काठमाडौँ– आगामी साउन ३२ गतेदेखि पुन: प्रदर्शन हुन लागेको फिल्म ‘बुलाकी’ को टिमले प्रचारमा जुटेको छ । निर्माण टिमले फिल्मको विषयवस्तुबारे जानकारी दिँदै प्रचारलाई तीव्र पारेको हो ।
फिल्म टिमले काठमाडौँका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य र गायनमार्फत फिल्मको प्रचारमा जुटेको छ । फिल्मका निर्माता तथा कलाकार विराज विष्टले प्रचारमा नयाँपन दिइएको जानकारी दिए ।
बिहीवार ललितपुरको लगनखेल क्षेत्रमा पुगेर निर्माण टिमले प्रस्तुति दिएका थिए । थिएटर कलाकार तथा मोडलहरूसँगै गायक गायिकासहित फिल्मको प्रचार अभियानलाई अघि बढाइएको छ ।
नारीप्रधान भनिएको फिल्मको कथावस्तुको परिधिमा रहेर जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए । शुक्रबारबाट अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् ।
रिलिज मिति नजिकिँदै गर्दा खराब मौसमको बाबजुत फिल्म प्रचार अभियानलाई निरन्तर अघि बढाइरहेको निर्माण टिम बताउँछ । यो क्रम फिल्म रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौंका मात्रै (डेढ दर्जन) १८ ठाउँमा प्रस्तुति दिइने विष्ट बताउँछन् ।
‘मुख्यतः मानिसहरूको बाक्लो भिडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, बसन्तपुर, पाटन लगायतका ठाउँमा कलाकारसहित सिधा दर्शकसँग साक्षात गर्न पुग्न लागेको निर्देशक लक्ष्मण सुनारले बताए ।
पश्चिम नेपालमा विद्धमान जारी प्रथाको कथा उठान गरेको फिल्मलाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक फिल्म भन्दै आएको छ । नेपाल सरकारबाट विशेष फिल्मको अवार्ड प्राप्त गरिसकेको यो फिल्मले समग्र नेपालको संस्कृति र रितिरिवाजको प्रतिनिधित्व गर्ने सुनार बताउँछन् ।
यो फिल्ममा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।
साथमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, विनयराज पौडेल लगायतका कलाकारलाई समेत फिल्मको अभिनयमा देख्न सकिनेछ ।
यसै साता सार्वजनिक फिल्मको दोस्रो ट्रेलर र त्यो पहिले सार्वजनिक गीतले पाएको सुखद प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । हालै यो फिल्मको अष्ट्रेलिया, यूरोप र यूके प्रदर्शन अदिकार समेत बिक्री भइसकेको छ भने अन्य देशमा समेत फिल्मको प्रदर्शनको लागि कुरा अघि बढिरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया