काठमाडौँ – टर्कीका एक उच्च पदस्थ अधिकारीले अमेरिकी कम्पनीविरुद्ध सेन्सरशिपको आरोप लगाएका कारण टर्कीएका इन्स्टाग्राम प्रयोगकर्ताहरूले आइतबार पनि लगातार तेस्रो दिन सामाजिक सञ्जाल इन्स्टाग्राम अवरुद्ध भएको बताएका छन् ।
बिटिके सञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमार्फत शुक्रबार मेटाको स्वामित्वमा रहेको प्लेटफर्मलाई बिना कुनै स्पष्टीकरण अवरुद्ध गरिएको घोषणा गरेको हो । यसको सन्दर्भमा एक अधिकारीले ‘आपराधिक सामग्री’ सम्प्रेषण गर्ने कुनैपनि माध्यमलाई अवरुद्ध गर्न अनुमति दिने नियमलाई उल्लेख गरे ।
“हाम्रो देशको आफ्नै महत्व र संवेदनशीलता छ । हाम्रो चेतावनीका बावजुद पनि तिनीहरूले आपराधिक विषयवस्तुको सम्प्रेषणमा ख्याल गरेनन्,” यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शुक्रबार भने ।
“हामीले हाल इन्स्टाग्राम अवरुद्ध गरेका छौँ । जब उनीहरूले हाम्रो कानुनको पालना गर्छन्, हामी प्रतिबन्ध हटाउँछौँ ।” राष्ट्रपतिको सञ्चार निर्देशक फहार्टिन अल्तुनले बुधबार इन्स्टाग्रामले ‘मानिसहरूलाई हमास नेता इस्माइल हानियाको लागि शोक सन्देश प्रकाशित गर्नबाट रोकेको’ आरोप लगाएको हो ।
सामाजिक–लोकतान्त्रिक र राष्ट्रवादी विपक्षी दल र अङ्कारा कानुनी परिषद्ले अवरोध हटाउनका लागि शुक्रबार साँझ अदालतहरूमा मुद्दा दायर गरेका छन् । टर्की सञ्चारमाध्यमका अनुसार देशको आठ करोड ५० लाख मानिसमध्ये पाँच करोडको इन्स्टाग्राम अकाउन्ट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया