काठमाडौँ– कलाको आधुनिक स्वरुपमा भगवान् मात्र होइन, समाज, आम मानिसका भोगाइ र जटिलताहरु उत्खनन गर्ने उनलाई आफ्नो जीवनका थुप्रै किस्साहरु कला जस्तै लाग्छ ।
जसरी मनबाट स्वस्फूर्त रुपमा कला सिर्जना हुन्छन्, त्यसरी उनको जीवन पनि उनकै मनको लयमा चलिरहेको छ ।
साढे तीन दशकदेखि कला सिर्जना र लेखनलाई सँगसँगै डोर्याउँदै हिँडेका कलाकार एवं कला समीक्षक तीर्थ निरौला भन्छन्, ‘मेरो जीवन मैले सिर्जना गर्ने कला जस्तै भयो । जीवनमा कति लडियो, कति उठियो त्यसमा कुनै लेखाजोखा नै छैनन् ।
त्यसैगरी कला सिर्जनामा पनि म आफैं निर्देशित भएँ । म आफैंले आफैंलाई दबाब दिएर बनाएका चित्रहरुमा पनि दबाबमूलक स्वरुपहरु नै देखिन्छन् ।’
धरानस्थित पुरानो बजारमा नरेन्द्रराज र निर्मलादेवी निरौलाका जेठो सन्तानका रुपमा जन्मिएका निरौलाले ४० को दशकमै कला सिर्जना र लेखनलाई औपचारिकता दिए । वि.सं. २०४४ सालदेखि नै सार्वजनिक रूपमा कलाको क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै आएका उनले सँगसँगै कला लेखनलाई समेत अगाडि बढाए ।
जतिबेला उनले कला सिर्जनाको महिमा र आफूमा सिर्जनाप्रतिको हुटहुटी देखे, त्यतिबेला सार्वजनिक रूपमा ‘म कलाकार हुँ र कलाकार नै बन्छु’ भन्ने माहोल धरानमा बनिसकेको थिएन । तीनताका कलाकारहरु भन्ने बित्तिकै साइनबोर्ड लेख्नेहरुलाई नै चिनिन्थ्यो । त्यसकारण उनको औपचारिक शिक्षा व्यवस्थापनतिर थियो भने कामको सक्रियता कलातिर ।
व्यवस्थापन संकायमा नै उनले धरानमै प्रमाणपत्र तह पूरा गरी यसैमा काठमाडौँमा आएर शंकरदेव क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरे ।
‘औपचारिक अध्ययन एकातिर अनि काम र रुचीको क्षेत्र अर्कोतिर हुँदा तालमेल कसरी हुँदै गयो ?,’ भन्ने जिज्ञासामा उनी आफ्नो कला सिर्जना यात्रा, संघर्ष र निरन्तरताबारे स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला कसैले के गर्छौ भनेर सोध्दा चित्र कोर्छु र यसबारे लेख्छु भन्दा यही काम हो भनेर भन्ने अवस्था थिएन । काठमाडौँमा पढिरहेको छु भन्ने देखाउन पनि म म्यानेजमेन्टतिर पढिरहेको थिएँ ।’
खासमा कला विधा, यसको अध्यनन र विश्वमा यसको फैलावटबारे शुरुवाती समयमा कसैबाट सिक्ने अवसर नै उनले पाएनन् । बाल्यकालदेखि किशोरावस्था सम्ममा कलाबारे उनले स्वअध्ययन एवं स्वविवेकले बुझे र सिके । उनलाई बाल्यकालमा के कुरा अध्ययन गरे भनेर ठ्याक्कै याद छैन, तर हर समय चित्र कोरिरहेको क्षणहरु उनको स्मरणमा छ ।
उनी भन्छन्, ‘तीन/चार कक्षामा पढ्दा खेरी नै म रामसीताको चित्र कोर्थेँ । फोटोहरु हेरेर चित्र बनाउँथेँ । तर पढेको याद खासै छैन । खासमा कलाप्रतिको मोह र रहर मलाई त्यतिबेला देखि नै रहेछ । तर तिमी यही गर भनेर कसैले भनेनन् र परिवारबाट पनि कला अध्ययनका लागि जोड भएन ।’
चित्र पूरा गरेर त्यसमा रङ भरेमा राम्रो देखिन्छ भन्ने ज्ञान भएपछि आफ्नो वरपर जे–जस्तो उपलब्ध हुन्छन्, त्यसैलाई उनले क्यानभासमा कोरेका चित्रमा भरे । कुची र क्यानभासको दुनियाँभन्दा अलग रहेका उनले बाख्राका रौंहरु बटुलेर त्यसैलाई कुचीको स्वरुप दिए ।
प्लाइ उडहरुमा सेतो रङ दलेर उनले त्यसैलाई क्यानभास बनाए र निरन्तर चित्र कोरिरहे ।
उनको त्यो कार्य ‘कला सिर्जना हो या होइन, त्यसको महिमा र इतिहास के छ, उनको कार्यले के प्रभाव पार्छ,’ यी सबैबारे अनभिज्ञ हुँदा पनि उनले चित्र कोरिरहे ।
सिर्जना क्रममा नै उनले आफ्नो औपचारिक अध्ययनसँगै कलाबारे पनि अध्ययन कार्यलाई अघि बढाए । कलाबारे लेखिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखहरु, पुस्तकहरु उपलब्ध भएसम्म निकै अध्ययन गरे । त्यसैबाट उनले लेख्नुपर्छ भन्ने समेत आभास गरे । अत उनले सिर्जनासँगै लेखनलाई समेत निरन्तरता दिए ।
आफ्नो कला र लेखनयात्राबारे स्मरण गर्दै गर्दा निरौला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा थिए । त्यही परिसर अगाडि भूकम्पले क्षतिग्रस्त सीता भवन लामो समयदेखि पुनर्निर्माण चरणमै छ ।
सोही भवनमा भूकम्प अगाडि प्रतिष्ठानको कार्यालयसँगै कला सङ्ग्रहालय समेत सञ्चालनमा थियो । त्यही भवनलाई देखेर फेरि उनी आफ्नो कलायात्राको फ्ल्यासब्याकतिरै पुगे । ‘यो भवनलाई देख्दा मलाई आनन्द र खुसी लाग्छ । यही भवनमा आएर नै मैले पहिलोचोटी राष्ट्रिय स्तरको कला प्रदर्शनी र अरु थुप्रै कलाकारका कलाकृतिहरु देखेको थिएँ ।’
धरानमा बसेर कला सिर्जना गरिरहेका उनले २०४४ सालतिरै राष्ट्रिय स्तरको कलाप्रदर्शनी हुन गइरहेको विज्ञापन गोरखापत्रमा देखे । त्यही विज्ञापनमा देशभरीमा कलाकाहरुलाई कलाकृति पठाउन समेत आह्वान गरिएको थियो ।
त्यतिबेला उनले ग्रामिण परिवेश झल्कने एउटा चित्र प्रदर्शनीका लागि पठाए । जुन चित्रमा मकैका झुत्ताहरु झुण्डिएको दृश्यमा बुढी आमा र सानो खोपामा दियो बालिएको थियो । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा भएको उक्त प्रदर्शनीमा उनको चित्र छनोट भएको उनले खबर पाए ।
प्रदर्शनी शुरु भएको दिनमा उनी छिमेकीको घरमा नेपाल टेलिभिजन हेर्दै थिए । राजाले उद्घाटन गरेको प्रदर्शनीमा उनको चित्रलाई बढी फोकस गरेर टेलिभिजनले देखाइरहेपछि सबैले उनको कलाको तारिफ गरे । त्यसपछि उनलाई पनि आफू साँच्चीकै कलाकार नै बनेछु भन्ने महसूस भयो । प्रदर्शनी भएको केही समयपछि नै उनी एकजना साथीको साथ लागेर काठमाडौँ आए र सोधीखोजी गरेर नक्सालको प्रदर्शनी हलमा पुगे ।
हलमा उनले परम्परागत, समकालीन, आधुनिक सबै प्रकारका कलाकृतिहरु अवलोकन गरे । तर आफ्नो चित्र भने देखेनन् ।
‘त्यति ठूलो, झकास दरवार र त्यसैमा थुप्रै कलाकृतिहरु देखेर शुरुमै म त छक्क परेँ । त्यति धेरै अरुका कलाहरु मैले पहिला देखेको थिइनँ । त्यतिबेलाको मेरो अनुभव सम्झेमा अहिले मलाई हाँस उठ्छ । मेरो चित्र नदेखेपछि सोधीखोजी गर्दा पाँच सय रुपैयाँमा बिक्री भइसकेको रहेछ,’ उनले स्मरण गरे ।
त्यतिबेला परिचय खुल्ने कागजात पनि नबोकी काठमाडौँ आएको हुँदा शुरुमा प्रतिष्ठानका तत्कालीन अधिकृतले उनी तीर्थ निरौला हुन् भनेर पत्याएनन् ।
पछि अनेक हिसाबले आफूले उक्त चित्र बनाएको भनेर विश्वास दिलाएपछि उनलै पाँच सय रुपैयाँ पाए । त्यही पैसाले उनले कला सिर्जनाका लागि चाहिने विभिन्न तेल रङहरुसँगै र क्यानभासहरु किने । बाँकी भएको पैसाले जुत्ता, ज्याकेट सबै किनेर लाहुरीको हुलियामा उनी घर पुगे ।
त्यही पैसाबाट त्यतिबेला भाइलाई समेत उनल ज्याकेट किनेर लगिदिएका थिए । धरानमै त्यतिबेला कला प्रदर्शनीहरुमा सहभागी भइरहने भएकाले उनले चित्रकारका रुपमा आफ्नो एक खालको छवि बनाइसकेका थिए ।
त्यसपछि काठमाडौँ आउने जाने गरेका उनी २०४७/२०४८ देखि राजधानीमै बस्न थाले । प्रजातन्त्रको पुनर्स्थापना र बहुदलका कारण अन्य क्षेत्रजस्तै कलाले पनि त्यतिबेला देखि नै आफ्नो आयामलाई फराकिलो बनाउने अवसर पायो ।
त्यही माहोलमा काठमाडौँ छिरेका निरौलाले कलाबारे अझै विस्तृत रुपमा बुझ्ने र जान्ने मौका पाए ।
तिनताका जमलमा रहेको सिर्जना आर्ट ग्यालरीमा उनी बरोबर पुग्थे । कला जमात र गतिविधिहरुमा समेत सहभागी हुन्थे ।
त्यही क्रममा लैनसिंह बाङ्गदेल, उत्तम नेपाली, शशी विक्रम शाह, किरण मानन्धर जस्ता कलाका सिद्धहस्त व्यक्तिहरुसँगको देखभेटसँगै सिर्जनाको माहोलमा उनी डुब्न पुगे । त्यसपछि उनले सिर्जना र लेखनलाई अझै फराकिलो बनाए ।
२०४६ सालमै धरानमा सडकमै चित्रकला प्रदर्शनी गरेका उनले काठमाडौँ आए लगत्तै ‘गोयथे इन्टिच्युट’ मा एकल कला प्रदर्शनी गरे ।
उनको प्रदर्शनीको उद्घाटन साहित्यकार पारिजात र गणेशमान सिंहले गरेका थिए । त्यसपछि उनले २०४८ सालमा ‘तीर्थज् कलरफुल एक्सप्रेशन’ नामक कला प्रदर्शनी आर. एन. ए. सि. विल्डिङ्ग, तत्कालिन भारतीय सांस्कृतिक केन्द्रमा गरे । उनको कला प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार नेपालीले गरेका थिए । तीनताका कला प्रदर्शनी हेर्न आम मानिसहरु आउने माहोल थिएन ।
कला प्रदर्शनीमा आम मानिसको पहुँच नभएको देखेपछि कलालाई समुदायमा पुर्याउन नै उनले लेखनलाई अझै तिव्रता दिए । आमसञ्चार माध्यममा कलाका गतिविधिहरुबारे समाचार सामग्री आएमा आम मानिसले कलाबारे बुझ्न पाउँछन् र यसको आयाम विस्तार होला भन्ने उनको लेखनको अपेक्षा थियो ।
उनको एकल कला प्रदर्शनी सन् २००१ मा बेलायतमा र कोरियामा सन् २००६ मा भएको थियो । २०६२/०६३ को जनआन्दोलन ताका जनआन्दोलनको सन्दर्भमा कला मार्फत भूमिका निर्वाह गर्न धरान बजारको भानुचोक र छाताचोकमा उनले प्रतिस्थापन कला प्रदर्शनी गरेका थिए ।
बितेका साँढे तीन दशकमा उनका झण्डै दर्जन हारहारीमा एक कला प्रदर्शनी भएका छन् भने दर्जनौं पटक सामुहिक प्रदर्शनीमा उनका कलाकृतिहरु प्रदर्शन भएका छन् । त्यस्तै दर्जनौं पटक उनी कला कार्यशालामा सहभागी भएका छन् ।
आरती साप्ताहिकमा उनले २०४५ सालदेखि २०५० सालसम्म स्तम्भकारका रुपमा कलाका विविध आयामहरुबारे लेखे । राष्ट्रिय दैनिक ब्लास्ट पत्रिकामा २०५८ सालदेखि उनी हालसम्म निरन्तर कला लेखनमा छन् । कान्तिपूर राष्ट्रिय दैनिक, गोरखापत्र, मधुपर्क, गरिमा आदिमा कला स्तम्भकारका रूपमा समेत उनले कलम चलाएका छन् ।
नागरिक दैनिक, अन्नपुर्ण पोष्ट, साहित्यपोष्ट डटकममा समेत उनले नियमित रुपमा कलालेखहरु लेख्दै आएका छन् । ललितकला प्रज्ञा प्रतिष्ठान मार्फत उनको ‘कला–जागरण’ निबन्धसङ्ग्रह(२०७०) समेत प्रकाशित छन् ।
कला सिर्जना र लेखन क्षेत्रमा पुर्याएकाे योगदानको कदर गर्दै ‘राष्ट्रिय अरनिको युवा कला पुरस्कार तथा सम्मान– २०६२,’ ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०७१,’ ‘ललितकला विशेष पुरस्कार– २०६२,’ ‘धरान साहित्यिक महोत्सव समारोह सम्मान–२०७१,’ लगायत अमेरिकाबाट उनले ‘द आर्ट एण्ड इन्टरडिपेन्डेन्स अवार्ड–२०१६,’ ‘एजुकेटर अवार्ड–२०१७’ लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट उनलाई सम्मानित गरिएको छ ।
उनका कलाकृतिहरु नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, नेदरल्याण्ड जस्ता देशहरुमा व्यक्तिगत सङ्ग्रह कर्ताहरूद्वारा तथा म्युजियम र ग्यालरीहरूमा सङ्ग्रहित छन् ।
उनको लामो कलायात्रामा उनले थुप्रै भोगाइहरु भोग्दै आफ्नो यात्रा तय गरे । प्रमाणपत्रले दिने ज्ञानभन्दा पनि आफ्नो स्वअध्ययनले दिएको कला ज्ञानले नै अहिले उनी एक कलाकार र कला समीक्षकमा रुपमा उभिएका छन् । उनले व्यवस्थापन संकायबाट लिएको ज्ञानलाई प्रमाणपत्रमै सीमित राखेर कला सिर्जनाकै फाँटमा लामो फड्को मारेका छन् ।
उनी भन्छन्, ‘कलाकार बन्नु नेपालमा फलामको चिउरा चपाएजस्तै छ । अझै पनि कलालाई हेर्ने र बुझ्ने जमात बनिसकेको छैन ।’
कलालाई केवल सिर्जना र व्यापारभन्दा पनि पवित्र सिर्जनाको रुपमा उनी परिभाषित गर्छन् । कलामा अभिव्यक्त हुने मानवीय भाव, संवेदनाहरु बजारिया तत्व र अन्य चीजबीजहरुमा तुलना नै हुन नसक्ने उनको ठहर छ । सिर्जना बन्नु र बजारमा बिक्री हुनुमा उनी सरोकार राख्दैनन् ।
कलाका सच्चा सर्जकले सिर्जना गरेका कलाको महिमा सदासर्वदा हुने कुरामा उनी ढुक्क छन् । अब समग्र कला जगत नै चेतना र वर्ग पहिचानसहित आउनुपर्छ भन्ने उनको मान्यता छ ।
उनको आफ्नो मनले रोजेको कला क्षेत्रको उत्थानको लागि मन, वचन र कर्मले यसरी नै निरन्तरता दिन्छु भन्ने उनको ध्येय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया