मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक फलामको पुल राखेपछि यातायात सञ्चालन

मनाङ – बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।

वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए । निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पु¥याएपछि आवतजावत रोकिएको थियो । उक्त स्थानमा फलामको पुल राखेपछि आजदेखि यातायातका साधन सञ्चालनमा आएको उनले जानकारी दिए।

प्रजिअ लामिछानेले भने, “पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । आजदेखि सञ्चालनमा आएको पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवतजावत गर्न सक्छन् ।”

गत असार १८ गते तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे–चामे–बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो । तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताए ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटकपटकको बाढीपहिराको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल राख्न पहल भइरहेको बताए । उनका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।

सांसद गुरुङले भने, “यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।” पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवतजावत रोकिएपछि प्राथमिकताका साथ स्थलगत रुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताए । मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुनःनिर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताए ।

झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेका प्रजिअ लामिछानेले बताए। “झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो”, उनले भने, “यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।” पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवतजावत सहज हुँदा स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?