मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रमिक सर्वहारा वर्गका आदर्श म्याक्सिम गोर्की 

काठमाडौँ– विश्व प्रसिद्ध रुसी लेखक म्याक्सिम गोर्कीको जन्म १८६८ मा एक गरीब परिवारमा भएको हो । उनको वास्तविक नाम अलेक्सी म्याक्सिमोविच पेश्कोभ हो । सन् १८९२ ताका जर्जियाको टिबिलिसीमा एउटा अखबारमा काम गर्ने बेला उनले आफ्नो नाम परिवर्तन गरेर ‘म्याक्सिम गोर्की’ राखेका थिए । तत्कालीन समाज र सत्ताको प्रवृत्तिलाई उनले लेखनमा ल्याएकै कारण उनको विचार र आदर्शलाई प्रतिबन्ध गराउने प्रयत्नहरु भए । तीतो यथार्थलाई बाहिर ल्याउनलाई उनले आफ्नो नामै परिवर्तन गरेका थिए ।

१८९० को दशकमै लघु कथा र उपन्यासहरुबाट चर्चा कमाएका गोर्कीले आफ्नो जीवनकालमा कथा, उपन्यास मात्र नभएर नाटक विधामा समेत कलम चलाए । उनले आफ्नो लेखनमा प्राकृतिक तथा मानवीय संवेदना र सहानुभूतिलाई अभिव्यक्त गरेका छन् । उनले लेखनमार्फत नै रुसको वर्गीय विभेद, श्रमिक वर्षको संघर्षलाई चित्रण गर्दै सम्पूर्ण मजदुर वर्गलाई एकत्रित हुनलाई प्रोत्साहन दिए । उनलाई सोभियत इतिहास, सर्वहारा समाजवादी यथार्थवादका पिताका रुपमा समेत लिइन्छ ।  

गोर्कीका बुवा पानीजहाजमा कार्यरत भएकोले उनले आफ्नो बाल्यकालको केही समय रसियाको दक्षिणपूर्वी भूभागमा रहको भोल्गा नदीसँगै शहर अस्त्रखानमा बिताए । पाँच वर्षको उमेरमा उनको बुवाको निधन भएपछि आमाले दोस्रो विवाह गरिन् । त्यसपछि उनी मामाघरमा हजुरआमासँगै हुर्किए । बाल्यकालमा उनले आफ्नो हजुरबुवाभन्दा हजुरआमाको बढी प्रेम पाए । हजुरआमाले सुनाउने परी कथाहरुले नै साहित्य सिर्जनातिर उनको चासो बढ्यो ।

गोर्कीले बाल्यकालमै रुसी श्रमिक वर्गको पृष्ठभूमि र तिनको सङ्घर्षलाई नजिकबाट नियाले । बाल्यकालमै केही महिनाको औपचारिक शिक्षापछि आठ वर्षको उमरमै उनी श्रम गरी कमाउने बाटोमा लागे । उनका हजुरबुवाले उनलाई शिक्षाभन्दा पनि कमाउनै लागि पठाए । उनले जीविकोपार्जनकै लागि जुत्ता बनाउने पसलमा सहायकको रूपमा काम गरे । उनले चित्रमा रङ पोत्ने, भाँडा माझ्नेसम्म गरे । त्यही नै उनले श्रम, श्रमिक र मालिक वर्गबारे आफैंले महसूस गरे ।

काम गरेकै ठाउँमा एकजना कुकले उनलाई कामभन्दा पनि अध्ययनका लागि बाटो देखाइदिए । अध्ययनबाट नै उनले रुसमा विद्यमान श्रमिक मजदुर गर्वको अवस्थालाई बुझे । पशुझैं श्रम गर्दा पनि मालिकहरुद्वारा कुटपिट र सधैं अत्याचारमा परेका भोका, शारीरिक तथा मानसिक रुपमा कमजोर रुसी जीवनको अध्यारो पक्षलाई आफैंले समेत भोगे । यही अनुभवहरुलाई बाहिर ल्याउन उनले गोर्की भनेर आफ्नो छद्म नाम रोजेका थिए । 

बाल्यकालदेखि किशोरावस्थासम्म रुसको काजानमा उनले रातको समयमा सेकुरिटी गार्डसम्मको काम गरे । उनको जीवन कथा अनुसार आफ्नो आर्थिक अवस्था र दुःखकै कारण उनले त्यही समयमा आफैंमाथि गोली हानेर आत्महत्याको प्रयास समेत गरेका थिए । त्यही अवधिमा उनले रुसी पपुलिस्ट क्रान्ति र आन्दोलनबारे बुझे ।

रुसी क्रान्तिकारी तिनका विचारले प्रभावित उनले त्यहाँको किसानलाई आदर्श मान्ने प्रवृत्तिलाई भने अस्वीकार गरे । २१ वर्षको उमेरमा काजान छोडेपछि उनले रुसको दक्षिणी भेगहरुमा उनले केही समय घुमन्ते जीवनशैली बिताए । त्यसपछि उनी साहित्य लेखनतिर मोडिए । उनले सन् १९८२ मा पहिलोपल्ट टिबिलिसी (टिफ्लिस) प्रेसमार्फत आफ्नो पहिलो कथा ‘मकर चुन्द्र’ प्रकाशित गरेका थिए ।

त्यसपछि उनी अन्य कथाहरुसँगै वृत्तचित्रहरुमा समेत लागे । सेन्ट पिटर्सबर्ग जर्नलमा १८९५ मा ‘चेल्कास’ शीर्षकमा लघुकथा प्रकाशित गरेपछि साहित्य लेखनमा सक्रियतासँगै सफलता समेत हासिल गरे । रोमान्टिकवाद र यथार्थवादलाई समेत मिश्रण गरिएको कथामा एक बन्दरगाहमा रहेको चोरको प्रसङ्ग र विषय समावेश छ  ।

उक्त कथाले एक अपराधिको रुपमा लिएर सामाजिक दुर्व्यवहार भोगेको मान्छेलाई उसको पहिचान र अस्तित्वबारे बोलेको छ । १८९९ मा प्रकाशित भएको ‘द्वत्सत सेस्ट आई ओड्ना’ उनको अर्को कथा हो । जुन कथामा बेकरीमा काम गर्ने २६ जना युवायुवतीको श्रमको विषय समावेश छ ।

तत्कालीन रुसको श्रमजीवि वर्गको कथालाई समेटिएका यस प्रकारका उनका लघु कथाहरुले उनी छिट्टै लोकप्रिय बने । उनलाई श्रमजीवि वर्गले रुसी साहित्यका स्तम्भहरु लियो टोलस्टोय र एन्टोन चेखोभकै बराबरमा मान्न थाले । २० औं शताब्दीको उनको साहित्य लखनमा राजनीतिक मोड अझै आयो । लेखनमार्फत नै उनले राजनीतिक चेतनालाई जागरण ल्याउन काम गरे ।

कथा सिर्जनापछि उपन्यास र नाटक विधा लेखनमा लागेका गोर्कीले १८९९ मा ‘फोमा गोर्डेयेभ’ उपन्यास लेखे । उपन्यासमा उनले पुँजीवाद र बौद्धिकतालाई चित्रण गरे । त्यसपछि उनले ‘ट्रोय (१९००),’ ‘अ कन्फेसन (१९०८)’ जस्ता उपन्यासहरु लेखेपनि यसमा खासै लोकप्रियता हासिल गर्न सकेनन् । त्यसपछि १९०६ मा उनको उपन्यास ‘मदर(आमा) प्रकाशित भयो ।

अन्य उपन्यासहरुको तुलनामा कम लोकप्रियता हासिल गरेपनि उनको यस उपन्यासले रुसी क्रान्तिकारी आन्दोलनलाई जीवन्त रुपमा उतार्ने काम ग¥यो । मालिक र मजदुर वर्गको द्वन्द्वसंघर्ष र रुसी क्रान्तिको पृष्ठभूमिमा रहेर लेखिएको यो उपन्यास हालसम्म पनि निकै लोकप्रिय छ । जुन नेपाली भाषामा समेत अनुवादित भएको छ । 

नाटक लेखनमा समेत सफल उनको ‘द लोअर डेप्थ्स (१९०२)’ प्रसिद्ध कृति हो । ‘मेस्छाने (१९०२),’ ‘द पेटी बुर्जुवास,’ ‘स्मग सिटिजन’ जस्ता नाटकहरुमा उनले क्रान्तिले गर्नेे मानवीय दैनिक जीवन र यसका प्रभावहरुलाई लेखे ।

१८९९ देखि १९०६ सम्म सेन्ट पिटर्सबर्गमा बसेर उनले मार्क्सवाद र सोसल डेमोक्रेटिक पार्टीलाई समर्थन गरे । १९०३ मा पार्टी विगठन भएपछि उनी डेमोक्रेटिक पार्टीकै सदस्य बोल्सेभिक तिर लागे । यद्यपि बोल्सेभिकसँग पनि उनको पार्टीकै विषयमा मतभेद थियो । उनी औपचारिक रूपमा लेनिनको पार्टीको सदस्य नबनेपनि उनले आफ्नो आम्दानीमार्फत नै पार्टीको कोषका लागि आर्थिक सहायता गरेका थिए । 

सन् १९०१ मा क्रान्तिकारी कविता ‘पेस्न्या ओ बुरेभेस्टनिक (सङ्ग अफ द स्टोर्मी पेट्रेल) प्रकाशित भएपछि तत्कालीन सरकारले गोर्कीलाई गिरफ्तार गरेको थियो । केही समयपछि छुटेका उनी १९०२ मा रुसी एकेडेमी अफ साइन्सको सदस्य निर्वाचित भए, तर त्यो लामो समय टिकेन । १९०५ को रूसी क्रान्तिमा सहभागी भएकै कारण गिरफ्तार भएका उनी तुरुन्तै रिहा भए ।

गोर्की १९१८ देखि १९३३ बीचमा पाँच पटकसम्म विश्व साहित्यमा अत्यन्त प्रतिष्ठित मानिने नोबेल पुरस्कारका लागि मनोनित भएका थिए ।

हृदयघातका कारण गोर्कीको मृत्यु जून १९३६ उपचारकै क्रममा भएको थियो । उनको मृत्युलाई हत्याको रुपमा शंकास्पद समेत मानिएको थियो । उनको मृत्युको घोषणा लगत्तै उनलाई मजदुर वर्गका मित्र, साम्यवादी विजयका लडाकु र महान्, प्रतिभाशाली रुसी लेखकका रुपमा स्मरण गरिएको थियो ।

मृत्यु भएको केही घन्टापछि नै उनको मस्तिष्कलाई डाक्टरहरूले शल्यक्रिया गरी झिकेर मस्कोको न्यूरोलोजिकल इन्स्टिच्युटमा मायाकोभस्की, लेनिन र अन्य रूसी राजनीतिक र सांस्कृतिक नायकहरू लहरमा राखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?