काठमाडौँ – चर्चित ब्याण्ड नेपथ्य संगीत यात्राका लागि अमेरिका जाने भएको छ ।
छैटौँ पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको नेपथ्यले यो यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात वटा फरक फरक सहरका भव्य मञ्चहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।
यसका लागि आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ । यो स्थानको प्रस्तुती नेपथ्थकै लागि पनि पहिलो हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ ।
दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । तेस्रो प्रस्तुतिको निम्ति भने ब्यान्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो ।
त्यसपछि भने ब्यान्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरु पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।
यसपछि ब्यान्डको अर्को प्रस्तुती मेरिल्याण्ड राज्य हुनेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ ।
यसरी अमेरिकाका भिन्न शहरमा प्रस्तुतीको तयारी गरेको ब्याण्डले अन्तिम कन्सर्टका निम्ति पेन्सिलभानियाको ह्यारिसवर्ग सहर रोजेको छ । ब्यान्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको शृङ्खलाबद्ध यात्राकै अन्तिम अर्थात् सातौँ कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया