मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

फ्रेड्रिक राडमका कला सिर्जनामा समकालीन मानव र प्रकृतिको अस्तित्वबोध 

काठमाडौँ– नर्वेका फ्रेड्रिक राडम समकालीन कला क्षेत्रका लोकप्रिय कलाकार हुन् । नर्वेमै रहेर उनले विशेषत सामाजिक यथास्थितिलाई मूर्तिकला तथा प्रतिस्थापना कलामा अभिव्यक्ति गर्दै आएका छन् ।

सन् १९७३ मा जन्मिएर नर्वेको एकेडेमी अफ आर्टमा कला अध्ययन गरेका उनले २००१ मा नर्वेकै एकेडेमी अफ फाइन आर्ट्समै स्नातकोत्तर गरे । प्रकृति र संस्कृतिको विरुद्धमा उभिएका आधुनिक मानव समुदायलाई उनले कलामार्फत नै तिखो व्यङ्ग्य गरेका छन् ।

प्रकृतिमै रहेको मानव, जनावर, रुख बिरुवाका आकृतिहरु नै चित्रण हुने उनको कलाले मानव समाजलाई सिङ्गो प्रकृतिप्रति सजक हुन नैतिक पाठ समेत सिकाउँछ ।

कलाकार राडम फिगरेटिभ कलामा अझै स्थापित छन् । जनावर होस् या मानव शरीरलाई केन्द्रमा राखेर सिर्जना गरिएका उनका मूर्तिकला एवं प्रतिस्थापन कलामा हाँस्य रससँगै मानव समाजका लागि आलोचनात्मक बिम्बहरु झल्केको पाइन्छ ।

उनले कला मार्फत आदिम मानव समयदेखि समकालीन मानव अस्तित्व र सभ्यतालाई चित्रण गर्ने प्रयास गरेका छन् ।

उनको कलामा समकालीन संस्कृति र सभ्यता कसरी आधुनिक प्रविधिले परिवर्तन हुँदै गएका छन् भनेर सुन्दर ढंगबाट चित्रण भएका छन् ।

जसले मानवको अस्तित्वको ब्रम्हाण्डसँगै आखिर मानिसले भविष्यका लागि कुन बाटो अवलम्बन गर्ने भन्ने संकेत गर्दछ । जसरी हामीले प्रकृति र जीवमाथि नियन्त्रण राखेका छौं, त्यसरी हाम्रो सम्पूर्ण अस्तित्व कहाँ छ भनेर मानव अस्तित्वमाथि नै उनका कलाहरुले प्रश्न चिह्न खडा गरिदिएका छन् । 

विशेषत राडमले मास मिडिया र पश्चिमी संस्कृतिको छविमा शून्यवादी शैलीमा कला सिर्जना गरेका छन् । उनको कलामा सुख र दुःखको बीचमा उनले मानव अस्तित्ववादी र राजनीतिक विषयवस्तुलाई हास्य रसमा गहनताको खोजी गरेका छन् ।

उनका कलाकृतिहरुले आलोचनात्मक दृष्टिकोणका साथै सूक्ष्म तथा बौद्धिक रुपमा सामाजिक व्यंग्य गरेका छन् । उनका लागि कला सिर्जना आफैं बाँचिरहेको विश्वको खोज गर्नु हो ।

कलामार्फत नै उनी समकालीन समाज, यसको इतिहास र आफ्नै परिस्थितिहरु उत्खनन गर्न चाहन्छन् । उनको चेतनाले जे सोचेका छन् र जे देखेका छन्, त्यही नै उनी कलाको फर्ममा समाजलाई बाँडिरहेका छन् ।

अझ कला उनका लागि सञ्चार हो र उनको जीवन जगतकै एउटा पाटो हो । ‘कभर अप’ जस्ता उनका कला सिर्जना सिरिजमा उनले मानव संसार नै अन्धकार भएको अर्थलाई प्रतिकात्मक रुपमा देखाएका छन् । शिर ढाकिएका प्रत्येक मूर्तिकलाका प्रतिमाहरुले समग्र ब्रम्हाण्डको खोजका लागि अभिप्रेरित गर्दछन् । जसले आधुनिक मानिस र उसले बाँचेको समाजको पहिचान गर्न सकोस् भन्ने उनको कलाको अभिप्राय हो ।

लुकाइएका उनका कलाकृतिहरु मनमोहक र सुन्दर त छँदै छन्, अग्रभाग छोपिएका ती मूर्तिकलाहरुले जो कोहीलाई ध्यान केन्द्रीत गर्दै जिज्ञासु बनाउँछ ।

‘लाइभ्स इन ओस्लो,’ ‘पेपर ब्याग बोयज,’ ‘इभ एण्ड आदम,’ ‘मेल ह्याबिटस्’ जस्ता मूर्तिकला, प्रतिस्थापन तथा मिक्स मिडिया माध्यमका उनका सिर्जनाहरुमा आम मानिस र प्रवृत्तिलाई झल्काएका छन् । उनी सिर्जनामा नै प्रकृति, मानिस र जनावरबीचको सम्बन्धलाई केलाउँछन् ।

‘लाइभ्स इन ओस्लो’ जस्ता मूर्तिकलामा उनले युरोपेली प्रवासीहरूको कथालाई प्रस्तुत गरेका छन् ।

काँचबाट बनेको मूर्तिकलाको स्वरुपमा एक अचेत मानिसलाई चराले घिसार्दै कतै लगिरहेको कारुणिक दृश्य देखिन्छ । सन् १९३० को दशकमा केही युरोपेली समूहले आफ्नो घर र बासस्थान छोडेका थिए ।

ग्यालापागोस् टापुमा बसोबासकै लागि उनीहरुले आफ्नो थातथलो छोडे । टापुमा सबैभन्दा पहिला पुगेका व्यक्तिहरुमा फ्रेडरिक रिटर, एक जर्मन चिकित्सक, र डोरे स्ट्राउच थिए । तिनीहरू ग्यालापागोसकै सबैभन्दा दुर्गम टापु फ्लोरेनामा बसोबास गरे ।

त्यसपछि एक अर्को गर्दै उक्त टापुमा बसाइँका लागि आइपुगे । जुन उनको मूर्तिले आफ्नो थातथलो छोडेका आप्रवासीहरुलाई इंगित गरेको छ । उनले ती आप्रवासीहरुलाई निर्जीव शरीरका रुपमा देखाएका छन् । त्यही शरीरलाई कुनै वस्तु झैं चराले लिएर कतै उड्न खोजिरहेको मूर्तिकलामा देख्न सकिन्छ ।

दुई मानव टाउको माथि उभिएकी सुनौलो रङकी एक महिला आकृतिमा उनले तत्कालीन युरोपेली आप्रवासी समुदायमा महिलाको अवस्था र प्रवृत्तिबारे देखाउने जमर्को गरेका छन् ।

राडमले कार्टुनकला जस्ता पात्रहरु खडा गरेर त्यसमा समकालीन समयको दुखान्त पक्षलाई समेटिएका छन् । गम्भीर विषयवस्तुलाई सामान्यीकरण गर्दै कलामा सरल रूपमा देखाउने उनको खुबीका कारण नै उनी विश्व कला जगतमा लोकप्रिय छन् ।

मूर्ति होस् या प्रतिस्थापन कलाका विविध शैली र आइकोनहरुमा उनको उत्कृष्ट कला छवि बिम्बित भएका छन् । उनका कलाकृतिहरुले मानिसलाई क्षणिक मनोरञ्जनसँगै सामाजिक तथा राजनीतिक चेतसँगै आम मानिसलाई समकालीन समयका बारेमा सोच्नलाई अभिप्रेरित गर्छन् ।

उनका कलाहरु अवलोकन गर्दै गर्दा आम कलाप्रेमीहरुमा कतै रोदन, कतै हाँसो, कतै आश्चर्य महसूससँगै उत्सुकता समेत पैदा हुन्छ । 

उनको एकल कला प्रदर्शनी नर्वेमा दर्जनौँपटक भएका छन् । यसका साथै डेनमार्क, अमेरिका, बेलायत जस्ता देशका स्थापित आर्ट ग्यालरीहरुमा उनका एकल कला प्रदर्शनी भएका छन् । त्यस्तै नर्वेसँगै विभिन्न देशमा उनी सामूहिक कला प्रदर्शनीमा सहभागी भएका छन् ।

उनका कलाकृतिहरु अहिले नर्वेको राष्ट्रिय ग्यालरी, नर्वेजियन आर्ट काउन्सिल, डेनमार्कको राष्ट्रिय ग्यालरी ‘आरोस म्युजियम अफ मोर्डन आर्ट,’ गोथेनवर्गको ‘ म्युजियम अफ आर्ट’ जस्ता आर्ट ग्यालरीमा संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?