काठमाडौँ– संसारमा अहिले अर्बपतिहरुको सङ्ख्या कति होला ? संसारमा धनी र गरिबबीचको खाडल बढ्दै गएको चर्चाबीच अर्बपतिको सङ्ख्याबारे चासो हुनु स्वभाविक नै हो ।
अमेरिकी अखबार फोर्ब्सका अनुसार अहिले २ हजार ७ सय ८१ जनासँग एक अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ति छ । यी अर्बपतिहरु संसारभर छरिएर बसेका छन् । कोही न्यूयोर्कमा बस्छन् त मुम्बईमा । अर्बपति विनोद चौधरी यहीँ काठमाडौँमै बस्छन् ।
संसारका एक चौथाइ अर्बपति विश्वका केबल १० शहरमा बस्छन् । ती १० शहर पनि ६ देशमा मात्र सीमित छन् । ती १० शहरमा बस्ने अर्बपतिको कुल सम्पत्ति ३० खर्ब अमेरिकी डलर बराबर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
आखिर संसारमा सबैभन्दा धेरै अर्बपति बस्ने १० शहर कुन होलान् ? आज हामी सोही विषयमा चर्चा गर्न चाहन्छौँ ।
न्यूयोर्क
अमेरिकाको न्यूयोर्क संसारमा सबैभन्दा धेरै अर्बपति बसोबास गर्ने शहर हो । फोर्ब्सका अनुसार न्यूयोर्क शहरमा सबैभन्दा धेरै १ सय १० जना अर्बपति बस्छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष विश्वको वित्तीय राजधानी मानिने न्यूयोर्क शहरमा अर्बपतिको सङ्ख्या ९ जनाले बढेको पाइएको छ । यो शहरमा बस्ने सबै अर्बपतिको कुल सम्पत्ति ६ खर्ब ९४ अर्ब अमेरिकी डलर छ ।
मस्को र हङकङ
रुसको राजधानी मस्को संसारमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । फोर्ब्सका अनुसार यो शहरमा ७४ जना अर्बपति बस्छन् । अघिल्लो वर्षको तुलनामा यो शहरमा अर्बपतिको सङ्ख्या १२ जनाले बढेको छ ।
अघिल्लो वर्ष सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा छैटौँ स्थानमा रहेको थियो । यो शहरमा बस्ने अर्बपतिहरुको कुल सम्पत्ति ३ खर्ब ७८ अर्ब अमेरिकी डलर छ ।
त्यस्तै चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सबैभन्दा धेरै अर्बपति बसोबास गर्ने शहरको सूचीमा मस्कोसँगै समान दोस्रो स्थानमा रहेको छ । यो शहरलाई एशियाको वित्तीय केन्द्र नै मानिन्छ । यो शहरमा पनि मस्कोजस्तै ७४ जना अर्बपतिहरुको बसोबास रहेको छ ।
अघिल्लो वर्षको तुलनामा यहाँ ४ जना नयाँ अर्बपति थपिएका छन् । यो शहरमा बसोबास गर्ने अर्बपतिको कुल सम्पत्ति ३ खर्ब २६ अर्ब रहेको फोर्ब्सले जनाएको छ ।
मुम्बई
संसारमा सबैभन्दा धेरै अर्बपति बस्ने शहरको सूचीमा भारतको मुम्बई चौथो स्थानमा परेको छ । मुम्बईलाई भारतको मात्र नभइ दक्षिण एशियाकै वित्तीय केन्द्र मानिन्छ । फोर्ब्सका अनुसार यहाँ ६९ जना अर्बपतिको बसोबास रहेको छ ।
मुम्बईमा अघिल्लो वर्षको तुलनामा १३ जना अर्बपति थपिएका छन् । यहाँ बसोबास गर्ने अर्बपतिको कुल सम्पत्ति ३ खर्ब ७९ अर्ब अमेरिकी डलर रहेको छ ।
बेइजिङ
संसारमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा चीनको राजधानी बेइजिङ पाचौँ नम्बरमा परेको छ । फोर्ब्सका अनुसार यो शहरमा कुल ६३ जना अर्बपतिहरु बस्छन् । सन् २०२१ मा बेइजिङ संसारमा सबैभन्दा धेरै अर्बपति बस्ने शहरको सूचीमा शीर्ष स्थानमा रहेको थियो ।
त्यसयता यो शहरबाट ३२ जना अर्बपति पलायन भइसकेका छन् । यो शहरमा बसोबास गर्ने ६३ जना अर्बपतिको कुल सम्पत्ति भने २ खर्ब ११ अर्ब अमेरिकी डलर छ ।
लण्डन
बेलायतको राजधानी लण्डन विश्वमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा छैठौँ स्थानमा परेको छ । फोर्ब्सका अनुसार लण्डनमा ६२ जना अर्बपतिको बसोबास रहेको छ । अघिल्लो वर्ष यहाँ ६३ जना अर्बपति बस्दथे ।
यद्यपि सन् १९९७ मा राजकुमारी डायनासँगै कार दुर्घटनामा मारिएका डोडी फायदका बुबा मोहम्मद अल फायदको अघिल्लो वर्ष मृत्यु भएसँगै अर्बपतिको सङ्ख्या घटेको हो । यहाँ बसोबास गर्ने अर्बपतिको कुल सम्पत्ति ३ खर्ब २६ अर्ब डलर रहेको छ ।
साङ्घाई
चीनको साङ्घाई संसारमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा सातौँ स्थानमा परेको छ । फोर्ब्सका अनुसार साङ्घाईमा ५४ जना अर्बपति बसोबास गर्छन् ।
साङ्घाईलाई चीनको वित्तीय राजधानी नै मानिन्छ । अघिल्लो वर्षको तुलनामा यहाँबाट ११ जना अर्बपति पलायन भएका छन् । शाङ्घाईका ५४ जना अर्बपतिको कुल सम्पत्ति १ खर्ब ६७ अर्ब अमेरिकी डलर रहेको छ ।
लस एन्जल्स
अमेरिकाको लस एन्जल्स संसारमा सबैभन्दा धेरै अर्बपति बस्ने शहरको सूचीमा आठौँ स्थानमा परेको छ । लस एन्जल्स अमेरिकामात्रै नभएर संसारकै मनोरञ्जन उद्योगको केन्द्र मानिन्छ । यहाँ ५३ जना अर्बपति बस्छन् ।
उनीहरुको कुल सम्पत्ति २ खर्ब २२ अर्ब अमेरिकी डलर रहेको छ । यहाँ बसोबास गर्ने अर्बपतिमा किम कडर्शियन, रिहाना, लेब्रोन जेम्सजस्ता सेलिब्रेटी पनि पर्छन् ।
सिङ्गापुर
संसारमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको शहरको सूचीमा सिङ्गापुर नवौँ स्थानमा रहेको छ । दक्षिणपूर्वी एशियामा अवस्थित टापु राष्ट्र सिङ्गापुरलाई एशियाकै वित्तीय केन्द्रका रुपमा लिइन्छ । फोर्ब्सका अनुसार सिङ्गापुरमा ५२ जना अर्बपति बस्छन् ।
अघिल्लो वर्षको तुलनामा यहाँ अर्बपतिको सङ्ख्या ६ जनाले वृद्धि भएको छ । यहाँ बसोबास गर्ने अर्बपतिको कुल सम्पत्ति १ खर्ब ५६ अर्ब अमेरिकी डलर रहेको छ ।
सन फ्रान्सिस्को
संसारमा सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेका १० शहरको सूचीमा अमेरिकाको सन फ्रान्सिस्को शहर पुछारमा रहेको छ । सन फ्रान्सिस्कोलाई अमेरिका मात्र नभएर संसारकै प्राविधिक कम्पनीहरुको केन्द्र मानिन्छ । यहाँ ५० जना अर्बपति बस्छन् ।
अघिल्लो वर्षको तुलनामा यहाँ अर्बपतिको सङ्ख्या १३ जनाले बढेको छ । यहाँका अर्बपतिको कुल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया