काठमाडौँ– ‘आफ्नै देशमा गरेर खान्छु’ भन्ने युवा उद्यमी प्रेमप्रसाद आचार्यले झण्डै डेढ वर्षअघि आफैंलाई पेट्रोल छर्केर आगो लगाए । संसद् भवनअगाडि नै उनको त्यो आत्मदाहमा केवल उनको मात्र शरीर जलेको थिएन, त्यसमा तमाम युवाहरुका सपना पनि समाहित थिए । उनको जलनको पीडादायी अवस्था सम्पूर्ण देशका युवाहरुको प्रतिनिधित्व थियो ।
अर्कोतिर देशभित्र बसेर यही पौरख गर्छु भन्ने बाटो नै नभेटेपछि देशबाहिर गएर जीवन निर्वाह गर्छौं भन्ने सपना बोकेका सुजन रावत र वीरेन्द्र शाह जस्ता युवाहरुले देशमै गोली खाएर ढले । गत पुस महिनामा कोरियाली भाषाको परीक्षामा सहभागी गराइनुपर्ने माग राखेर युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन र अछामका वीरेन्द्रको ज्यानै गयो । देशभित्रै यस्तो नियति युवाहरुहरुले भोगिरहँदा कसले कोमाथि आशा राख्ने भन्ने प्रश्नचिन्ह खडा हुन सक्छ ।
‘युवाहरुलाई यसरी लडाइरहने र देशबाहिर धपाइरहने खेल कहिलेसम्म चलाइरहने ? प्रेम प्रसाद, सुजन र वीरेन्द्रजस्ता युवाहरुको मृत्युलाई केवल सरकारले बनाउने छानविन, प्रतिवेदन र क्षतिपूर्तिभित्र कतिन्जेल समेटिराख्ने ? के युवाहरुलाई देशभित्रै जीवित राख्न नेतृत्व तहले इलम गर्ने उद्योग र उद्योगीहरुलाई ब्युँताउनु पर्दैन ?’ यी यावत प्रश्नहरु बोकेर यतिबेला नाटक ‘युगको साँचो उभिएको छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ गतेदेखि मञ्चनमा आएको नाटकले देशभित्र केही इलम गर्छु भन्ने युवाहरुलाई गरिखाने बाटो बनाउनुपर्छ भन्ने भन्ने मूल सन्देश बोकेको छ । देशमै केही गर्छु भन्ने युवाहरुलाई पासपोर्ट भिरेर देश छोड्न बाध्य बनाउनु भन्दा यही नै इलम गर्न उद्योगहरु सञ्चालन गरौं र बन्द भएका कलकारखानाहरुलाई समेत सुचारु गर्न युवाहरुलाई त्यसको साँचो दिउँ भन्ने नाटकले आग्रह गरेको छ । यही नै युग बदल्ने साँचो हुने आशा नाटकले जगाउने जमर्को गरेको छ ।
अङ्ग्रेजी नाटक ‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’लाई नेपाली भाषा र परिवेश अनुसार परिकल्पना तथा निर्देशन रङ्गकर्मी टंक चौलागाईंले गरेका छन् । बाल साहित्यका चर्चित बेलायती लेखक रोल्ड डालको बाल उपन्यास ‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’मा आधारित रहेर नाटकार डेभिड ग्रेजले नाटक तयार गरी पहिलोपल्ट सन् २०१३ मा मञ्चन गरेका थिए । त्यसको एक दशकपछि नेपालमा नेपाली परिवेश अनुसार नै समकालीन मुद्दालाई मूल रुपमा उठान गरी रङ्गकर्मी चौलागाईंले नाटक प्रस्तुत गरेका छन् ।
‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’ र ‘युगको साँचोमा’ झण्डै उस्तै–उस्तै लाग्ने आर्थिक अभावमा हुने वर्गीय सङ्घर्ष, सामाजिक तथा मानवीय पीडा, मानवका नैतिकता, धैर्यता र महत्वाकांक्षाकै कारण आएका नतिजाहरु छन् । यी दुई नाटकहरुको परिवेश, पात्र, विषय, संवाद उठान र प्रस्तुति भिन्न भएपनि युगका युवाहरु अझ भनौँ समग्र मानव जमातकै मुद्दाहरु समान छन् ।
नाटक ‘युगको साँचो’मा चकलेटको सट्टामा कपडा छ भने विल्ली वन्काको स्थानमा मुन मिस छिन् । व्यापारिक फाँटमा आफ्नै प्रभुत्व कायम गरेको विल्लीको ‘चकलेट फ्याक्ट्री’ छ भने यता मुन मिसको कपडाको ‘मुन नमुना उद्योग’ छ । विल्लीले गोल्डेन टिकट घोषणा गरेर पाँच जनालाई ‘चकलेट फ्याक्ट्री’ घुम्न पाउने अवसर बताए जसरी नै मुन मिसले आफ्नो उद्योगमा उत्पादित भएर बजारमा जाने कपडामा पाँच वटा ‘युगको साँचो’ हालेर पठाउँछिन् । उक्त साँचो प्राप्त गर्नेले मुनको नमुना उद्योग घुम्न पाउने नाटकमा बताइएको छ ।
अंकुर, साक्षी, रस्मिता, मनु र आभाले साँचो प्राप्त गरेर मुनको नमुना उद्योग घुम्ने अवसर प्राप्त गर्छन् । यी पाँच मध्ये इमान्दार र धैर्यशील युवालाई ‘मुन नमुना उद्योग’को साँचो हस्तान्तरण गर्ने मुन मिसको योजना हुन्छ । यही योजनाभित्र परेका पाँच जनालाई मुन मिसले आफ्नो उद्योगमा घुमाउँछिन् । यही घुमाउने क्रममा चरणवद्ध रुपमा अगाडि बढ्ने मेसोमा इमान्दारिता, धैर्यता र लगनशीलता कायम गरेको एकजनालाई मुन मिसले ‘युगको साँचो’ हस्तान्तरण गर्ने क्षणसम्मका उतारचढावहरु नै नाटकभित्र समेटिएका छन् ।
बालबालिका केन्द्रीत म्यूजिकल नाटकलाई चौलागाईंले सोही शैलीमा ढाल्ने भरपूर कोसिस गरेका छन् । डेढ दशकभन्दा लामो समयदेखि बाल रङ्गमञ्चमै अभ्यत उनको शैलीमा बाल रङ्गमञ्चिय प्रभाव मात्र नभएर तिनका मुद्दा र विषय समेत नाटकमा देखिएका छन् । गीतसङ्गीत, संवाद र शारीरिक अभिव्यक्तिमा जसरी पात्रहरुमा उनले कमिक जनरालाई मिसाएर बालबालिका केन्द्रीत बनाएका छन् ।
त्यसैमार्फत उनले देशले भोगिरहेको वर्तमानकालीन भयावह अवस्थालाई इंगित गरेका छन् । दर्शकले हाँस्दाहाँस्दै आफ्नो मुलुक र आफैँले भोगिरहेको पीडालाई एकसाथ महसूस गर्न पुग्छन् । नाटक हेर्नकै लागि पुग्ने अभिभावक र बालबालिका दुवैले आफ्नो तवरले नाटकका प्रत्येक दृश्यहरुमा आफ्नोपना भेट्टाउँछन् ।
नाटकलाई अभिभावकका तवरले हेर्न मिस्टर शर्मा, मुन मिस, रबिना नेपाली, आभाकी आमा, हजुरबुवा, मनुकी आमा जस्ता पात्रहरु छन् । जुन पात्रहरुमा समकालीन राजनीति प्रवृत्ति, शिक्षा, समाज, मनोविज्ञानको झलक देखिन्छ । त्यस्तै बालबालिकाहरुका लागि अंकुर, आभा, साक्षी, रस्मिता र मनु जस्ता बाल पात्रहरु छन् । यी पात्रहरुले बालबालिकाहरुलाई आफ्नो लक्ष्य प्राप्तिका लागि कसरी संयमता र धैर्यता राखेर अगाढि बढ्नुपर्छ भन्ने नैतिकताको पाठ सिकाउँछ ।
निर्देशक चौलागाईंले मनोरञ्जन र हाँस्य रससँगै गम्भीर विषयलाई सरल रुपमा पस्केका छन् । उनले नाटकमा लामो समयदेखि बन्द रहेको ‘हेटौंडा कपडा उद्योग’ जस्ता कलकारखानाहरुलाई अब नयाँ पुस्ताले साँचो लिएर खोलेमा मात्र युग बदल्ने आशा राखेका छन् । उनको नाटकभित्र युवाविहीन बन्दै गएको देश, महत्वाकांक्षी बन्दै गएको समाज, युवापुस्ता, सत्ता र शक्तिको आडमा बढ्दै गएको बेथिति र अभिभावकको सपनामा रुमल्लिएका भावी पुस्ताहरुको चिन्ता छरपस्ट भएका छन् । यसर्थमा भन्दा उनको यो नाटक केवल बालबालिका र अभिभावकलाई नैतिक ज्ञान सिकाउने पाठ मात्र नभएर सत्तालाई नै ठाडो प्रश्न र आम जनमानसको पीडा अभिव्यक्तिको रुप हो ।
मुन उद्योग घुमेर अझै ठूलो व्यापारी बन्ने सपना बोकेका अंकुर त्यही मेसिनमा पेलिन्छन् । पृष्ठभूमिमा प्रकाशको सहायता देखिएको दृश्यमा उनी कपडाहरुसँगै पेलिएर विलीन भएका छन् । युवाहरुको पीडालाई प्रतिनिधित्व गर्ने नाटकको उक्त दृश्य ज्यादै नै सशक्त लाग्छ । उच्च आकांक्षा बोकेका मनु र रस्मिता मुनको उद्योगमा रुप र आकारै परिवर्तन गर्न बाध्य हुन्छन् । मिस्टर शर्मालाई सत्ता र शक्तिको मात छ ।
उनको त्यही आडम्बरीले छोरी साक्षीको सपना पूरा हुन पाउँदैन । यी सबै पात्रहरुमा अडिग, सबल र निर्भीक छिन्, मुन मिस(आकांक्षा कार्की) । बालबालिकाका हाँस्य रस होस् गम्भीर विषय उठानमा मुन मिस पात्रले ‘मुन नमूना उद्योग’ मात्र होइन, सिंगो नाटकलाई बोकेकी छिन् । मुन कर्ममा विश्वास राख्छिन् । उनको नमूना उद्योगभित्र भ्रष्टाचार र कमिसनका कुरा वर्जित छ । उद्योगमा बिचौलिया होइन, सिस्टम चल्छ । जहाँ महिला, अल्पसंख्यक वर्ग सबै सुरक्षित र खुसी छन् । युग बदल्ने हो भने अब यस्तै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने युवा आउनुपर्छ भनेर नाटकले संकेत गरेको पाइन्छ ।
मिस्टर शर्मा(पुष्पराज अवस्थी)ले देशको मूल नेतृत्वको प्रवृत्तिलाई उजागर गरेको छ । देशभित्र मिस्टर शर्माहरुको बिगबिगी छ । यस्तो परिस्थितिमा इमान्दार नेतृत्व आउनुपर्ने नाटकमार्फत चौलागाईंले अभिलाषा राखेका छन् । उनको नाटकमार्फत आह्वान छ्, ‘यो देशमा कुनै पनि उद्योग टाट नपल्टिओस्, उद्योग गर्ने चाहने कसैले पनि आफूलाई जलाएर मार्न नपरोस्, विदेश जान पाएन भनेर युवाहरुले आन्दोलन नगरुन्, युवाहरुमाथि देशले गोली नचलाओस् ।’
साउन १९ गतेसम्म मञ्चन हुने नाटकमा अनुप तिमिल्सिना र ब्रोसिन ब्रोज महर्जनको सङ्गीत प्रस्तुति रहेको छ । नृत्य कोरियोग्राफरमा बृहसमान सुनुवार, मञ्च परिकल्पनमा झकेन बि.सी. र प्रकाश परिकल्पनामा रामबाबु रेग्मी छन् ।
मञ्चमा
आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया