पाँचथरमा जन्मिएर मोरङमा बस्दै आएकी कवि एवं आख्यानकार बादल चाम्लिङले नेपाली साहित्य फाँटमा आफूलाई कवि र आख्यानकारका रुपमा स्थापित गरेकी छिन् । उनका दुई कवितासङ्ग्रहहरु पाठेघर (२०७४) र वीर्य जमिन (२०७६) प्रकाशित छन् ।
उनको पहिलो कथासङ्ग्रह चेकेदेम (राजारानीको दरबार) हालैमात्र प्रकाशित भएको छ । कथाहरुमा ऐतिहासिक, मौलिक, प्राकृतिक र पुरातात्विक सुगन्ध मिसिएका छन् । शिखा बुक्सले प्रकाशन गरेको सङ्ग्रहमा २४ वटा कथा छन् ।
उनै कवि एवम् आख्यानकार बादल चाम्लिङसँग उनको नयाँ कृति, साहित्यमा आउने उनका विषयवस्तुहरु, साहित्यिक सिर्जना यात्राका बारेमा जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
कविताबाट आख्यानतिर मोडिनु भएको छ । यसमा खास कारण के छ ?
कविता र आख्यान दुवै लेखन नै हुन् । शुरुको समयमा कविता लेखनमा जोखिम कम हुने भन्ने बुझाइ हामीसँग छ, त्यसैकारण होला म कविता लेखनमा तानिएछु । तर, मेरा केही कविताहरू (शुरुका समयका नै) पाठक, अनुज, अग्रजहरूले राम्ररी लिइदिनु भयो । कवितामा केही अभ्यास गरिसकेपछि ‘अब अर्को के ?’ भन्ने प्रश्न अगाडि आएर उभिँदो रहेछ । यसै व्रmममा ‘चेकेदेम राजारानीको दरबार’ तयार भएको हो ।
कविता र आख्यानभध्ये कुन विधामा सहजता महसूस गर्नुभयो ?
विधाका हिसाबले कविता र आख्यान फरक हुन् । तर दुवैले अभिव्यक्ति माग्ने हुनाले खास भिन्नता हुने कुरा अलि कम हुन्छ होला । तर यिनीहरूको विशेषता फरक हुने भएकोले दुवै विधाले लेखकलाई सतर्क बनाउँछ । मचाहिँ दुवै विधाको सम्मान गर्छु । विशेषता अनुसार दुवैमा सहज हुन कोशिश गर्दैछु ।
कथासङ्ग्रह ‘चेकेदेम राजारानीको दरबार’ मार्फत तपाईँले मुल रुपमा कस्तो मुद्दा उठान गर्न खोज्नुभएको छ ?
यो कथासङ्ग्रह ‘चेकेदेम राजारानीको दरबार’ मा ‘चेकेदेम राजारानीको दरबार’ शीर्ष कथा हो । यो कथाको उत्पत्ति थलो मेरो जन्मस्थान साविक यासोक–९, पाँचथर, अहिले कुम्मायक गाउँपालिका–१ पाँचथर पर्दछ । गाउँको शिरमा ठूलो भिर छ । भिरका बीचमा ठूला–ठूला ढुङ्गाहरूबाट बनेको ठूलो गुफा छ । यो गुफालाई हामी ‘रानीभिरको गुफा’ भन्छौँ । यो गुफानेर पुग्न पनि बाटो त्यति सजिलो छैन । कोही पुग्यो भने पनि गुफाको मुखबाट थोरै मिटर भित्र पसेपनि अघि बढ्न सकिन्न ।
यो गुफाबारे थोरैतिनो (सानो छँदा) सुनेकी थिएँ । यसलाई जनमानसमा जीवित राख्नुपर्छ भन्ने लागेपछि यहि ठाउँमा जन्मिएर हुर्कनु भएको, र वर्तमान अवस्थामा निक्कै पाको हुनुभएका अग्रजहरूसमक्ष पुगेर सामाग्री तयार गरेँ । अनि पो थाहा भो कि यो गुफाको नाम त खासमा ‘चेकेदेम राजारानीको दरबार’ रहेछ । वि.सं. २०१८ सम्म पनि यहि नामले गुफालाई सम्बोधन हुने गरेको र यसपछि भने ‘रानीभिरको गुफा’ भन्न थालिएको रहेछ ।
यो कथामा उल्लेख भएको परिवेश र पात्रहरूले यस गुफालाई केन्द्रविन्दु बनाएर वरपर दश/पन्ध्र किलोमिटर भू–भागलाई समेटेको, पूर्वमा भारतको नागाल्याण्डसम्म र यता उत्तरपश्चिममा तेह्रथुम म्याङलुङको सोल्मा पनि जोडिएको रहेछ । कतिपय सन्दर्भ रहस्यमय लाग्ने, कतिपय भने यथार्थ जस्तै लाग्ने । थप अर्को के भने गाउसँग सम्बन्धित हराउन लागेका इतिहास पनि थाहा हुन आएको छ । जुन कुराहरु पहिले जानकारीमा थिएनन् । अन्य कथाहरूको परिवेश पनि गाउँघर, परम्परा, जीवनशैली, प्रकृति र मानिसबिचको सम्बन्ध आदि नै रहेका छन् । जन्मस्थलमा रहेको पुरात्वात्विक, पौराणिक महत्वको कथा वा किम्बदन्ती जो हराउनै लागेको थियो, ती सबैलाई आउँदो पुस्तासम्म हस्तान्तरण गर्न सकूँ भन्ने यो मेरो सानो प्रयास हो ।
कविता सङ्ग्रह ‘पाठेघर’ र ‘बीर्य जमिन’ मा तपाईँले लैङ्खिक, मानवीय तथा समाजशास्त्रीय चिन्तनलाई गहन रुपमा व्यक्त गर्नुभएको छ । आख्यानमा पनि त्यहि चिन्तन पाठकले पाउलान् ?
हजुर, कवितासङ्ग्रहहरू ‘पाठेघर’ (२०७४), ‘बीर्य जमिन’ (२०७६) मा प्रकृति, सृष्टि, समाजका मौलिक पक्ष, सामाजिक न्याय आदि विषय रहेका छन् । यी सङ्ग्रहहरूबाट जुन जुन कविताहरू बढी बाहिर आए, ती कविताहरूले आफ्नो स्थान फरक बनाएर रहे÷रहिरहेका छन् । बाँकी कविताहरू पनि सामान्यत स्वस्थ्य नै छन् । ‘चेकेदेम राजारानीको दरबार’ बारे माथि उल्लेख गरेको छु । पाठकहरूलाई यहि जानकारी तथा अनुरोध गर्न चाहन्छु ।
साहित्य सिर्जनालाई कुन रुपमा हेर्नुहुन्छ ? तपाईँको विचारमा साहित्यले समकालीन मुद्दालाई बोक्नुपर्छ कि पर्दैन ?
समय, भूगोल, रीति र अवस्था अनुसार साहित्यले आवश्यकीय परिणाममुखी भूमिका खेल्दै आएको कुरा समाज, राष्ट्र र विश्व परिवेशका घटनाबाट प्रष्ट नै छ । यसले न्यायिक समाजको वकालत गर्दछ । नयाँ आविष्कारका सीप, ज्ञानको खोजका लागि तत्परता प्रदान गर्दछ ।
साहित्यले समकालीन मुद्दालाई बोक्नुपर्दछ । यसका साथै उत्पत्ति वा प्रभाव र दूरदर्शी दृष्टि पनि उसरी नै आवश्यक छ । मेरा दुई कवितासङ्ग्रहहरू ‘पाठेघर‘ र ‘बीर्य जमिन’ ले आफ्नो ठाउँबाट यी मुद्दाबारे बोलेकै छन् ।
तपाईँ आफ्नो शिक्षण पेशासँगै राजधानी बाहिर बसेर निरन्तर साहित्य सिर्जना गरिरहनुभएको छ । राजधानीभित्र बस्ने साहित्य जमातले तपाईँजस्तो स्रष्टालाई कसरी हेरिरहेको छ जस्तो लाग्छ ?
समाज सैयौँ अवयवहरूको समग्र रुप हो । यसमध्ये साहित्य एक हो । साहित्य क्षेत्रलाई सानो समाज(मिनि सोसाइटी)को रुपमा पनि लिन सकिन्छ । जमीन एकै भएपछि ठाउँ–विशेष भन्ने तर्कलाई यसरी पनि हेर्न सकिन्छ कि सबै दृष्टिकोणले राजधानी केन्द्र हो । जो सीप, स्रोतसाधनले सम्पन्न वा सक्षम छ, उसले निर्वाह गर्नुपर्ने दायित्व पनि अन्यको तुलनामा बढी नै हुनुपर्छ । हामी अभ्यासका क्रममा छौँ । राम्रै भइरहेको छ, भोलि अझ राम्रो हुँदै जानेछ ।
अर्को कुरा, अहिले राज्य सत्ता सञ्चालनमा विकेन्द्रीकरणको अवधारणा लागू भइसकेको छ । यसको प्रभाव सबै क्षेत्रमा पर्दछ । यो पनि अभ्यासकै क्रममा छ । तपाईंको प्रश्नमा सीमित रहँदा यसो भनौँ, राजधानी र मोफसल यी दुवै सत्य हुन् । कुनै एकको अभावमा दोस्रोले आफू पूर्ण नभएको आभास गर्न सक्छ ।
तपाईँकै अनुभवको आधारमा भन्दा महिला स्रष्टा हुनुमा आफैंमा कति सहजता र कठिनाइहरू छन् ?
कठिनाइ र असहजता नभएको ठाउँ हुँदैन । यो सबै पक्षमा लागू हुन्छ । कृपया यसमा यति नै बोलौँ होला ।
साहित्य सृजनामा अबको तपाईँको योजना के कस्ता छन् ? आम साहित्यकर्मी, साहित्यप्रेमी र पाठक वर्गलाई के भन्न चाहनुहुन्छ ?
भर्खर मात्र ‘चेकेदेम राजारानीको दरबार’को विधिवत लोकार्पण भएको छ । आगे बिस्तारै केही सोच्नुपर्छ होला । उहाँहरू सबैमा भन्छु, ‘आ–आफ्नो स्थानबाट हामी साहित्यको सेवक बन्न सकौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया