कतिपय अवस्थामा हाम्रो नाकबाट अनायासै रगत बग्ने गर्दछ । प्रायजसो गर्मी महिनामा यो समस्या अझ बढी मात्रामा देखिने गर्छ ।
तथ्याङ्क हेर्ने हो भने ६० प्रतिशत मानिसले आफ्नो जीवनकालमा नाकबाट रगत बग्ने समस्या भोगेका हुन्छन् । नाक बग्ने समस्यालाई हामी सामान्य रूपमा लिन्छौ ।
तर नाकबाट रगत बगेको केही समयमा रोकिएन भने अवस्था गम्भीर हुनसक्छ । यसकारण नाकबाट रगत निरन्तर बगेमा वा धेरै पटक यस्तो समस्या दोहोरिएमा अस्पताल जानुपर्दछ ।
किन हुन्छ यस्तो समस्या ?
नाकको माथिल्लो भागमुनि सेप्टम नामक कुरकुरे हड्डी हुन्छ । त्यो हड्डीको अगाडिपट्टि पाँच वटा रगतको नसा गुजुल्टिएर बसेको हुन्छ । यस्ता नसा संवेदनशील हुनुका साथै पातलो झिल्लीले ढाकिएको हुन्छ ।
कुनै कारणवश यस्ता झिल्ली फाटेर नसामा क्षति भएमा फुटेर रगत आउँछ । नाकबाट रगत आउने कारण सामान्यदेखि गम्भीर हुनसक्छ । बच्चाहरूमा धेरै नाक कोट्याउने बानी हुन्छ ।
नाक कोट्याउँदा नसामा घोचेमा नसा फुटेर रगत बग्न सक्छ । त्यस्तै, कतै लड्दा वा सडक दुर्घटनामा पर्दा कुरकुर हड्डीमा प्वाल पर्दा पनि रगत आउँछ । साथै सिँगान फाल्न बल लगाएर सीँ सीँ गर्दा पनि थेग्न नसक्ने दबाब परी नसा फुटेर रगत आउँछ । सङ्क्रमण र पिनास, एलर्जीका कारण रुघाखोकी बढी लाग्ने गर्छ ।
यस्तोमा नाक पनि टालिन्छ । जबरजस्ती सिँगान तान्न वा फाल्न खोज्दा रगतको नसामा असर गरी रगत बग्न सक्छ । मौसम परिवर्तन र जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम सुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ । यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ ।
विशेषगरी गर्मी मौसम यस्तो समस्या हुनुको कारण भनेको गर्मी याममा तातो हावा बहन्छ । यसले पनि नाकका रक्तनलीलाई सुक्खा पार्छ ।
नाक सुक्खा भइरहँदा त्यहाँका कोशिकाहरू फुट्न सक्छ । यी बाहेक नाकको कुरकुरे हड्डी बाङ्गिएर, क्यान्सरका कारण नाकभित्र मासु पलाउनु, अत्यधिक उचाइमा जाँदा पनि वातावरणमा परिवर्तन भई नाकले सहन नसकेर रगत आउँछ ।
नाकबाट रगत आउन नदिन के गर्ने त ?
– बालबालिकालाई नाकमा औँला राख्न दिनु हुँदैन भनेर सिकाउने, शिशुलाई पन्जा लगाइदिने गर्नुपर्छ । यसो गर्दा आँखा तथा नाकसम्म औँला पुग्न पाउँदैन ।
– सङ्क्रमणबाट बच्न बाहिर मास्क लगाएर मात्र हिंड्डुल गर्नुपर्छ ।
– बच्चाको सिँगानको रङ र गन्धमा ध्यान दिनुपर्छ । असामान्य खालको परिवर्तन आए चिकित्सकलाई देखाउनुपर्छ ।
– जथाभाबी दुखाइको औषधि खान हुँदैन ।
– बल गरेर सिँगान फाल्ने काम गर्नुहुँदैन ।
यी कुराहरूमा ध्यान दिनुभयो भने तपाई नाकबाट रगत आउने समस्याबाट बच्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया