हाच्छ्युँ आउनु शारीरिक प्रक्रिया हो । चिसो, रुघाखोकी र ज्वरो आएको बेला अझ बढी हाच्छ्युँ आउने गर्छ । कहिलेकाहीँ हामी हाच्छ्युँ आउने क्रममा रोक्न पनि खोजिरहेका हुन्छौ । तर यसो गर्नु बिलकुल गलत हो ।
बेलायतमा हाच्छ्युँ रोक्ने कोसिस गर्दा एक व्यक्तिको घाँटीमा गम्भीर चोट लागेको छ । एक ३० वर्षका व्यक्तिले हाच्छ्युँ रोक्न खोज्दा घाँटीमा गम्भीर चोट आएको हो । उनले हाच्छ्युँ रोक्न नाक र मुख बन्द गरेका थिए ।
उपचारका क्रममा उनले यस्तो गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ । चिकित्सकका अनुसार हाच्छ्युँ रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ । हाच्छ्युँ रोक्दा घाँटीमा मात्रै होइन, कानको पर्दा समेत फुट्न सक्छ ।
रक्तनलीमा अप्रत्याशित रूपमा फोका आउन सक्छ र कतिको छातीको हड्डी समेत टुट्न सक्छ । हाच्छ्युँ मानव शरीरको प्राकृतिक डिफेन्स मेकानिज्म अर्थात् एक प्राकृतिक सुरक्षा प्रक्रिया हो ।
हाच्छ्युँबाट शरीरमा आएका इरिटेन्ट्सलाई नाकको बाटोबाट बाहिर निकाल्ने कोसिस गरिन्छ । त्यसैले हाच्छ्युँ कहिले नरोक्नुहोस् ।
अब कुरा गरौँ हाच्छ्युँ किन आउँछ त ?
हाच्छ्युँ कीटाणु, भाइरस वा पराकणले मात्रै हुँदैन । कहिलेकाहीँ सूर्यको कडा किरण र तातो घामले पनि व्यक्तिलाई हाच्छ्युँ आउन सक्ने चिकित्सक बताउँछन् ।
एक हजार भन्दा व्यक्तिमा गरिएको सर्वेक्षणमा उनीहरूलाई सूर्यको कडा किरण र तातो घामले बढी हाच्छ्युँ आउने बताएका थिए । कतिपय विज्ञहरूले यसको कारण आनुवंशिक पनि हुनसक्ने विश्वास गर्छन् ।
कतिपयले धेरै खाना खाएपछि हाच्छ्युँ आउने गरेको बताउँछन् । मानिसको हाच्छ्युँ आठ मिटर अर्थात् २६ फिटसम्म पुग्न सक्छ । हाच्छ्युँ गर्दा नाकबाट निस्कने कण केही मिनेटसम्म हावामा तैरिन सक्ने पनि देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया