काठमाडौँ— सामसङको बहुप्रतिक्षित ग्यालेक्सी डिभाइस अन्तरगतको स्मार्टफोन सामसङ ग्यालेक्सी एस २४ सिरिज हालै सार्वजनिक भएको छ ।
सामसङ ग्यालेक्सी एस २४ सिरिजमा कम्पनीले ग्यालेक्सी एस २४ अल्ट्रा, एस २४ प्लस र तल्लो तहमा एस २४ का साथ एआई सहित तीन मोडलहरू लन्च गरेको हो ।
यो सँगै नेपालमा पनि सामसङ ग्यालेक्सी एस २४ सिरिजको प्रि–अर्डर खुल्ला भएको छ । सामसङ नेपालले शुक्रवारदेखि एस२४ सिरिज अन्तर्गतका सबै मोडेलको प्रि–अर्डर खुलाएको हो ।
एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस २४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ ।
विशेष गरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले समेत सज्जित गरिएको छ ।
नेपाली बजारमा पनि ग्यालेक्सी एस २४ सिरिजका चार ओटा भेरियन्टमा खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार नेपालमा एस २४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
यसअन्तर्गत १२ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै एस २४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस २४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।
ग्राहकले २५६ जीबी इन्टर्नल स्टोरेज भएको भेरियन्ट प्रि–अर्डर गर्दा डबल मेमोरी र बड्स एफई निःशुल्क पाउने समेत बताइएको छ ।
कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा यो फोन खरिद गर्न पाउनेछन् ।
एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । यस्तै आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ ।
तर नेपालमा फोन कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया