मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँमा नेपाली फिल्मको रोचक भीडन्त: दर्शकले कमेडी, एक्सन र लभ स्टोरी छानेर हेर्न पाउने

काठमाडौँ– नेपाली फिल्म क्षेत्रमा अरु बेला सुख्खा लागे पनि नयाँ वर्ष र बडा दशैँमा छुट्टै रौनक हुने गर्छ । ठूला फिल्म मेकरले बडा दशैँ या नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न तँछाडमछाड नै गर्छन् ।

त्यसपछि तिहारमा पनि फिल्म रिलिज गर्नेको लर्को हुने गर्छ । खासमा दशैँमा धेरै विदा हुने भएकाले पनि मेकरले त्यसको फाइदा उठाउन खोज्छन् । तर, त्यही विदाको फाइदा लिन खोज्दा दशैँमा भएभरका फिल्मको बाढी आउने गर्छ ।

यसपटकको फूलपातीमा तीन वटा नेपाली फिल्म जुध्ने पक्का भइसकेको छ । अभिनेता विराज भट्टले निर्माण गर्ने फिल्म दशैँमा आउने भनिए पनि यसअघि ठ्याक्कै कुन दिन भनेर मिति तय गरिएको थिएन ।

तर, हिजो (मङ्गलवार) जितु नेपाल र नीति शाह अभिनित फिल्म ‘ज्वाइँ साब’ र समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ ले फूलपातीलाई रिलिज मिति तोकेपछि बडादशैँमा फिल्मको प्रतिस्पर्धा रोचक हुने भएको हो ।

मङ्गलवार फिल्म ‘घर ज्वाइँ’ टिमले फिल्मको रिलिज मिति घोषणा गर्दा कतिपयले चर्चा कमाउने निन्जा टेक्टिक भएको टिप्पणी गरेका थिए । अब सोही भीडमा विराजको ‘१२ गाउँ’ पनि आउने भएपछि फिल्मवृत्त तातेको छ ।

यसअघि दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ५’ को रिलिज मिति तय गरिएको थियो । सो मितिमा अरु नेपाली फिल्म समेत रिलिज हुने भए पनि दशैँको अवसरमा ‘आटल लः दफा २१९’, ‘बेहुली फ्रम मेघौली’ लगायत फिल्म पनि रिलिज हुँदैछन् ।

कसले मार्ला बाजी?

हालसम्म रिलिज गरिएका फिल्ममध्ये धेरैले पोस्टर मात्र सार्वजनिक गरेका छन् । त्यसमध्ये फूलपातीको एक हप्ताअघि रिलिज हुने स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको अवसर पारेर असोज १७ मा रिलिज हुँदैछ । निर्माण टिमले फिल्ममा समावेश दुई गीत सार्वजनिक गरिसकेको छ । यो फिल्मले पनि रिलिज अगाडि राम्रै चर्चा बटुलेको छ ।

यस्तै प्रायः दशैँमा फिल्म रिलिज गरेर चर्चा बटुल्ने दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको पनि उत्तिकै चर्चा कमाएको छ । ‘छक्का पञ्जा’ टिमले निर्माण गरेका सबै फिल्म व्यावसायिक हिट हुने भएकाले पनि यो टिमबाट दर्शकको बढी नै अपेक्षा छ ।

निर्माण टिमले पनि यसका लागि निकै मेहनत गरेको बताउँदै आएको छ । कमेडी फिल्म निर्माणमा यो टिमले सफलता हासिल गरिरहेकाले पनि दर्शकलाई ‘छक्का पञ्जा ५’ बाट राम्रै अपेक्षा छ । यो फिल्म दशैँको अवसर पारेर फूलपातीमा रिलिज हुने बताइएको छ ।

सोही मितिमा रिलिज हुने भनिएको बसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ पनि पोस्टर सार्वजनिक भएसँगै चर्चामा  छ । नीति शाह र जितु नेपालको मुख्य भूमिका हुने यो फिल्म पनि कमेडी शैलीमा नै निर्माण गरिएको छ ।

पहिले दीपकराज गिरीको टिम र जितु नेपालको टिम एउटै भए पनि अहिले प्रतिस्पर्धात्मक हिसाबले एकै मितिमा रिलिज हुँदा फ्यान बाँडिने सम्भावना पनि छ ।

फूलपातीमै आउने भनिएको विराज भट्टको फिल्म ‘१२ गाउँ’ को भने अहिले नै कस्तो व्यापार गर्छ भनेर भन्न सकिने अवस्था छैन । किनकि, यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यु गर्दैछन् ।

एक्सन प्रधान भनिएको यो फिल्मले हालसम्म पोस्टर मात्र सार्वजनिक गरेको छ । फिल्ममा समीरको अभिनय कस्तो छ, यसले दर्शकलाई कत्तिको प्रभाव पार्छ । फिल्मको ट्रेलर कस्तो आउँछ त्यसका अनुसार मात्र दर्शकले धारणा बनाउने सम्भावना छ ।

यी बाहेक ठूला बजेटका विदेशी फिल्म रिलिज हुने चर्चा त छँदैछ । फूलपातीकै दिन अर्थात् असोज २४ गते दक्षिण भारतीय फिल्म ‘कङ्गुवा’ पनि रिलिज हुँदैछ । यद्यपि यो फिल्म नेपालमा रिलिज हुने र नहुने भन्ने आधाकारिक जानकारी अझै दिइएको छैन । सुर्यको अभिनय रहेको यो फिल्मले ट्रेलर रिलिज हुनासाथ निकै चर्चा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?