मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शहरमा गुँला पर्वको रौनक

काठमाडौँ– वर्षातको मौसम, सिमसिमे झरिरहने पानीमा समेत यतिबेला उपत्यकाका शहरमा ‘गुँला पर्व’को रौनक छाएको छ ।

न्याकुँ बाजा, धाः बाजा, बाँसुरी, धिमे बाजा, भुस्या बाजाका धुनले शहर गुञ्जयमान छ ।
नेपाल संवत अनुसार गत सोमवारदेखि ‘गुँला पर्व’ आरम्भ भएको हो । नेवार समुदायमा विशेषत बौधमार्गीहरुले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म यो पर्व मनाउँछन् ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यस पर्वमा परम्परागत बाजागाजाका साथ बौद्ध चैत्य, गुम्बा र विहारहरूको दैनिक रुपमा परिक्रमा गरिन्छ । नेवार समुदायले यसलाई धार्मिक आचरण र नैतिकताको मार्ग देखाउने पर्वका रुपमा लिन्छन् ।

नेपाल भाषामा ‘गुँ’ भनेको ‘नौ’, ‘गुणा’ वा ‘डाँडा’ वा ‘वन’ र ‘ला’को अर्थ महिना भन्ने हुन्छ । कतिपयमा नौ महिनामा मनाउने पर्व भन्ने भ्रम पनि छ । यद्यपि यो पर्व नेपाल संवतको दशौं महिनामा पर्छ । यस महिनाभरी मनाउने यस पर्वले धार्मिक आस्थासँगै राम्रो गुण र आचरणको अनुुसरण गर्ने समेत बुझाउँछ ।

बौद्ध भिक्षुहरुका अनुसार धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने नै ‘गुँला पर्व’ हो । राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यका अनुसार यस पर्वले राम्रो एवं गुनिलो काम र अरुको उपकार गर्ने कामलाई जनाउँछ । यस पर्व शुरु भएपछि एक महिनासम्म आफ्नो आरचणलाई शुद्ध बनाउने प्रचलन छ ।

माछा, मासु, अण्डा, लसुन, प्याज समेत नखाइ बिहानै स्नान गरी बुद्धको प्रतिमा स्थलहरुमा परिक्रममा गर्ने गरिन्छ । यस पर्वका अवसरमा दशशील, अष्टशील र पञ्चशील आचरणको पालना गर्ने प्रचलन रहेको उनको भनाइ छ । पञ्चशील आचरणमा प्राणी हिंसा नगर्नेदेखि मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने, एकोहोरो रुपमा कसैको केही नलिने र झुट नबोल्नेसम्म हुन्छन् ।

अष्टशीलमा भने समयमै भोजन गर्ने, मनोरञ्जन नगर्ने र अग्लो खाटमा नसुत्ने पर्छन् । त्यस्तै, दशशीलमा आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्नेसम्म पर्छन् । बज्राचार्यका अनुसार यी सम्पूर्ण शीलहरु नमाने पनि पञ्चशीललाई भने अनुसरण गर्ने प्रयास गरिन्छ । पर्वका अवसरमा राँगाको सिङबाट निर्माण गरिएको न्याकुँ बाजा महत्वपूर्ण मानिन्छ ।

यसले दीवंगत भएकाहरुले मुक्तिको बाटो पाउने जनविश्वास रहिआएको छ । त्यसकारण वर्षभरीमा घरमा दीवंगत भएकाहरुको स्मरणमा पनि एक महिनासम्म विहार तथा चैत्यको परिक्रममा गरिन्छ ।

भृकुटीमण्डपस्थित बुद्ध विहारका प्रमुख भिक्षु कोण्डन्यका अनुसार ‘गुँला पर्व’ मनको शुद्धीकरण, मानसिक आध्यात्मिक तथा सुख, शान्तिका लागि गरिने धार्मिक आचरण पनि हो । उनी भन्छन्, ‘एक महिनासम्म विभिन्न धार्मिक स्थलहरुमा ध्यान साधना गरेर मनको सुख र शान्ति खोज्ने पर्व नै ‘गुँला पर्व’ हो ।’

बौद्धमार्गीले स्वयम्भू महाचैत्यका साथै बौद्ध, पाटनको पुल्चोक लगायत उपत्यकाका विभिन्न चैत्य, इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको समेत परिक्रमा गर्ने गर्छन् । यस अवसरमा बौद्धमार्गी मात्र नभएर अन्य समुदायकाहरु पनि चैत्यहरूको परिक्रमाका लागि जान्छन् ।

बौद्धमार्गी भिक्षुहरुका अनुसार वर्षा मासमा हरिया घाँसपातमा धेरै किराहरु हुन्छन् । त्यसमा मानव जातिले कुल्चिदा धेरै किराका प्रजातिहरु मर्न सक्छन् । त्यसकारण ‘गुँला पर्व’को अर्थ एकै ठाउँमा बसी बुद्धको गुण सम्झेर पूजापाठ, धर्म गर्नु, प्राणीको हत्या नगर्नु पनि हो ।

एक महिनासम्म गरिने धर्मकर्मले मानिसको मनमा उब्जने लोभ र लालच जस्ता स्वभावलाई घटाउँछ भन्ने धार्मिक आस्था राखिन्छ । विशेषत यस अवसरमा बाजागाजासहित धर्मको स्तुति नै गरिन्छ । यो महिनामा क्षमता अनुसार भित्री मनदेखि भिक्षहरुलाई दान दिने समेत प्रचलन रहिआएको छ ।

नेपाल भाषामा ‘गुँ’को अर्थ डाँडा वा वन भन्ने पनि बुझिन्छ । वर्षायामा डाँडाकाँडामा पहिरो नजाओस् र मानवीय क्षेति नहोस् भनेर पनि यो पर्व मनाउने गरिएको पनि भनिन्छ ।

नेवारी संस्कृति अध्यता चन्द्र शाक्यका अनुसार यो महिना किसानहरुको आरामको समय हो । परम्परागत रुपमा हेर्दा अधिकांश काठमाडौँ उपत्यकाबासीले व्यापारसँगै कृषि पेसालाई पनि अंगालेका थिए । रोपाइँ सकेर फुर्सद भएपछि मानिसहरु महिनाभरी धर्मकर्ममा लाग्थे ।

वर्षायामको प्राकृतिक विपत्ति र रोगव्याधि जोगिन पनि मानिसहरु विहार तथा गुम्बाहरुमा गएर मन बहलाउने, धर्म गर्ने, भिक्षुहरुको सेवा गर्ने, बज्राचार्य र शाक्य भिक्षुहरुलाई दान दिने प्रचलन बसेको उनको भनाइ छ । यही पर्वको अवधिमा नागपञ्चमी, जनै पूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी जस्ता पर्वहरु मनाइन्छ ।

यसै अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका कलाकृतिहरु प्रदर्शनी सँगै बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ । ठमेलस्थित भगवान् बहालमा महायान सम्प्रदायको ठूलो ग्रन्थ मानिने नीलपत्रमा स्वर्ण अक्षरले लेखेको एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थलाई समेत दर्शनार्थीहरुलाई देखाइन्छ ।

बौद्धमागीहरुका अनुसार गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गरेको प्रवचनमा आधारित भएर उक्त ग्रन्थ तयार पारिएको हो ।

‘गुँला पर्व’को अन्तिम अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?