काठमाडौँ – आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै हलमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज भएका हुन् ।
जसमध्ये फिल्म ‘ईश्वर’ अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि अभिनयमा कम ब्याक गरेको फिल्म हो । अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर निर्माण भएको यो फिल्मका निर्देशक राजु गिरी हुन् । उनी यो फिल्म सफल हुनैपर्ने दबाबमा छिन् । किनकि, सन् २०१५ मा आएको ‘भैरव’पछि उनका एउटै फिल्म सफल छैनन् ।
फिल्ममा सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईँ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बास्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा छन् ।
फिल्ममा निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको छ । त्यस्तै आरएल लामा मोक्तान निर्देशित फिल्म ‘ब्ल्याक छाया’ पनि आजबाटै प्रदर्शनमा आएको हो ।
नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो ।
फिल्मको निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा हुन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मको छायाङ्कन सञ्जु थोकरले गरेका हुन् ।
तर हल यी दुई फिल्मले मात्र पाएका भने छैनन् । किनभने बलिउडका ‘कल्की’, ‘ब्याड न्युज’ जस्ता फिल्मले गत साता देखिनै निरन्तरता पाइरहेको छ । त्यस्तै तमिल सुपरस्टार धनुष अभिनीत फिल्म ‘रायन’ पनि आजबाट थपिएको छ ।
त्यस्तै मगर समुदायको कथामा बनेको फिल्म ‘घरज्वाइँ’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। दयाहाङ राई र मिरूना मगर अभिनीत यो फिल्म असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया