काठमाडौँ – आज जुलाई २८, विश्व हेपाटाइटिस दिवस । कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बाट ३० करोड ४० लाख मानिस सङ्क्रमित छन् । डब्लुएचओका अनुसार मुख्यतः पाँच प्रकारका हेपाटाइटिसका भाइरस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ मध्ये ‘बी’ र ‘सी’लाई बढी सङ्क्रामक मानिन्छ । यी दुई भाइरसका कारण विश्वभर औसतमा वार्षिक १३ लाखको मृत्यु र २२ लाख व्यक्तिमा नयाँ सङ्क्रमण देखिने गर्दछ ।
पेट तथा कलेजो रोग विशेषज्ञ डा अनन्त श्रेष्ठका अनुसार हेपा भनेको कलेजो हो र टाइटिस भनेको सुन्निनु हो । केही कारणले गर्दा कलेजो सुन्निने वा त्यसमा क्षति पुग्यो भने हेपाटाइटिस हुन्छ । यसका भाइरस थुप्रै भए पनि हेपाटाइटिस बी र सी दुवैले दीर्घकालीन सङ्क्रमण गराउँछ । शरीरमा छिरेपछि रहिरहन्छ र बिस्तारै कलेजोमा क्षति गराउँछ । सुरुमा कलेजो सुन्निन्छ र १० देखि २५ वर्षपछि कलेजो सुन्निएपछि सिरोसिस हुन्छ । त्यसपछि कलेजो कडा हुन्छ । यी भाइरसले कलेजोको क्यान्सर पनि गराउनसक्छ ।”
उनका अनुसार सुरुआती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले ९० प्रतिशत बिरामीहरु सुरमा अनभिज्ञ हुन्छन् । डा श्रेष्ठ भन्छन्, “हेपाटाइटिस बी लाग्नेबित्तिकै लक्षणहरु खासै देखिँदैन । मौन रुपमा नै असर गरिरहेको हुन्छ । ९० प्रतिशत जति कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिन्छ । १० जनामध्ये नौ जनालाई हेपाटाइटिस बी भाइरस भएको थाहा हुँदैन र परीक्षण गरेका हुँदैनन् ।”
लागुपदार्थ सेवनकर्ता, असुरक्षित सुइको प्रयोग गर्ने, हेमोडायलाइसिस गराइराख्ने, पटक–पटक रगत लिइराख्नुपर्ने रोगका व्यक्तिले हपाटाइटिस सीको परीक्षण गराउनुपर्ने उनको सुझाव छ । उनी भन्छन्, “रगत परीक्षण, परामर्श र समयमा उपचार गरिएमा कलेजोको क्यान्सर र कलेजो फेल हुनबाट बच्न सकिन्छ । ‘बी’लाई नियन्त्रणमा राख्न सकिन्छ किनकी खोप सुविधा छ । तर ‘सी’ लाग्नै नदिन भन्ने त्यस्तो छैन । सीलाई ९९ प्रतिशतसम्म निको पार्न सकिन्छ । ‘बी’ भाइरस सङ्क्रमण भइसकेपछि पूर्ण रुपमा निको पार्न सकिँदैन तर सक्रिय भाइरसलाई निष्क्रिय बनाउने उपचार छन् ।”
पेट तथा कलेजो रोग विशेषज्ञ डा अनिशा तिवारीले हेपाटाइटिस भाइरस ‘ए’ र ‘ई’ भाइरस सङ्क्रमित खाना र पानीका कारणले हुने गर्ने बताउँछन् । उनी भन्छन्, “हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’ रगत लिँदा तथा यौनसम्पर्कबाट सर्नसक्ने हुन्छन् । यी दुई भाइरस शरीरमा बसिराख्ने भएकाले दीर्घकालीन रुपमा समस्या रहिरहन सक्छ ।”
उनका अनुसार रगत र अल्ट्रासाउण्डबाट हेपाटाइटिसको परीक्षण हुन्छ । “हेपाटाइटिस ‘ए’ र ‘ई’ छिटो निको हुने हुन्छ । ‘बी’को खोप उपलब्ध छ तर ‘सी’को भने हालसम्म खोप उपलब्ध छैन । सङ्क्रमण भए पनि डराउनुपर्ने अवस्था छैन । भाइरस निष्क्रिय पार्ने औषधिको सेवनले भाइरसलाई नियन्त्रणमा राख्छ र कलेजो फेल हुनबाट बचाउँछ ।”
कलेजोमा समस्या आए पेट दुख्ने, बान्ता आउने, वाकवाकी हुने, जन्डिस हुने र कालान्तरमा लिभर सिरोसिस गराउनसक्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया