मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौलिक संस्कृतिमार्फत विश्वलाई जोड्दै सिन्धुली कला घर

काठमाडौँ– मलेसियाको राजधानी क्वालालाम्पुर, मालाक्का राज्यको स्वरुप यतिबेला सिन्धुली, कमलामाई नगरपालिका ३ चपौलीस्थित ‘राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घर’मा देख्न सकिन्छ ।

मलेसियाकै महत्वपूर्ण स्थानहरुलाई कलाको फर्ममा उतारेर त्यहीको दृश्य देखाउने जमर्को सिन्धुली कला घरले गरेको छ । यसअघि कला घरले साउदी अरबका सात वटा स्थानलाई कलाको स्वरुपमा ढालिसकेको छ ।

कलामार्फत विश्वलाई जोडेर विश्व सङ्ग्रहालय नै बनाउने उद्देश्यले विभिन्न देशलाई चिनारी दिने पक्षलाई कलामा उतारिएको कलाकार, कला अभियन्ता तथा कला घरका अध्यक्ष सुमन थापा मगरले जोय नेपालसँगको कुराकानीमा बताए ।

उनका अनुसार विश्वमा रहेका एक सय ९५ वटा मुलुकलाई १० वर्षभित्रमा कलाको स्वरुपमा उतार्ने कला घरको लक्ष्य छ । स्रोत र साधन उपलब्ध भएमा पाँच वर्ष भित्रमा नै योजनालाई पूरा गर्ने अध्यक्ष थापा मगरको भनाइ छ ।

अर्काेतिर ‘सिन्धुली कला घर’ को टिमले नेपाली लोक संस्कृति र पञ्जेबाजालाई प्रोत्साहन गरिरहेको छ । देशका विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन पुगेको सिन्धुली कला घर अहिले भने छुट्टै सङ्ग्रहालयको रुपमा स्थापित हुने बाटाेमा छ ।

त्यहाँ विभिन्न आकृति झल्किने छुट्टै सङ्ग्रहालय हुने र उक्त स्थानले आन्तरिक र बाह्य पर्यटन पनि भित्र्याउने अपेक्षा गरिएको छ । कला घरका अध्यक्ष सुमन थापा मगरका अनुसार बलियो र टिकाउ बनाउन फलामद्वारा नै विभिन्न कलाकृतिहरू निर्माण गरिएको छ ।

कला घरमा संयुक्त राज्य इमिरेट्सका प्रसिद्ध स्थलहरुको निर्माण कार्यसम्पन्न भइसकेको छ ।

उनले भने, ‘हाम्रो अभियान कलामार्फत हरेक देशलाई सम्मान नै हो । नेपालको कला पौरखीहरु मार्फत हामी विश्वलाई कलाको स्वरुपमा उतार्दैछौं ।’ यसलाई देशलाई चिनाउने अभियानका रुपमा उनी लगायत कलाघर समूहले लिएका छन् ।

यसबाट पर्यटकको आगमनसँगै देशलाई आर्थिक रुपमा टेवा पुग्ने अपेक्षा कला घरको छ । प्रत्येक देशका कम्तिमा पनि पाँचै वटा महत्वपूर्ण स्थललाई प्रस्तुत गर्दा पाँच लाख रुपैयाँ बराबरको आर्थिक लगानी लाग्छ ।

यसमा कला घरकै ६० प्रतिशत लगानी भइरहेको थापा मगरले सुनाए । जुन योजनाका लागि कला घरमा आवद्ध भएका १५ जना युवा कलाप्रेमीहरु नेपाली कला, साहित्य र संस्कृतिलाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्य लिएर अहोरात्र खटिरहेका छन् ।

उनले थपे, ‘हामी आफ्नो व्यक्तिगत जीवनलाई डामाडोल बनाएर निःस्वार्थ भावले समग्र देशका लागि अगाडि बढिरहेका छौं । कला घर सिन्धुलीको मात्र होइन, देशकै बनोस् भन्ने हामी चाहन्छौं ।’

कलाघरले कला सिर्जना गर्ने थलो राजधानी मात्र नभएर प्रत्येक स्थानीय तहहरुमा समेत गर्न सकिन्छ भन्ने सन्देश प्रभाव गरेको छ ।   

सिन्धुलीकै चपौलीबासी थापामगरले झण्डै पाँच/छ वर्षअघि सिन्धुलीमाडीमा भएको महोत्सवमा जराबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा देखाएका थिए ।

उनको कलाकृतिहरुलाई सबैले मन पराए । त्यसपछि पञ्चेबाजा संकलन गरी उनले कला यात्रालाई शुरुवात गरे । २०७५ सालमा कलाघरका रुपमा उनले विधिवत रुपमै स्थापना गरेर अगाडि बढे ।

नाट्य, सङ्गीत, फिल्म, नृत्य, ललितकला जस्ता कला विधामा समेत दखल भएका उनले आफ्नै जन्मभूमिमा कला संग्रहालय बनाउने सपना देखे ।

त्यसपछि उनको सपनासँगै अन्य कलाप्रेमी युवाहरु सामेल भए । शुरुवात समयमा उनको समूहले कलाघरमा देशलाई चिनाउने कलाकृतिहरु नै तयार गरे ।

कलाघर परिसरमा अहिले पशुपतिनाथको सांस्कृतिक एवम् धार्मिक स्वरुपलाई चिनाउने कलाकृतिहरु, कलाकै स्वरुपमा धनुषाको जानकी मन्दिर, हेटौडाको युद्धगढी, बौद्धस्तुपादेखि लिएर जुनारको बोटसम्म छन् ।

नेपालकै नक्सामा समेटिएको कलाघरको आँगनको परिवेश, फरफराइरहेको झण्डा, मौलिक शैलीको खरको छानोसहितको घर, काठमाडौँको धरहरा, मादल, सारङ्गी, ट्याम्को, कर्नाल जस्ता विभिन्न मौलिक बाजाहरुको प्रतिमाहरुले जोकोहीमा पनि देशप्रेम जगाउँछ । कलाघरमै रहेको चियाको किट्लीको स्वरुपले अझै पर्यटकको मन लोभ्याउँछ । 

कलाघरमा लोपोन्मुख परम्परागत सामग्रीहरु समेत संकलन गरी राखिएका छन् । कलाघरमा आउने पाहुनाहरुलाई पवित्रा रम्तेल लगायतका महिला कलाकारहरुले मौलिक पन्चेबाजाको लोकधुनले अझै मन्त्रमुग्ध बनाइरहेका छन् ।

रम्तेल कलाघरकी उपाध्यक्ष समेत हुन् । मौलिक पन्चेबाजाको लोक धुन लिएरै यो टोली देश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत पुगेका छन् ।

कला घरलाई विश्वकै कलाघरको स्वरुप दिनलाई त्यति सजिलो काम त पक्कै होइन । र पनि कलाघरलाई सांस्कृतिक विद्यालय तथा कला आश्रम नै बनाउने थापामगर लगायतको ठूलो सपना छ ।

चार रोपनी जमीनमा कला घरलाई कलामय बनाउने युवाहरुले दश रोपनी जमीनमा कलाघरलाई फैलाउने अठोट लिएका छन् । यसका लागि केही आर्थिक सहयोग समेत संकलन भएका छन् । यतिबेला यी युवाहरुको जोशमा राज्यले नै काँध थाप्नुपर्ने देखिन्छ ।

जुन युवाहरुले देशको मौलिक कला, संस्कृति र सभ्यतामार्फत नै देशलाई मात्र नभएर समग्रह युवाहरुलाई देशमै केही गर्ने पाठ सिकाएका छन् ।

थापा मगर भन्छन्, ‘हामीलाई त कलाको लत नै लाग्यो । कलाप्रतिको लतले नै हामी यो सबै गर्दैछौं । हामी यो कलाघर र सङ्ग्रालय हाम्रो भन्दा पनि राज्यकै होस् भन्ने चाहन्छौं । हाम्रो हरेक दिनको सपना नै यो देशलाई चिनाउने गौरव बनोस् भन्ने छ ।’

कलाघरले विश्व कला सङ्ग्रहालयको स्वरुप लिएमा देशको चिनारीसँगै युवाको रोजगारीमा समेत ठूलो टेवा पुग्ने उनको आशा छ ।

भन्छन्, ‘हामी १५ जना युवाको व्यक्तिगत जीवन डामाडोल भए पनि हाम्रो योगदान र प्रभावले यसमा पछि सय जना युवाहरुले रोजगार पाओस् भन्ने हाम्रो सपना छ । यसकै लागि हामी दिनरात लागिपरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?