काठमाडौँ– झण्डै ढेड/दुई शताब्दी अघिको राप्छा गाउँमा खालिङभाषी समुदायका तालुकदार सुजम्बर राई कस्ता थिए होलान् ?
उनको जिउडाल, स्वभाव र बोलीको लवज कस्तो थियो होला ? त्यसलाई ठ्याक्कै यो समयमा आफूले उतार्नुपर्ने भएपछि रङ्गकर्मी सौजन लिम्बुको आङ नै जिरिङ्ग भएको थियो ।
सुजम्बर आफैंमा एक ऐतिहासिक व्यक्ति हुन् । उनीसँग खालिङबासी र तिनले भोगेको ‘मेषी दण्ड’को अँध्यारो पाटो थियो । जसलाई इतिहासको मूलधारमा ओझेल पारेर राखियो ।
तत्कालीन नेपाल–तिब्बत युद्धको समयमा नाङपाला नाका हुँदै हालको सोलुखुम्बु जिल्लाको राप्छा गाउँमा आइपुगेका श्री ३ को फौजको मुख्तियारले युद्धमा सघाउने उर्दी जारी गर्दै गर्दा खस नेपाली भाषा नजानेकै कारण खालिङभाषीहरुले ‘हो, हजुर’को अर्थमा ‘मेषी माका’ भने ।
भाषा नजानेकै कारण खालिङहरुले श्री ३ लाई दण्ड तिर्नुपर्ने भयो । भाषा जानेमा दण्ड तिर्नु नपर्ला कि भनेर सुजम्बरले नेपाली भाषी बोल्ने समुदायलाई नै राप्छामा भित्राए ।
त्यसपछि खालिङबासीसँगै सुजम्बरले भोगेको पीडा र उनको दुखान्त कथा नाटक ‘मेषी दण्ड’मा छ । नाटकको मुख्य कथा बोकेका तिनै सुजम्बरलाई यतिबेला मण्डला थिएटरमा जारी नाटक ‘मेषी दण्ड’मा रङ्गकर्मी सौजनमा देखिन्छ ।
नाटकमा सुजम्बरको भूमिकालाई जीवन्त रुपमा उतार्ने जमर्को गरेका सौजन अहिले पनि एक किसिमको भय महसूस गरिरहेका छन् । भन्छन्, ‘नाटकको विषय र मुद्दा एकदमै ठूलो छ ।
त्यसकारण यो नाटकको विषयमा मेरो चेतनाको लेभल मिल्छ कि मिल्दैन भन्ने कुराले नै मलाई डर लागेको थियो । मञ्च बाहिर निस्केपछि अहिले पनि डरै लाग्छ ।’
खासमा नाटकको शुरुवातमा सुजम्बरको भूमिकामा अर्कै कलाकार तय भएको थियो । सौजन भने नाटककै अर्का पात्र शिरिषलालको भूमिकामा थिए । केही कारणबस सुजम्बरको भूमिकामा रहेका कलाकारले छोडेपछि सौजनको प्रवेश भएको थियो ।
नाटकका निर्देशक अनिल सुब्बा र लेखक गीलु रातोस लगायत टिमले उक्त पात्रबारे प्रस्ताव राख्दा उनले शुरुमै स्वीकार त गरे, तर कसरी भूमिका निर्वाह गर्ने भन्ने कुराले उनको मन पिरोलियो ।
आधा दशकभन्दा लामो रङ्गमञ्चिय यात्रामा ठूलो टिम र पोडक्सनमा मुख्य भूमिकाका उनले पहिलोपल्ट अवसर पाउँदै थिए । पात्रका लागि निश्चित भएपछि उनले यतिधेरै मेहनत गरे कि, जुन उनको रङ्गमञ्चीय यात्रामा सबैभन्दा कठिन पल बन्यो ।
ढेड/दुई शताब्दी अघिको राप्छाबासीको अवस्था, मानव सभ्यता, संस्कृति, भाषा, शैली, संरचना, मानवीय स्वरुप, शारीरिक लय र मानसिक अवस्थासम्मलाई बुझ्न उनले समाजशास्त्र, मानवशास्त्र, भाषा, विज्ञान, मनोविज्ञान सबै पक्षलाई खोतल्ने काम गरे ।
उनी आफैं मानवशास्त्रका विद्यार्थी (हाल त्रिचन्द्र कलेजमा स्नातकोत्तर अध्ययनरत) भएकाले यी सबै कुराहरु खोतल्न केही सहजता भयो । सबै खोज, अध्ययन, अनुसन्धान भएपछि त्यसलाई उनले आफ्नो शरीरको लय, बोलिने भाषा र लवजमा उतार्न ठूलै कष्ट गरे ।
नाटकका लागि दिनभरी रिहर्सल सकेर राति अबेरै घर पुग्दासमेत उनलाई सुजम्बर पात्रको ह्याङ्गओभर हुन्थ्यो । र, अझै भइरहेको छ । ‘सुजम्बर पात्रका लागि के म फिट छु र ? मैले सुजम्बर बनेर पात्रलाई न्याय गर्न सकेँ कि सकिँन होला ?’ भन्ने प्रश्न उनी आफैंलाई बारम्बार गरिरहन्छन् ।
नाटकको स्क्रिप्ट पढ्दाखेरी नै राप्छा गाउँमा तालुकदारीको रुपमा रहेका सुजम्बरको अन्त्यसम्मको कथाले नै उनलाई भावुक बनाएको थियो ।
इतिहाससँग जोडिएको त्यस्ता पात्रको रुपमा आफूलाई मञ्चमा उभ्याउनु साँच्चिकै उनका लागि ठूलो चुनौती थियो । यस मानेमा यस नाटक उनका लागि आफैंतिर फर्केर आफैंलाई खोज्ने महत्वपूर्ण सिकाइ बन्यो ।
आदिवासी समुदायमा उनीजस्तै समकालीन पुस्तालाई उनी अग्रज र अनुजभन्दा बीचको पुस्ताका रुपमा लिन्छन् । उनका अनुसार उनी जस्ता पुस्तालाई विश्वविद्यालयको प्रमाणपत्रले दिने ज्ञान भए पनि मौलिकतालाई खोज्ने र पस्कने जोश, जाँगर छैन भनेर अग्रज पुस्ताको आरोप छ ।
त्यही भाष्यलाई तोड्दै युवा पुस्तामा पनि आफ्नो इतिहास, मौलिकता र भूगोललाई खोतल्ने साहस छ भनेर प्रमाणित गर्न पनि नाटक ‘मेषी दण्ड’ आफ्नो लागि मात्र नभएर सिङ्गो नाटक टोलीका लागि परीक्षाको रुपमा रहेको सौजन सुनाउँछन् ।
उनी थप्छन्, ‘यो नाटक अरु जस्तो सजिलो थिएन । यही नाटकबाट हामी जस्ता जेनेरेसनलाई प्रमाणित गर्न पनि निकै चुनौती थियो ।’
नाटकको रिहर्सल (अभ्यास) को दौरानमा उनी बिहान पाँचै बजे उठेर सुजम्बरको भूमिका निर्वाहका लागि तयार हुन्थे । सुजम्बरको हिँडाइ, बोलाइ र शारीरिक हाउभाउलाई उतार्न उनी लागि पर्थे । बिहान पाँच बजेदेखि १० बजे निरन्तर अभ्यासपछि पुनः उनी रिसर्हलका लागि मण्डला आइपुग्थे ।
राति १० बजेसम्म फेरि उही क्रम जारी रहन्थ्यो ।
सौजनलाई लाग्छ, सुजम्बर जस्ता पात्रहरुमा बाँच्न पाउनु आफैंप्रतिको मूल्याकनको प्रक्रिया हो । विगत छ/सात वर्षको दौरानमा ‘म पनि,’ ‘तीनकुने,’ ‘अर्को अर्थ नलागेमा,’ ‘तारा बाजी लैलै,’ ‘सेमुना,’ ‘भवचक्र,’ ‘गत्छामी,’ ‘माक्र्स फर्किए,’ ‘ब्युझिँएकाे सिरानी,’ ‘पद्मसंभव,’ ‘बुद्ध र भिकारी’ जस्ता दर्जनभन्दा बढी नाटकहरुमा उनले विभिन्न पात्रहरुको चरित्र निर्वाह गरेका छन् ।
ती सबै पात्रहरुमा आफू केही न केही अंशमा बाँचिरहको उनी सुनाउँछन् ।
उनकै भनाइको आधारमा रङ्गमञ्चको यात्रा धेरै लामो नभएपनि जति बिताए, त्यसमा आफूले मान्छे भएर जिउनुपर्ने पाठ उनले सिकेका छन् । भन्छन्, ‘नाटकमा खेलिने क्यारेक्टरहरुमा म आफैं नै नभए पनि समाजका कोही न कोही त थिए ।
ती कोहीमध्येले भोग्ने कुराहरु केही त ममा पनि लागू हुन्छ । मेरो लागि रङ्गमञ्च जीवन सिकाइ र आफैंलाई जज गर्ने र फिल गर्ने आधार हो ।’
तेह्रथुमस्थित लालीगुराँग नगरपालिकामा गणेशकुमार लिम्बु र राममाया केप्छाकी मगरको दुई भाइ छोराहरुमध्ये कान्छो सन्तानका रुपमा २०५५ साल कार्तिक २४ गते जन्मिएका सौजनलाई अभिनय, रङ्गमञ्च र नाटकबारे धेरैथोर थाहा थियो ।
अध्ययनकै लागि काठमाडौँ पसेका उनले रत्न राज्य लक्ष्मी क्यासम्पसमा रङ्गकर्मी आशान्त शर्मालाई भेटे ।
आशान्तलाई भेटेपछि रङ्गमञ्चबारे अझ प्रस्ट भएका उनी २०७६ सालमा ‘ज्ञ’ थिएटरमा अग्रज रङ्गकर्मी सुनिल पोखरेलको चेलाका रुपमा १३ औं ब्याचका विद्यार्थी बने ।
फिल्महरु धेरै हेर्ने उनका लागि शुरुवात समयमा रङ्गमञ्चप्रतिको आकर्षण फिल्मकै ग्ल्यामर थियो । ‘ज्ञ’ थिएटरमा भर्ना भएको एक/डेढ महिनापछि नै उनमा रङ्गमञ्चप्रतिको बुझाइमा परिवर्तन आयो । उनका अनुसार थिएटर, नाटक एउटा अभिनय मात्र नभएर मान्छेलाई जीवनलाई महसूस गर्न सिकाउने थलो हो ।
थोरै बोल्ने लजालु स्वभावका उनलाई थिएटरको मञ्चमा नै आफूमा शक्ति आएको महसूस हुन्छ । आफूले व्यक्त गर्न नसकिएका कतिपय कुराहरु विभिन्न पात्रकै माध्यममा अभिव्यक्त गरिने उनको अनुभव छ ।
चाहे थिएटर होस् या घरको कोठामा उनका स्वरहरु उनी आफैंमा भन्दा पनि विभिन्न पात्रहरुमा उँचो हुन्छ । चक्रपथस्थित गंगागाल अस्पताल पछाडिको बस्तीको टोलछिमेकमा उनको त्यही आवाज र स्वरहरु परिचित छन् । शुरुवाती समयमा झर्को मान्ने छिमेकीहरुलाई अहिले उनले नाटकघरमा आउने बनाएका छन् ।
‘भोइस र स्पिचको प्राक्टिसको लागि म ठूलो स्वरले बोलिरहँदा नाटक खेल्ने भाइ छन् भनेर सबैले चित्त बुझाएका छन् । शुरुमा कम्प्लेन गर्नुभएको थियो र उहाँहरुलाई मेरो नाटक नै देखाएपछि अहिले केही भन्नुहुन्न,’ उनले हाँस्दै सुनाए ।
नाटकले युवापुस्तालाई जीवन सिकाए पनि यसैमा दिगोपनको बाटो भने नभएको उनको दुःखेसो छ । नाटक गरेर जीवन निर्वाह गर्छु भन्ने आँट गर्न अझै युवाहरुले सकेका छैनन् ।
नाटकलाई ललितकला, सङ्गीत, नृत्य जस्ता कलाका विधाहरु जस्तै शिक्षासँग जोडेर अगाडि लैजान सकेमा यसमा दिगोपनाको सम्भावना उनी देख्छन् । विश्वविद्यालयहरुमा पाठ्यक्रममा आधारित रहेर नाटक अध्ययन, अध्यापन हुन सकेमा यसैमा रोजगारीका अवसरहरु समेत पाइने उनको ठम्याइँ छ ।
भोलिको दिन के हुन्छ भन्ने कुरामा त उनी अनभिज्ञ छन् । यद्यपि नाटक लेखनभन्दा निर्देशनमा आउने उनको रहर छ ।
नाटकलाई गाउँदेखि शहरसम्म जोडेर सबैका कथाहरु नाटकमा उठान गर्ने उनको ठूलो सपना छ । घुमन्ते शैलीमा गाउँमा उठान भएका नाटकका कथा उनलाई गाउँमै सुनाउनु छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया