महिलामा आङ खस्ने समस्याले सताइरहेको हुन्छ । यो गम्भीर समस्या भए पनि महिलाहरूले लाजका कारण यो रोगलाई लुकाइरहेका हुन्छन् । जसले गर्दा झनै जटिल समस्या उत्पन्न हुने गर्छ ।
आङ खस्ने समस्याले निकै सताएपछि मात्र महिलाले चिकित्सकलाई भेटेर यसबारेमा सल्लाह लिने गर्छन् । आङ खस्ने समस्या भनेको खासमा पाठेघर तल झर्नु हो । यो समस्या प्रजनन स्वास्थ्यसँग जोडिएको हुन्छ ।
तुलनात्मक रूपमा शहरमा बस्ने महिलाका तुलनामा पहाडी भेगमा बस्ने महिलाले यो समस्या बढी खेप्ने गरेको चिकित्सकहरू बताउँछन् । यसको कारण भनेको पहाडी भेगमा बस्ने महिलाले गह्रौँ काम गर्ने भएर हो ।
गर्भावस्थामा र सुत्केरीपश्चात् महिलाहरुले उचित स्याहार नपाउँदा र यस्तो समयमा धेरै जटिल कामहरु गर्दा र अन्य विविध कारणले पनि महिलामा यो समस्या देखिने गरेको छ
खासमा आङ खस्ने समस्या के हो, कसरी हुन्छ र यसमा कसरी सचेत रहन सकिन्छ भन्ने सन्दर्भका वरिपरि रहेर स्त्री रोग विशेषज्ञ डा.सुजाता खड्कासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
आङ खस्ने कस्तो समस्या हो ?
आङ खस्ने भनेको पाठेघर भित्रबाट बाहिर निस्कने पक्रिया हो । यो सँगसँगै पाठेघरकै कारण पिसाब थैली र दिसा नली पनि तल झरेको हुनसक्छ । आङ खस्ने समस्या हुनासाथ पिसाब थैली र दिसा नली पनि तल झरेको हुन्छ भन्ने नै चाहिँ हुँदैन तर अधिकांश महिलाहरुको पाठेघरसँगै पिसाब थैली र दिसानली पनि तल झरेको हुन्छ ।
आङ खस्ने समस्या हुनुको प्रमुख कारण के –के हुन् ?
यस्तो समस्या हुनुको मुख्य कारण भनेको बच्चा जन्माउँदा जन्मान्तर निकै कम राख्नु हो । एक सन्तान जन्माए पश्चात् एक वर्षको पनि अन्तर नराखी सन्तान जन्माउने प्रचलन छ । तर एउटा बच्चा भएपछि चार–पाँच वर्षको अन्तर राखेर मात्रै अर्को बच्चा जन्माउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।
साथै धेरै बच्चा जन्माउनु, पटक–पटक गर्भपतन गराउनु, गर्भवती तथा सुत्केरी समयमा भारी सामान बोक्नाले पनि यस्तो समस्या आउन सक्छ । विशेषगरी गाउँघरतिर घरमै सुत्केरी गराउने हुँदा लामो समयले व्यथा लाग्नु जस्ता कारणहरुले आङ खस्ने समस्या निम्त्याउँछ ।
यो समस्या रोकथामका लागि र हुन नदिन हामीले के–कस्ता उपायहरु उपनाउन सक्छौं ?
यस्तो समस्याबाट बच्न मुख्य कुरा भनेको गर्भवती अवस्थामा भारी सामान नउचाल्ने, सुत्केरीपछि कम्तीमा पनि तीन देखि पाँच महिना आराम गर्ने, पोषणयुक्त खाना खाने, सुत्केरीहुन अस्पताल नै जाने, कम्तीमा दुई वर्षको जन्मान्तरमा अर्को बच्चा जन्माउने जस्ता कुरालाई अपनाउन सकेको खण्डमा आङ अर्थात् पाठेघर खस्ने समस्या कम हुनसक्छ ।
यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?
यस्तो समस्या आउँदा पिसाब चुइराख्ने, योनीमा केही निस्केर बसेकोजस्तो महसूस हुने हुन्छ । यस्तै कतिपय अवस्थामा पिसाब फेर्न गाह्रो हुने र खोकी लाग्दा, हिँड्दा र पेटमा बल गर्दा पनि पिसाब चुहिने हुन्छ । यस्तै महिलामा ढाड दुख्ने समस्या पनि हुन्छ भने योनीबाट सेतो पानी बग्ने गर्छ । अझ कति महिलालाई त बसेर काम गर्न पनि निकै असहज हुने हुन्छ ।
यस्तो समस्या शहरको तुलनामा गाउँघरमा बस्ने महिलाहरुमा धेरै मात्रामा किन देखिन्छ ?
अवश्य पनि यस्तो समस्या शहरको तुलनामा गाउँघरका महिलाहरुमा धेरै मात्रामा देखा पर्दछ । किनभने शहरका महिलाहरुले शिक्षित हुनुका साथै स्वास्थ्य सावधानी पनि अपनाइरहेका हुन्छन् । सेवासुविधा पनि गाउँका महिलाहरुको तुलनामा पर्याप्त पाइरहेका हुन्छन् ।
तर, गाउँका महिलाहरु यस्तो समस्या भएपनि भन्न लजाउने, आफूभित्रै रोग पालेर बस्ने, दबाउने गर्छन् र पछि बुढेसकालमा छोराछोरीले थाहा पाएर उपचार गराउन लिएर आउनुहुन्छ । यसकारण पहिलो कारण त अशिक्षा, दोस्रो आफ्नो समस्या भन्न लजाउने, हिचकिचाउने स्वभावले पनि गाउँमा बस्ने महिलाहरुमा यो समस्या धेरै हुन्छ ।
त्यस्तै, उपयुक्त पोषण र घरमै लामो व्यथा लागुन्जेल राखेर सन्तान जन्माउने कारण पनि गाउँका महिलाहरुमा यो समस्या धेरै देखिन्छ ।
तपाईकाे उपचार अनुभवमा कुन उमेरसमूहका महिलाहरुमा यो समस्या बढी देखापर्छ ?
एक सन्तान जन्माएर दोस्रो, तेस्रो सन्तान जन्माउने सुत्केरी आमा अर्थात् पैतीस–चालीस कटेका महिलाहरुमा यस्तो समस्या लिएर आउने गर्नुहुन्छ ।
यो समस्यालाई भित्रै दबाएर बस्ने महिलाहरुमा के–कस्ता जटिलताहरु निम्तन सक्छ ?
यस्तो समस्याको कारण पाठेघरमा घाउ हुने, पिसाब थैली तल झर्ने, पिसाब चुहिने, पिसाब नहुने, दिसा गर्ने नहुने, दुख्ने, धेरै पीडा भएर हातले अड्काएर दिसा गर्नेुपर्ने अवस्था समेत सिर्जित हुनसक्छ ।
आङ खस्ने समस्या भएका महिलाहरुले अर्को सन्तान जन्माउन मिल्छ वा मिल्दैन ?
आङ खस्ने समस्या भएका महिलाहरुले अर्को सन्तान जन्माउनै नसक्ने वा नहुने भन्ने त होइन तर यस्तो अवस्थामा जोखिम भने पक्कै हुन्छ ।
के विवाहित र सुत्केरी महिलाहरुलाई मात्रै आङ खस्ने समस्या हुने हो ?
आङ खस्ने समस्या हरेक महिलाहरुलाई हुने सम्भावना रहन्छ । तर सुत्केरी महिलाहरु भने अझ बढी यसको जोखिममा हुन्छ । यसकारण महिलाहरुले महिनावारी, सुत्केरी र गर्भावस्थाको समयमा ठूलो भारी नबोक्ने, टाढाको यात्रा नगर्ने, पर्याप्त आराम गर्नु उपयुक्त हुन्छ ।
अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?
यस्तो समस्या हुनबाट बच्न सुत्केरी समयमा ध्यान दिनु अतिआवश्यक छ । पछि जीन्दगीभर उपचारमा लागिरहनुभन्दा समयमा आफू संयमित हुनु नै रोगको समाधान हो । यदि तपाईले गर्भावस्था र सत्केरीमा आफूलाई समय दिनुभयो र भारी कामहरु गर्नुभएन भने यो समस्याबाट पीडित हुनुपर्दैन । यस्तो कुराहरुमा परिवार र श्रीमान्ले पनि ध्यान दिन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया