काठमाडौँ – धरान उपमहानगरपालिकामा खानेपानीको महसुल वृद्धिको निर्णय फिर्ता भएको छ ।
महसुल वृद्धि विरुद्ध १० राजनीतिक दलको संयुक्त सङ्घर्ष समिति आन्दोलित बनेपछि मेयर हर्क साम्पाङ राई खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका हुन् ।
यसका लागि आन्दोलनरत पक्ष र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङबीच आइतबार करिव ८ घण्टा लामो वार्ता भएको थियो । दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने सहमति भएको छ ।
खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
वार्ता र सहमतिपछि आन्दोलनरत पक्षलाई सङ्क्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले एसियाली विकास बैंकलाई तिर्नुपर्ने ऋणको दायित्व भएकाले महसुल वृद्धि गर्नुपरेको बताएका थिए ।
शुल्क वृद्धि फिर्ताको सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । दलहरूसँग वार्ता र सहमति भएसँगै खानेपानी तथा सरसफाइ महसुल सेवा निर्धारण आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुनः दुई दिनभित्र महसुल वृद्धिको सम्पूर्ण विवरण पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया