काठमाडौँ – काठमाडौँ महानगरपालिका अन्तर्गत नदी तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ ।
महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे सचेत गराएका हुन् । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको भन्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न अनुमति मिल्ने छैन ।’
काठमाडौँमा बाढीले तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि उनले काठमाडौँका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने प्रष्ट पारेका हुन् । बालेनले मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनी समेत दिएका छन् ।
काठमाडौँ उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर र अन्य खोला किनाराको कम्तीमा चारदेखि १२ मिटरभित्रको जग्गालाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
मेयर बालेनले सर्वोच्च अदालतले थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालै कार्यान्वयन गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया