्ने भएकाले जोकोहीले पनि यसमा सहभागिता जनाएर धार्मिक अभियान सफल बनाउनुपर्छ ।” नेकपा एकीकृत समाजवादीका युवा नेता ओसिम आलमले भने ।

विभिन्न धर्मावलम्बीको यस्तै सहभागिता बढ्दै गए हप्ताको एक दिनबाट हरेक दिन आरती कार्यक्रम सञ्चालन गर्न सकिने आयोजक परमार्थ सिङ्घिया आरती सेवा समितिका संरक्षक शङ्कर खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?