पाँच वर्षमुनिका बालबालिकाले बिस्तारामा या डाइपरमा पिसाब फेर्नु सामान्य मानिन्छ । स–साना बालबालिकाले आफूलाई पिसाब लागेको प्रष्टसँग भन्न सक्दैनन् । तर, कतिपय बालबालिकामा हुर्किँदै जाँदा पनि यही समस्या दोहोरिएको पाइन्छ ।
बालबालिका पाँच वर्ष पार गरेपछि पनि बेडमा, कपडामा पिसाब चुहाउने गर्छन् भने यो एक बाल स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन् । सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण, उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा हुन्छ । चार वर्ष पुगेपछि भने सामान्यतया उनीहरु पिसाब नियन्त्रण गर्न सक्ने भइ सक्छन् । तर, चारदेखि पाँच प्रतिशत बालबालिकामा भने पिसाब नियन्त्रण गर्ने उमेर भइसक्दा पनि पिसाब चुहिने समस्या भइराख्छ ।
पिसाब चुहिने समस्या किन हुन्छ? समाधान कसरी हुन्छ? लगायतका विषयमा कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिल पुकार साहसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
बालबालिकामा के कारणले पिसाब चुहिने समस्या हुन्छ ?
यदि बच्चाको पिसाबको थैली राम्रोसँग विकास भएको छैन भनेपनि पिसाबलाई राति नियन्त्रण गर्न कठिन हुन्छ । अर्को कुरा भनेको यदि बाबु–आमामा बाल्यकालमा यस्तो समस्या थियो भने बच्चामा पनि यो समस्या हुनसक्ने सम्भावना रहन्छ ।
पिसाब थैली नियन्त्रण गर्ने स्नायुप्रणालीले सुस्त काम गरिरहेको छ भने थैली भरिन्छ र पिसाब चुहिन्छ । तर बच्चाहरु ब्युझिँदैनन् वा पिसाब आएको मेसो पाउँदैनन्, पिसाब नियन्त्रण गर्ने भासोपेरेसन हार्मोनको स्तर कुनै कारणवश घटेको छ भने पिसाब आइरहने हुन्छ ।
युरिन ट्रयाक इन्फेक्सन यूटीआई र पिसाबमा संक्रमण अर्थात् युरिन ट्रयाक इन्फेक्सनले पनि बच्चामा पिसाब नियन्त्रण गर्ने क्षमता कम हुन्छ । रातमा ओछ्यानमा पिसाब फेर्नु मधुमेह भएको पहिलो संकेतको रुपमा देखिन्छ ।
यस्तोमा एकपटकमै औसतभन्दा बढी पिसाब हुनसक्छ । कब्जियतको समस्याले सताइराख्ने बालबालिकाको आन्द्राले राम्रोसँग काम गर्न सक्दैन । कब्जियत लामो समयसम्म रहयो भने दिसा र पिसाब गराउने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि पिसाब नियन्त्रण हुन कठिन हुन्छ ढाडको नसामा समस्या भएमा पनि पिसाब नियन्त्रण हुँदैन ।
यो कस्तो समस्या हो ?
यदि बच्चामा पिसाब चुहिने समस्या छ भने उनीहरु आफूलाई लज्जित महसुस गर्छन् जस कारण उनीहरुमा बिस्तारै बच्चामा मानसिक समस्या हुनसक्छ । एक त ठूलो भए पनि ओछ्यानमा पिसाब गर्ने बानीले उनीहरुमा हिनताबोध गराइराख्छ । जसकारण उनीहरु टाढा घुम्न जान पनि सक्दैनन् । बिस्तारै उनीहरु डिप्रेसनको सिकार समेत हुनसक्छन् । उमेर पुगेपछि पनि पिसाबमा स्वनियन्त्रण नहुनुलाई चिकित्सकीय भाषामा पिसाबको अस्थिरता वा इनुरेसिस भनिन्छ ।
प्राय:जसो राति ओछ्यानमा सुत्दा पिसाब गर्ने हुँदा यसलाई ‘बेड वेट’ पनि भनिन्छ । यसलाई दुई भागमा विभाजन गरिन्छ, ‘प्राइमरी बेड वेटिङ’ र ‘सेकेन्डरी बेड वेटिङ’ । यदि ६ महिना वा सोभन्दा बढी समय लगातार ओछयानमा पिसाब फेर्छन् भने त्यसलाई ‘प्राइमरी बेड वेटिङ’ भनिन्छ । पिसाब चुहिने समस्या ६ महिनापछि पुन बल्झियो भने त्यसलाई ‘सेकेन्डरी बेड वेटिङ’ भनिन्छ ।
कुन उमेर समूहका बालबालिकाहरुमा यो समस्या देखापर्छ ?
यो समस्या पाँच वर्षसम्मको बालबालिकामा प्रत्येक ६ जनामा एकलाई हुनसक्छ । ६ वर्षका बालबालिकामा भने प्रत्येक ८ जनामा एकजनालाई हुन्छ । ७ वर्षका बालबालिकामा भने प्रत्येक १० जनामध्ये एकलाई हुन्छ । साथै १५ वर्षसम्मको किशोरकिशोरीमा ०.५ प्रतिशतलाई हुनसक्छ ।
यस्तो समस्याको पहिचान कसरी गर्ने ?
पिसाब चुहिने समस्या आफैंमा एउटा रोग हो । यो समस्यालाई ‘मोनोसिन्टम्याटिक वेड वेटिङ’ भनिन्छ । यसको उपचार गर्नुभन्दा अघि बच्चाको घरको वातावरण सोधपुछ गरिन्छ । त्यसपछि लक्षणअनुसारको पिसाबथैली, ढाड र पेटको जाँच गरिन्छ । त्यस्तै पिसाबको संक्रमणको पनि जाँच गरिन्छ । अर्को भनेको ब्ल्याडर डायरी मेन्टेन गरिन्छ । २४ घण्टाको अवधिमा कति तरल पदार्थ पिएको छ ? कति पिसाब फेरेको छ ? त्यो हेरेर समस्या पत्ता लगाइन्छ ।
यस्तो समस्या कसरी रोकथाम गर्ने ?
यदि राति पिसाब गर्ने बाहेक अन्य लक्षण छैन भने बच्चाको व्यवहारमा केही परिवर्तन ल्याउन लगाइन्छ । कतिपय केसमा यो उपचार गर्नुपूर्व आमाबाबुलाई उमेर बढ्दै गएपछि बिस्तारै नियन्त्रण हुनसक्छ भन्ने कुरामा विश्वस्त पारिन्छ । अलार्म राखेर बच्चालाई राति एकपटक पिसाब फेर्न उठाउन सिकाइन्छ । यसले पनि रोकथाम हुनसक्छ । राति सुत्नुअघि झोलिलो पदार्थ खान दिनु हुँदैन । अन्य लक्षण भएमा लक्षण अनुसारको उपचार गरेपछि ओछ्यानमा पिसाब फेर्ने समस्या कम हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया