शरीरको सौन्दर्यमा थप सुन्दरता थपिदिन्छ कपालले । टाउकोमा कपाल भएन भने तपाइको सुन्दरता नै उड्छ भन्दा फरक पर्दैन ।
समाज जतिसुकै आधुनिक बने पनि छोरी मान्छेको लामो कपाल भएको नै शोभनीय मानिन्छ । केटा मान्छे पनि बाक्लो कपालले नै आकर्षक देखिन्छन् ।
तर पछिल्लो समय भने वयस्क उमेरका युवा- युवतीहरूको नै कपाल झरेर तालु देखिसकेको अवस्था हामीले देख्न सक्छौ । जसले उनीहरको मनोबल समेत घटाइरहेको छ ।
यस कारण नक्कली कपाल लगाउने ,कपाल ट्रान्सप्लान्ट गर्ने लगायतका गतिविधि निकै बढ्दो छ ।
केही वर्ष अघिसम्म ४० काटेका महिला, पुरुषहरूको मात्रै कपाल झर्ने समस्या हुन्थ्यो , अनि तालु देखिन्थ्यो तर अहिले उमेर नै नपुगेका युवाहरूमा कपाल झर्ने समस्या निकै बढ्दो छ ।
कपाल सौन्दर्यको पर्याय पनि हो । पछिल्लो समय कपाल रङ्गाउने ,स्ट्रेट गर्न जस्ता गरिरहेका छन् । ‘जथाभाबी कलर गर्ने अनि आफ्नो कपालको क्वालिटी मापन नगरी मनपर्याे भन्दैमा जस्तो पनि बनाइदिने गर्दा पनि कपाल झर्ने समस्या बढेको ’ ब्युटीसियन सुष्मा महरा बताउँछिन् ।
व्यक्तिअनुसार कपालको प्रकृति फरक- फरक हुने हुँदा कपाल परीक्षण गरेर मात्र स्याम्पु, तेल , कलर ,ट्रिटमेन्ट क्रिम प्रयोग गर्न उनी सुझाव दिन्छिन् ।
यस्तै ‘ स्ट्रेस ,वंशाणुगत कारण , ज्वरो , डेङ्गि जस्ता रोगहरूबाट ग्रसित भएका व्यक्तिहरूमा बढी यस्तो समस्या देखिने ’ छाला रोग विशेषज्ञ डा.जेविना लामा बताउँछिन् ।
यस्ता छन् रोकथामका उपायहरु :
-प्रोटिनयुक्त खाना हरियो सागपात ,फर्सी, सखरखण्ड,जस्ता खानेकुराहरूमा जोड दिने
-कपालमा धेरै केमिकलको प्रयोग नगर्ने
-कपाल परीक्षण गरेर मात्र स्याम्पु, तेल , कलर ,ट्रिटमेन्ट क्रिम प्रयोग गर्ने
-धेरै स्ट्रेस नलिने
-स्वस्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्ने
-कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईँको कपाललाई जरैदेखि कमजोर बनाउँछन् ।
त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ । यस कारण सकेसम्म यस्ता औजार प्रयोग नगर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया