काठमाडौँ– हिजोआज काठमाडौँको रातोपुलस्थित ओजस थिएटरमा तन्नेरी पुस्ताका रङ्गकर्मीहरुसँग भलाकुसारीमा अभ्यस्त छिन्, लोक गायिका एवम् अभिनेत्री कविता आले ।
आइतवार थिएटरमा पुग्दा तन्नेरी पुस्ताको कुरामा उनी ‘हो नि बाबै’ को कुराकानीमा सहमति जनाइरहेकी थिइन् भने, तन्नेरीहरू ‘हजुर ! हो त नि आमा’ कै लयमा उनको कुरामा पनि सही थपिरहेका थिए ।
पछिल्लो समय फिल्म र टेलिफिल्मको अभिनयमा व्यस्त आलेले एक/दुई महिना भने नाटकका लागि समय निकालेकी छिन् । उनले मगर समुदायको कथामा आधारित नाटक ‘सोरठी’ मा उनले हजुरआमाको भूमिका निर्वाह गर्दैछिन् ।
त्यही नाटककै रिहर्सलका लागि उनी अहिले भैँसीपाटीस्थित घरबाट रातो पुलमा प्रत्येक दिन पुग्छिन् । दिनभरि सोरठीको लय र कथामा तन्नेरी पुस्तासँगै अभिनयमा लयमा लय मिलाएपछि साँझ मात्र घरतिर लाग्छिन् ।
लोक गायिकाको आफ्नो परिचयलाई उनले एक दशकयता उम्दा कलाकारका रूपमा पनि स्थापित गराइसकेकी छिन् । अब भने उनी आफ्नो समुदायको कथामा बन्ने नाटकका लागि फुर्सद निकालेर भए पनि समय दिइरहेकी छिन् ।
नाटकको अभिनय यात्राबारे उनी भन्छिन्, ‘म मगरकी छोरी र बुहारी हुँ । हाम्रो समुदायमा सोरठीको परम्परागत र यसको गहिरो कथा छ । यसलाई जीवित राख्न यो कथालाई म मार्फत पनि भन्नुपर्छ भन्ने लागेर म यो नाटकमा छु ।’
यो मगर समुदायको मात्र नभएर सिङ्गो देशकै कथा भएकोले यसलाई देश विदेशसम्म पुर्याएर नयाँ पुस्तामा हस्तान्तर गर्नुपर्छ भन्ने ध्येयले आफू सहभागी भएको उनले सुनाइन् । उनका अनुसार नयाँ पुस्तासँग बसेर काम गर्नुमा अझै गजबको आनन्द छ । नयाँसँग यो युगका धेरै अनुभवहरु छन् । ती अनुभवहरुलाई उनी लिइरहेकी छिन् भने नयाँहरु उनको पुरानो अनुभव लिइरहेका छन् ।
‘नयाँ पुस्ताहरु निकै खारिएका छन् । हाम्रो पालामा उनीहरुले जस्तो सिक्ने ठाउँ थिएनन् । आमा भनेर माया गर्छन् । उनीहरुसँग रमाउँदै म पो नयाँ सिक्दै छु । म चाहिँ यसैमा रमाउँछु,’ उनले भनिन् ।
उनी सोच्छिन्, बाँचुन्जेल मान्छेले खुसी भएर नै बाँचुपर्छ । ‘आखिर दुःख र पीडा कसलाई हुँदैन र ?’
मनभित्र पीडा र व्यथा भएपनि हाँसेर बाँच्नुपर्छ भन्ने बलियो मुटु बोकेरै उनी कलायात्रामा उभिएकी छिन् । उनकै भनाइ अनुसार गीतसङ्गीत, अभिनय, नाटक यी कलाकारिताका पाटाहरु उनका लागि आफूलाई जीवित राख्ने आधारहरु हुन् ।
यसैले उनलाई जिउने सहारा मात्र नभएर ‘कविता आले’ र कला क्षेत्रमा एउटी सर्जकका रुपमा चिनारी दिलायो । श्रीमानको निधनपछि एकल जीवनमा समाजको अगाडि उभिन सक्ने उनलाई कलाकारिताले नै बनायो ।
भन्छिन्, ‘कलाकारिता मेरो जीन्दगी हो । यसले मलाई दरो भएर जिउन सिकायो । कला मेरो निःस्वार्थी प्रेमी जस्तै हो ।’
गायन र अभिनय विधा गरी कलाकारिता क्षेत्रमा आलेले झण्डै पाँच दशकको यात्रा तय गरिसकेकी छिन् । गायन र अभिनय जुनसुकै विधामा आफूलाई अभिव्यक्त गरेपनि यी दुवै उनको लागि जीवनको अत्यन्तै कठिन परिस्थितिमा दुःख बिसाउने चौतारी बन्यो ।
उनको कलायात्रा अझ उनको दीवंगत श्रीमानका लागि समर्पणकै रुपमा उनी लिन्छिन् । आफू कलायात्रामा आउनुको सम्पूर्ण श्रेय उनी श्रीमानलाई नै दिन्छिन् । कलायात्रासँगै जीवनयात्राबारे खोतल्ने क्रममा उनी जीवनको थोरै फ्ल्यासब्याकतिर पुगिन् ।
२०१२ साल भदौ २७ गते इलाममा जन्मिएकी उनी परिवार मोरङमा पुगेपछि उतै हुर्किइन् । हजुरआमाले गाउने सङ्गीनी र मारुनी गीतको भाका उनले बाल्यकालमै सुनिन् । आमा मनमाया मगरले गाउने पूर्वेली लोकभाकाका लयलाई उनले टपक्कै टिपिन् । सानोमा रेडियोमा बज्ने गीतहरु उनी दुरुस्तै गाउने गर्थिन् ।
बाल्यकालको खेली हिँड्ने १३/१४ वर्षकै उमेरमा उनको विवाह तेह्रथुम आठराईस्थित कापिलाका जङ्गबहादुर (जेबी) आले मगरसँग भयो । विवाहपछि २०२८ सालमा यो जोडी काठमाडौँ पसेका थिए ।
काठमाडौँ आएपछि जेबीले उनलाई कलायात्रामा लाग्न अझै प्रेरित गरे ।
जेबी आले आफैं पनि असाध्यै कलाप्रेमी थिए । गीति लेखनदेखि बाजागाजा बजाउन र गाउन अत्यधिक रुचि राख्थे । तर माइकको साथमा गाउन उनको स्वरले साथ नदिएपछि उनले आफ्नो रहर र सपना कवितामार्फत पूरा गरे ।
नेपाली लोक गीतको इतिहास केलाउने हो भने जेबी र कविताको जोडीले यो क्षेत्रलाई ठूलो योगदान दिएका छन् ।
गायिका आले स्मरण गर्छिन्, ‘बिहेपछि भान्सामा काम गर्दा र नानीहरुलाई खुवाउँदा पनि गीत गाउँदी रहेछु । उहाँले मेरो स्वर सुनेपछि गाउनुपर्छ भनेर भनिरहनुभयो । जेबी जी असाध्यै सङ्गीतलाई मन पराउनु हुन्थ्यो । सारी लगाएर नाटक पनि खेल्नुहुन्थ्यो रे । मलाई विवाहपछि सारी लगाउन उहाँले नै सिकाउनुभएको हो ।’
सङ्गीतप्रेमी श्रीमानकै कारण कलायात्राको शुरुवाती समयमा उनी गायिकाको रुपमा उदाइन् ।
जेबी आलेकै शब्द रचनामा २०३२ सालमै उनले रेडियो नेपालमा ‘सङ्क्रान्ति बजारमा’ गीत रेकर्ड गरिन् । त्यतिबेला श्रीमानकै करकापमा डराइ डराइ रेडियो नेपाल पुगेको त्यो क्षण अझै पनि भर्खरै हो कि जस्तो लाग्छ ।
त्यसपछि २०३४ सालमा उनकै शब्द तथा सङ्गीतमा रेडियो नेपालमै रेकर्ड भएको अर्कोे लोक गीत ‘झ्याम्मै चौतारी’ निकै लोकप्रिय बन्यो । जुन गीतलाई उनले दुई वर्षअघि गायक टेक नाङछिरिङसँग भिडियोसहित पुनः रिमेकसहित रेकर्ड समेत गरेकी छिन् ।
‘माथिमा माथि त्यो काली लेकमा,’ ‘छ भने माया छपक्कै लाइदेउ,’ ‘उठी खर काटुँ बसी खर काटुँ,’ ‘यो मेरो देश’ लगायतका तीन सयभन्दा बढी मौलिक चर्चित गीतमा उनले स्वर दिएकी छिन् ।
काठमाडौँमा उनको गायनयात्रा त छँदै थियो, पेशाका रुपमा भने दुवै दम्पत्ति फोटोग्राफी गर्थे । न्यूरोडस्थित पिपलबोटमा क्यापिटल फोटो स्टुडियोमा गायिका आले फोटो ग्राफर थिइन् । विवाहपछि श्रीमानबाट उनले फोटोग्राफीसम्बन्धी काम सिकिन् ।
काठमाडौँ आएपछि शुरु गरिएको क्यापिटल फोटो स्टुडियो राम्रोसँग चलिरहेको थियो । त्यसपछि उनका श्रीमान् जेबीले पुरानै स्थानमा वि.सं. २०४२ सालमा ‘हिकोला कलर ल्याब’ सञ्चालनमा ल्याए ।
क्यापिटललाई भने खिचापोखरीमा सारियो । एक त नयाँ । अर्कोतिर जेबीको ‘हिकोला कलर ल्याब’ नै प्राथमिकतामा परेपछि २०५२ सालतिरै क्यापिटललाई लगभग बन्द नै गरियो । हिकोलाकै लागि नै जेबी आले अहोरात्र खटे ।
उनले मेचीमहाकालीसम्म यसको शाखा विस्तारदेखि स्थानीयलाई शेयर धनी बनाए ।
त्यतिबेला हिकोला कलर ल्याब सिलगुढी लगायत विभिन्न शहरमा विस्तार भएको गायिका आले सुनाउँछिन् । एकातिर लोकगीतमा उनको बलियो उपस्थिति अर्कोतिर श्रीमानको ‘हिकोला कलर ल्याब’ साम्राज्य निकै सशक्त रुपमा अगाडि बढिरहेको थियो ।
दुई छोरी र दुई छोराहरु लगभग हुर्किसकेका थिए । कान्छो छोरा गायक क्रान्ति आले बाहेक सबै अब आफ्नो जीवन धान्न सक्ने भइसकेका थिए ।
उनको खुसीको लयमा चलेको परिवारमाथि २०५६ सालको दशैंको टिकाकै दिन ठूलो बज्रपात आइपर्यो । काठमाडौँबाट बिर्तामोड जाने क्रममा उनका पति जेबी जीप दुर्घटनामा परे ।
दुर्घटनामा जेबीका दिदीबहिनी र भाइ समेत थिए । बसको ठक्करबाट जिप दुर्घटना भएपछि जेबीको दुवै खुट्टा गुमाए ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानमा उपचारकै क्रममा उनले ज्यान गुमाए । त्यतिबेला जेबीको जीप दुर्घटनामा खाली बस हुनु, बस नियमत चलाउनेभन्दा अर्कै मान्छेले चलाउनु, ठोक्किएर पनि बस फेरि ब्याक आएर धक्का दिनु, अस्पतालमा एक हप्ताको बसाइपछि सामान्य अवस्थामा फर्किएको बिरामीको अचानक भोलिपल्ट बिहानै निधन हुनुले यसलाई परिवारले मात्र दुर्घटनाकै रुपमा लिन सकेनन् ।
यसबारे गायिका आलेले बेलाबेलामा अन्तर्वार्तामा आफ्नो धारणा पनि राखेकी छिन् । उनको जीवन यात्राकै क्रममा यसबारे यही प्रसङ्ग आउँदा उनले आफ्नो भावुकतालाई भरसक छोप्ने जमर्को गरिन् ।
उनले सुनाइन्, ‘आफ्नो मान्छे नै नरहेपछि कसको लागि लड्ने भन्ने मलाई भयो । मेरो कान्छो छोरा (क्रान्ति आले), देवर (कुमार आले) दुवै कलामै छन् । बाँच्नेहरुको सुखलाई नै मैले देखेँ । बाच्ने त अब सुखले बाँचौं भन्ने भयो ।’
त्यसपछि हिकोलाको बागडोर नै आले परिवारबाट छुट्टिँदै गयो । २०६४ सालयता यसबारे उनी अनभिज्ञ छिन् ।
‘हामीसँग यसको कुनै हिसाबकिताब केही छैन । कसैले बुझाएको पनि छैन । यसको चेन चुँडिएपछि बागडोर ट्रयाकबाहिर गयो,’ उनले सुनाइन् ।
बुवाको बागडोरप्रति छोराहरुलाई त्यति थाहा थिएन र उनीहरुले पनि त्यति चासो देखाएनन् । बरु आमालाई छोराहरुले सम्झाए, ‘कविता आले कलाकार हो । हिकोला कलर ल्याब जेबी आलेको थियो र कविता आलेको थिएन । यसको लागि कति जनासँग लड्नु, यसलाई छोडिदिनुस् ।’
उनलाई अहिले चिन्ता लाग्छ, ‘जेबी आलेको ठाउँ हामीले लिन सकेनौं, उनको बागडोर सम्हाल्न सकेनौं ।’
पतिको निधन भएको ४५ दिनपछि आलेले आमा गुमाइन् । त्यसपछि ससुरा । उनले दुःख पोख्ने चौतारी र फलैँचाहरु कतै भेटाइनन् ।
‘श्रीमान् र आमा दुवै नरहेपछि मैले कतै दुःख पोख्ने ठाउँ नै पाइनँ । दुःख पोख्ने दुवैजना गएपछि मेरो मनको घाउ पिलो बनेर बस्यो । म भित्र पाकिरहेको घाउको चोट कसैलाई बाँड्न र सुनाउन नसक्ने भएँ, मेरो त चौतारी नै भासियो,’ उनले विगतलाई सम्झिँदै भनिन्, ‘कलाकारिता त मेरा लागि दुःख बिसाउने चौतारी बन्यो ।’
त्यसपश्चात् पतिले देखाइदिएको कलायात्रा उनको जीवनको एउटै सहारा बाँकी रह्यो । छोराछोरीहरुले पनि उनलाई यही बाटोमा हिँड्न अभिप्रेरित गरे । पतिको वियोगपछि झण्डै दुई वर्ष टुहुरो बनेको उनको कला यात्राले गति लियो ।
२०५८/०५९ सालमा जतिबेला देशमा जनयुद्धको राप बलिरहेको थियो । त्यहीबेला उनी जेबी टुहुरे लगायत सङ्गीत सर्जकहरुको साथमा मेचीकाली सङ्गीत यात्रामा निस्किइन् । आफ्नै दुःख पोख्नलाई हिँडेकी उनले अरुका पनि दुःखहरु देखिन् र आफ्नो पीडामा चित्त बुझाइन् ।
त्यही यात्रामा काँकटभित्तामा एकजना वृद्धले ‘कविता आले मरिन् होली भनेको त जिउँदै रहेछिन्’ भनेर उनको गीतमा नाचे । त्यसपछि दुःखलाई भुल्ने गीतसङ्गीत उनको लागि नसा जस्तै बन्यो ।
अरुलाई गीतबाट खुसी दिन पनि आफूले गाउनुपर्छ भनेर उनले मन दरो बनाइन् ।
वि.सं. २०६० सालमा ‘बन्धकी’ मार्फत उनले ठूलो पर्दाको नेपाली फिल्ममा डेब्यु गरिन् । यसअघि उनले मगर भाषाको फिल्म ‘गिन्सरा,’ ‘आशे’ मा अभिनय गरिसकेकी थिइन् । त्यसपछि उनी बढी फिल्म र टेलिफिल्मतिर सक्रिय भइन् ।
त्यसपछि ‘कबड्डी,’ ‘घामपानी,’ ‘साली कसको भेनाको,’ ‘पुरानो बुलेट,’ ‘गोर्खा वारियर’ देखि ‘घरज्वाई’ सम्ममा दर्शकले उनको अभिनय हेरिसकेका छन् ।
फिल्म ‘कबड्डी’का सिरिजहरुले भने दर्शकमाझ उनलाई गायिकाभन्दा पनि अभिनेत्रीकी रुपमा बढी परिचित गरायो ।
उनले ‘सहयात्री,’ ‘गाउँकी तारा,’ ‘साँघु तरेपछि’ लगायत महजोडीसँग पनि टेलिफिल्ममा काम गरेकी छिन् । अहिले पनि उनी टेलिफिल्म ‘पुकुली’ मा आवद्ध छिन् । गीतसङ्गीतको लत मेटाउन फुर्सदमा उनी हार्मोनियम बजाएर घरमा गुनगुनाउँछिन् ।
बेला–बेलामा आफ्नै लागि रेकर्ड पनि गर्छिन् । मेचीकाली यात्राकै क्रममा बनेका ११ वटा गीतका ट्राकलाई रेकर्डका लागि म्युजिक नेपाललाई जिम्मामा लगाएका उनका सिर्जनाहरु उतै गायब भए । पुन: रेकर्ड गर्छु भनेर म्युजिक नेपालले उनलाई झुलाएको २० वर्ष पूरा भयो । अझै रेकर्ड गराउला कि भन्ने उनको आशा छ ।
उनको व्यस्तताले अहिले छोराछोरीहरु खुसी छन् । उनका दुवै छोराहरु बेलायतमै छन् भने छोरीहरु यतै नेपालमै छन् ।
दुःखलाई लुकाएर खुशी खोज्दै हिँडे बाच्न सजिलो हुने रहेछ भन्ने उनले बुझेकी छिन् ।
भन्छिन्, ‘पीडा बढिरहने रहेछ । खुशी कम हुन्छ । तर त्यसलाई खोजेर बाँच्न सिक्नुपर्ने रहेछ ।’ उनको मुटुमा परेको चोट त छँदै छ, त्यसलाई विरहभन्दा पनि खुसीले उनले जितिरहेकी छिन् ।
‘पीडा अरुलाई भन्दै हिँडेर पनि के गर्नु । निवारण गर्ने मान्छे नै नभएपछि त्यसलाई लुकाएरै बाहिर खुशी भएर बाँच्नुपर्ने रहेछ,’ फेरि उनले उही पुरानै घाउलाई स्मरण गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया