मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला र संस्कृति

भित्तेचित्रले चिटिक्क भक्तपुरका भित्ता (तस्वीरहरू)

भक्तपुर– आजभोलि तपाईँ अरनिको राजमार्ग हुँदै यात्रा गर्नुभएको छ भने यतिबेला राजमार्गमा देखिने आकाशे पुलको भित्तामा परम्परा झल्किने रङ्गीन चित्र पक्कै पनि देख्नुभएकै होला ।

ती ठाउँमा केही महिना पहिले विभिन्न शब्दहरू कोरिएको देखिन्थ्यो । यसले गर्दा भक्तपुरको मुख्य सडक कुरूप देखिने गरेको गुनासाहरू समेत सुनिन्थे । ती ठाउँहरूमा विभिन्न विज्ञापनमूलक पर्चाहरु टाँस्ने मात्रै होइन, कतिले त फोहोर पनि फ्याँक्थे ।

तर, अहिले यी भित्ताको मुहार फेरिएको छ ।

कुनै समय कुरूप देखिने यी भित्तामा अहिले आकर्षक आकृतिहरू कोरिएका छन् । यसले सो बाटो भएर यात्रा गर्नेको आँखालाई आनन्द मात्रै होइन । भक्तपुरको परम्परागत संस्कृतिबारे जानकारी लिन समेत सकिन्छ ।

मध्यपुर थिमि नगरपालिकाले केही समयअघि मात्रै आर्टशाला नेपालसँग सहकार्य गरी पुलका पर्खालमा ती चित्रहरू बनाएको हो । नगरपालिकाको शहर सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत सो चित्र बनाएको हो । पाँच वटा पुलका भित्री भित्तामा चित्र कोर्नका लागि पाँच जना कलाकारलाई करीब ४५ दिन लागेको थियो ।

आर्टशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर विष्टका अनुसार कौशलटारदेखि चारदोबाटोसम्मको पाँच वटा आकाशे पुलमा चित्र कोर्ने कार्य गत चैत्र ११ गतेदेखि शुरु गरिएको हो । बिहानदेखि बेलुकासम्म काम गरे पनि भौगोलिक अवस्थाका कारण सोचेभन्दा बढी समय लागेको उनी बताउँछन् ।

‘मुख्य सडक क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले काम गर्न केही समस्या भएको थियो । त्यसले गर्दा पनि अलि समय लागेको हो,’ जोय नेपालको कुराकानीमा उनी भन्छन् । 

चित्र निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाले नै खाका उपलब्ध गराएको उनले बताए । ‘मध्यपुर थिमिको स्थानीय कला झल्कने, जात्रा, चाडपर्व भेषभूषालाई बढी स्थान दिइएको छ,’ उनले भने । यसरी आकाशे पुलमा चित्र बनाउँदै बजारको सुन्दरता मात्रै नभएर स्थानीय संस्कृति, उत्पादन तथा रीतिरिवाजको बजारीकरण र सम्बर्धन गर्न सहज हुने उनको भनाइ छ ।

‘चित्रमा त्यहाँको स्थानीय संस्कृतिको बारेमा चित्र कोर्दा जीवन्त पनि पाउने भयो । अन्य स्थानका व्यक्तिले मध्यपुरको बारेमा जानकारी पनि पाउने भयो,’ उनले भने । 

राजमार्ग र सवारी चाप भएकोले चित्र कोर्न समस्या भए पनि स्थानीयको सहयोग र सहानुभूति पाएकोमा काम गर्न थप उर्जा मिलेको उनको भनाइ छ । चित्र कोर्ने क्रममा स्थानीय अग्रज व्यक्तिले सो कार्यको तारिफ गरेको उनी सुनाउँछन् ।

‘स्थानीयलाई हामीलाई रचनात्मक प्रतिक्रियासँगै सहयोग गर्नुभयो । पाका उमेरका व्यक्तिहरु आएर केही कामको लागि सिकाउनु भएको छ,’ उनी भन्छन् ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार सो क्षेत्रबाट आवातजावत हुने व्यक्तिहरुलाई पालिकासँगै भक्तपुर जिल्लाभित्रै संस्कृति, परम्परा तथा रीतिरिवाजको बारेमा जानकारी दिनको लागि सडक क्षेत्रमा भित्तेचित्र बनाउन थालिएको हो । योसँगै अन्य क्षेत्रमा पनि चित्र निर्माणको कार्य गरिने उनको भनाइ छ ।

‘यो वर्ष हामी हाइवेको सौन्दर्यकरणको कार्य गर्दै आएका छौँ । आकाशे पुलको पर्खाललाई सुन्दर बनाउनुका साथै यात्रुहरुलाई जानकारी दिनको लागि बनाएको हो,’ उनी सुनाउँछन् ।

पहिलो चरणमा सो क्षेत्रमा चित्र बनाउन थालेको नगरपालिकाले अन्य क्षेत्रमा पनि आगामी वर्ष बनाउने योजना छ । सोका लागि नगरपालिकाले लागि डीपीआर बनाइसकेको उनले सुनाए । उनले भने, ‘आउने नगरसभाबाट सोका लागि बजेट विनियोजन गरिने छ ।’

नगरपालिकाले आकाशे पुलमा भक्तपुरका बिस्का जात्रा, जिब्रो छेड्ने जात्रा, चिउरा कुट्ने, माटोको भाँडो बनाउने, लाखे नाच लगायत विभिन्न पक्ष समेटेर चित्र बनाएको छ ।

ग्राफिकसँगै परिचय समेट्न सके झन् राम्रो

पछिल्लो समय मध्यपुर थिमि नगरपालिकासँगै काठमाडौँ महानगरपालिकाले पनि सडकको भित्तामा भित्तेचित्र बनाउँदै आएको छ । स्थानीय संस्कृतिको जर्गेनासँगै नयाँ पिँढी, पर्यटकलाई सोबारे जानकारी तथा शहरी सौन्दर्यताका लागि बनाउँदै आएको हो ।

नेपाली समुदायमा भित्तेचित्रलाई स्ट्रिट आर्टका रुपमा पनि चिनिन्छ । यद्यपि मानव सभ्यतामा भित्ते चित्रको इतिहास लामो छ । मानवहरुले ढुङ्गे युगमा नै विभिन्न गुफाका भित्ताहरुमा चित्रका माध्यमबाट नै सञ्चारसँगै सूचनाको आदानप्रदान गरेको पाइन्छ ।

चित्र कलाकार तथा कला समीक्षकका अनुसार भित्तामा लेख्ने प्रचलन एक दशकभन्दा लामो समयदेखि नै वर्ष नेपालमा प्रचलनमा आएको देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भित्तामा लेख्ने प्रचलन बढेपछि नेपालमा पनि शुरु भएको उनको भनाइ छ ।

‘काठमाडौँ र ललितपुरको कुनै पनि भित्ता खाली छैन । कतै लेखेर पनि मेटिसकेका छन् । कतै भर्खरै शुरु हुँदै छ,’ उनी भन्छन्, ‘तर यसलाई राम्रो पक्षको रुपमा लिन सकिन्छ ।’

उनका अनुसार ग्राफिकी कलामार्फत सन्देश दिनको लागि भित्तेचित्रको शुरुवात गरेको हो ।  उनी भन्छन्, ‘यसले फोहर भित्ता सफा पार्नुको साथै सकारात्मक सन्देश पनि फैलाउने गर्छ । त्यसैले पनि यो एक दम राम्रो हो ।’

भित्तेचित्रले कला तथा संस्कृति सर्वसाधारण समक्ष पनि पुगेको उनको भनाइ छ । यसले कलाकारले अवसर पनि पाउनुका साथै  नाम र दाम पनि हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय ग्राफिकी शुरुवात गर्ने क्रममा केही विरोध पनि भए पनि नेपालमा नेपालमा अधिकांश रुपमा सकारात्मक नै रहेको उनको भनाइ छ ।

शुरुवाती चरणमा नेपालमा पनि लोक कला तथा मन्दिरहरुमा विभिन्न कला भित्तामा नै कोर्दै आएको पाइन्छ ।

‘पहिला धर्मसम्बन्धी भित्र मात्रै गर्ने गर्दथ्यो । तर अहिले सामाजिक तथा चेतनामूलक कुराहरुमा पनि सडक तथा भित्तामा बनाउँदै आएको पाइन्छ,’ उनी भन्छन्,  ‘तर आर्टको रुपमा कलाकारले अलि गहिरो रुपमा व्याख्या गर्न सकेका छैनन् ।’

भित्तेचित्रलाई थप सन्देशमूलक बनाउन कलाकारको नाम, परिचय, उत्थान गरेको विषय उल्लेख गरेमा थप अझ राम्रो हुने उनको भनाइ छ । त्यसका लागि ग्राफिकलाई मात्रै ध्यान नदिई चित्र निर्माणपछि परिचयलाई ध्यान दिनुपर्ने उनी सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?