चितवन– सिमलताल पहिरोमा परी हराएका दुई बसको खोजी कार्य रोक्ने तयारी भएको छ।
सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औँ दिन पुगेको छ । तर नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो।
दुवै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटिएको छ । खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन अरू बाँकी यात्रु बेपत्ता छन्।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेपनि बस भने फेला परेको छैन । यसले सुरक्षाकर्मीहरु पनि आजित बनेका छन्।
अब भारतीय टोली पनि भारत फर्किने तयारीमा छ भने नेपालको टोलीले पनि खोजी कार्यलाई रोक्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया