मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुरुदेव कामतले काठमाडौँ छाड्नुअघि भनेका थिए, ‘यहाँ बसेर इलाज गराउन सक्दिनँ’

शास्त्रीय सङ्गीतका मूर्धन्य साधक गुरुदेव कामत जो बाँच्न चाहँदा चाहँदै  अस्ताए

काठमाडौँ– शास्त्रीय संगीतकार गुरुदेव कामतले ६९ वर्षको उमेरमा बिहीवार बिहानै संसार छोडे । आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा उनको निधन भएको हो ।

गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो । मिर्गौलाको उपचारकै क्रममा आर्थिक समस्या भएपछि काठमाडौँमा बस्दै आएका उनी असार २९ गते मात्र जन्मथलो फर्केका थिए ।

काठमाडौँ छोड्नुअघि असार २८ गते उनले निकै भावुक रुपमा सामाजिक सञ्जालमा लेखेका थिए, ‘नमस्ते प्रियजनहरु भोलि गाउँ जाँदैछु । काठमाण्डुमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलायसिस गराउँछु । यहाँ अब शारीरिक, मानसिक र आर्थिक एकदमै कमजोर भएर भोलि जाँदैछु । अब किड्नी प्रत्यारोपनको बेला आउँछु ।’

उनले त्यसैमा सबै आफ्ना शिष्य तथा प्रियजनहरुलाई आफूले शास्त्रीय धुन सिकाउने ‘गुरुकुल सङ्गीत पाठशाला चारखाल’ मा काठमाडौँ छोड्नअघि भेट्न आउन आग्रह गरेका थिए ।

सङ्गीतमै जीवन अर्पण गरेका एकजना साधकले आर्थिक अभावकै कारण उपचार गर्न नसक्ने पीडालाई पोखिरहँदा यता सत्तासीनहरुको गरमागरम बहस चलिरहेको थियो ।

गुरुदेव कामतको जस्तै मिर्गौला खराबीकै समस्याबाट भुक्तभोगी केपी शर्मा ओली ठ्याक्कै त्यही समयमा चौथो पटक देशको प्रधानमन्त्री बन्ने भागदौडमा व्यस्त थिए ।

नभन्दै अभावको खाडलमा लड्दै कामतले काठमाडौँ छोडेको अर्को दिन ओली देशको प्रधानमन्त्री पदमा नियुक्त भए ।

त्यसपछि देशमा ओलीको शासन र सत्ता चल्यो । तर, कामतको संसार ढल्यो । त्यसो त आफूलाई साहत्यिक तथा सङ्गीतप्रेमी बताउने ओलीले केही दिनअघि मात्र निधन भएको लोक गायक एलपी जोशीप्रति सामाजिक सञ्जालमै समवेदना प्रकट गरेका थिए ।

शास्त्रीय सङ्गीतका साधक कामत र उनको पछिल्लो अवस्थाबारे उनले कुनै पनि धारणा राखेका छैनन् । दुई दुई पटक मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको नेतृत्वकै सरकार चलेकै समयमा त्यही समस्यामा उपचार अभावमा कामतले मृत्यु अङ्गाल्नुपर्ने कला सर्जकका लागि कस्तो विडम्बना !

जसले जीवनका जोशिला यौवनकाल सङ्गीत साधनामै लगाए र शास्त्रीय सङ्गीतलाई कालजयी बनाए, तिनैको जीवनको अन्त्यलाई सत्ताले अभावसँगै जोडिदियो ।

जीवनको आखिरी क्षणमा उपचार अभावकै कारण मृत्यु हुने सर्जकको संख्याको सूचीमा कामतको अर्को नाम थपियो ।   

शास्त्रीय सङ्गीतमा नेपालमा मात्र नभएर भारतमा समेत प्रसिद्धि कमाएका कामतलाई सायद सङ्गीत क्षेत्र र राज्यले नै केही गरिदिएमा बाँच्छु कि भन्ने आशा थियो । होइन भने काठमाडौँ छोड्नुअघि मिर्गौला प्रत्यारोपणको बेला आउँछु भनेर उनले वाचा गर्ने थिएनन् होला ।

दुवै मिर्गौलाले काम नगरेपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै थियो । आर्थिक अभाव नै परेपछि ‘नेपाल शास्त्रीय सङ्गीत समाज’ले आर्थिक सहयोगका विज्ञप्ति समेत निकालेर अपील गरेको थियो । यद्यपि आर्थिक अभावको समस्या नटरेपछि कामतले चार दशकदेखि बस्दै आएको शहरलाई छोडे ।

शहर र चारखालस्थित ‘गुरुकुल सङ्गीत पाठशाला’ छोड्दै गर्दा उनको मनले देश र शासनसत्तामा रहेकाहरुप्रति कस्तो मनोभावना राखे होलान्, त्यो पीडादायी क्षणलाई सहजै अनुमान लगाउन सकिन्छ ।

तबला र हार्मोनियममा त उनले काठमाडौँलाई सुमधुर र सुरमय बनाए । तर, त्यसको बदलामा यही काठमाडौँले उनको जीवनलाई बेसुरा र बेतालमा छोडिदियो । जीवन नै सङ्गीतमा समर्पित गरेका सङ्गीत साधक कामतले शास्त्रीय सङ्गीतको सुर र तालमा काठमाडौँमै सयौंलाई जन्म दिए ।

शहरमै उनले जन्माएका शिष्यहरु उनकै सुर र तालको लयमा बाँचिरहेका छन् । ती बाँचिरहेकाहरुले पनि शास्त्रीय सङ्गीतको गर्व गुरुदेवलाई बचाउने प्रयत्न गरेनन् । शास्त्रीय सङ्गीत र गुरुदेव कामत शास्त्रीय सङ्गीतका पर्याय हुन् ।

अभावको खडेरीमा कामत ढल्नु शास्त्रीय सङ्गीत उठ्नु पक्कै होइन । भलै अभागको पीडा उनले भोगे तर दुखाइ त समग्र सङ्गीत क्षेत्रलाई पनि हुनुपर्ने हो ।

कला साधनामा लागेका सच्चा सर्जकहरुको अन्त्य यसरी नै हुन्छ र हुनेछन् भन्ने कटु यथार्थतालाई कामतको दुःखदायी महाप्रस्थानले देखाएको छ । जन्मथलोस्थित लहानमै ‘ओम साई पाथीभरा अस्पताल’मा डायलायसिस शुरु गरेका उनले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिइरहेका थिए ।

आर्थिक अभावले काठमाडौँबाट लखेटिएका उनी आफूले कमाएको शुभचिन्तकहरुबाट सुभेच्छा र आशिर्वाद भए पनि चाहन्थे । आज उनको पार्थिव शरीर मात्र थाती रहँदा सिङ्गो सङ्गीत जमातले नै शोक मनाइरहेका छन् ।

शास्त्रीय सङ्गीतप्रति उनको योगदान र समर्पणलाई मुक्तकण्ठले प्रशंसा गर्दै उनीप्रति समवेदना प्रकट गर्नेहरुको ठूलो भिड छ ।

‘त्यही भिड उनको अभावमा किन अनुपस्थित थियो ? बाँचर अझै सङ्गीतको सेवा गर्न चाहने कामतले परिवार र कुम्लो कुटुरो बोकेर शहर छोड्दै गर्दा त्यो भिडले उनलाई किन रोक्न सकेन ?’

राज्य मात्र नभएर समग्र सङ्गीत क्षेत्रले यी यावत प्रश्नहरुको जवाफ खोज्न सकेमा मात्र सच्चा सङ्गीत सर्जकहरुको सम्मान हुन सक्छ । होइन भने अभावमै संसार छोड्नेमा कामत नै अन्तिम सर्जक नहुन सक्छ ।

कला साधना मात्र भनेर जीवन अर्पण गरेका हर कलाका सर्जकहरुको आखिरी क्षण दुःखान्तमै पूर्णविराम लाग्न सक्छ । उनको मृत्युको सत्यतालाई देश र समग्र कला क्षेत्रले केवल मृत्यु मात्र नठानी कला साधना र साधकलाई सत्ताले हेर्ने दृष्टिकोणतिर पनि बोध गर्न जरुरी छ । अब कुनै पनि कला सर्जकले अभावै अभावैमा आफ्नो मृत्युको प्रतीक्षा नगरोस् भन्ने कामना र अपेक्षा बाँचेकाहरुले गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?