पछिल्लो पुस्तामा ट्याटु खोप्ने प्रचलन निकै बढ्दो छ । हामीमध्ये कयौँलाई ट्याटु बनाउने शौक नै छ । आफूलाई फेशनेबल र आधुनिक देखाउन हामी शरीरका कयौँ अङ्गमा ट्याटु खोप्छौँ ।
शरीरका देखिने भागदेखि गोप्य अङ्ग वरिपरिसमेत ट्याटु खोप्ने चलन बढेको छ ।तर तत्कालीन र दीर्घकालीन असर हेरेर मात्र ट्याटु खोपाउनु उपयुक्त हुन्छ ।
यसबारे राम्ररी बुझेर निर्णय लिँदा पछि पछुताउनुपर्ने स्थिति आउँदैन । आफ्नो अङ्गमा ट्याटु बनाउने विचारमा हुनुहुन्छ भने एक पटक सोच्नुहोस्।
ट्याटु बनाउने प्रक्रिया र यसले निम्त्याउने जोखिमका विषयमा एक पटक अध्ययन गरेर निधो गर्नुहोस्। एक अध्ययनमा के पत्ता लागेको छ भने ट्याटुले ब्लड क्यान्सरको जोखिम बढाउँछ । ट्याटुले गर्दा लिम्फोमा ब्लड क्यान्सर को २१ प्रतिशत जोखिम रहेको पाइएको छ ।
यसकारण ट्याटु खोप्दा यस्ता कुराहरूमा ध्यान दिनुहोस्
–ट्याटु बनाउँदा प्रोफेसनल पेशेवर ट्याटु आर्टिष्टकहाँ मात्रै गएर बनाउनुपर्छ ।
–ट्याटु बनाउँदा सरसफाइको धेरै ख्याल राख्ने ठाउँमा जानुहोस् । ट्याटुमा सधैँ राम्रो ब्रान्डको मसी प्रयोग भएको हुनुपर्छ । आफूमा कुनै गम्भीर रोग छ भने छाला विशेषज्ञसँग परामर्श लिएर मात्रै ट्याटु बनाउनुपर्छ ।
–ट्याटुले छालाको प्राकृतिक प्रक्रिया उल्लङ्घन गर्छ। अर्थात् छाला सङ्क्रमण र अन्य जटिलता उत्पन्न गराउन सक्छ ।
–एलर्जी प्रतिक्रियाहरू जस्तै यसमा प्रयोग गरिने रङ्गहरू रातो, हरियो, पहेँलो र नीला रङ्गले शरीरमा एलर्जी गराउन सक्छ ।
–ट्याटुले रक्तचापसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ ।
–हेपाटाइटिस बी र सी को जोखिम पनि उत्तिकै रहन्छ ।
–शरीरमा मुसा भएको स्थानमा ट्याटु बनाउँदा अन्त पनि सर्न पनि सक्छ ।
ट्याटु खोपाउनुभन्दा पहिले राम्ररी विचार गर्नुहोस् । यसबारे राम्ररी जानकारी लिएर मात्र ट्याटु खोपाउने विषय निश्चित गर्नुहोस् । किनकि ट्याटु बनाउँदा थोरै समय लाग्छ तर यदि हटाउन खोजियो भने ६ महिनासम्म पनि लाग्न सक्छ ।
ट्याटुका लागि शरीरको उपयुक्त स्थान सावधानीपूर्वक छनोट गर्नुहोस् । सबैले देख्ने ठाउँमा बनाउने कि कपडाले छोप्ने ठाउँमा ? साथै तपाईँको तौल बढेको अवस्थामा कतिपय भागमा बनाइएका ट्याटुको आकार परिवर्तन भएर नराम्रो देखीनसक्छ । यसकारण समयमै सावधानी अपनाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया