काठमाडौँ– पछिल्लो समय तीव्र शहरीकरणका कारण भएका वनजङ्गलको विनाश भइरहेको छ । हरियो पर्यावरण देख्न मानिसलाई मुस्किल भइसकेको छ । यसले गर्दा मानिसहरुले आफ्नो घर होस् या एउटा साँघुरो कोठामै स–साना जातका बुट्यानहरु ल्याएर राख्न थालेका छन् ।
जसलाई अहिले इन्डोर प्लान्टका रुपमा लिइँदै आएको छ । अहिले अधिकांश मानिसले घरमा इन्डोर प्लान्ट राख्ने गरेको पाइन्छ । घरमा इन्डोर प्लान्ट भन्ने बित्तिकै घरभित्रै राखिने बुट्यानहरुलाई लिइन्छ । घरको कोठा, बार्दली, भर्याङसम्म मानिसहरुले विभिन्न थरिका प्लान्टहरुलाई सजावट र सौन्दर्यका लागि राख्छन् ।
यसले घरलाई आकर्षक बनाउनुका साथै वायु शुद्धीकरण गर्दै मानिसको स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । यसकारण इन्डोर प्लान्टहरुमा मानिसहरुको आकर्षण बढेको छ । यसले गर्दा पछिल्लो समय केही मानिसहरुले इन्डोर प्लान्ट उत्पादनलाई व्यवसायकै रुपमा अगाडि बढाएको देखिन्छ ।
स्वास्थ्य तथा वनस्पति विज्ञहरु इन्डोर प्लान्टलाई घरको सजावट मात्र नभएर स्वास्थ्यवद्र्धक रुपमा लिन्छन् । जसले वायुलाई शुद्ध बनाई मानिसलाई चाहिने अक्सिजन उत्पादन गर्नुका साथै मानिसको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव छोड्छ ।
यी हुन् घरमा राख्न सकिने इन्डोर प्लान्टहरू
रबर प्लान्ट
घरभित्र राख्न सकिने इन्डोर प्लान्टहरुमध्ये रबर प्लान्ट पनि एक हो । यसका पातहरु ठूला र चिल्ला खालका हुन्छन् । यो बिरुवा घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ । रबर प्लान्टलाई उज्यालो, अप्रत्यक्ष प्रकाश आउने ठाउँमा रोप्न सकिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ । घरको हानिकारक धूलोका कणहरुलाई हटाउने समेत भएकाले यसलाई ‘एयर प्युरिफायर’ प्लान्टका रुपम पनि लिइन्छ ।
स्नेक प्लान्ट
घरभित्रको सजावट होस् या स्वच्छ र ताजगी वायुका धेरैको रोजाइमा स्नेक प्लान्ट पर्छ । संसारमा विभिन्न थरिका स्नेक प्लान्टहरु पाइन्छन् । रातको समयमा यसले अक्सिजन फाल्ने भएकोले यसलाई सुत्ने कोठामा राख्दा स्वास्थ्यका लागि उत्तम हुने स्वास्थ्य विज्ञहरु बताउँछन् । शुद्ध हावा र मानसिक स्वास्थ्यका लागि समेत यसलाई निकै उपयोगी मानिन्छ ।
लक्की बेम्बो
घर या कार्यालयहरुमा टेबलमा राख्न सकिने लक्की बेम्बो प्लान्ट अहिले धेरैको रोजाइहरु मध्ये नै पर्छ । धर्मशास्त्र अनुसार यसले घरको शान्ति र सुख समृद्धिका समेत ल्याउँछ भन्ने विश्वास राखिन्छ । पानीमा राख्न सकिने यसलाई करिब एक सातामा पानी परिवर्तन गरे राख्न सकिन्छ ।
कैलाथिया
रङ्गीन र सुन्दर पातहरुका कारण घरको सौन्दर्यका लागि कैलाथिया प्लान्ट विशेष मानिन्छ । यसलाई घरभित्र मात्र नभएर घरको वरीपरी आँगनमा समेत रोप्न सकिन्छ । सूर्यको प्रकाश र माटोको सहायतामै यसलाई सजिलै हुर्काउन सकिन्छ । यसको फैलावटको लागि धेरै ठाउँ नचाहिने भएकाले पनि घरको सजावटका लागि उपयुक्त मानिन्छ ।
पिस लिली
हरियो पातमा सेतो रङका फूलहरु फुल्ने पिस लिलीलाई घरको सौन्दर्य र सजावट दुवैका लागि उपयुक्त मानिन्छ । यसलाई घरको लिभिङ रुम, बार्दली वा भर्याङमा राखेर सजाउन सकिन्छ । जसले प्राकृतिक सौन्दर्य समेत ल्याउँछ ।
फिलोडेनड्रोन
सजिलैसँग रोप्न सकिने यसलाई सदावहार इन्डोर प्लान्टका रुपमा लिइन्छ । सफा र हरियो देखिने यसले घरको सजावट मात्र नभएर आँखालाई समेत शीतलता प्रदान गर्छ ।
ब्रोमेलियाड
गुलाबी रङका लामो पत्तामा झाङ्गिने ब्रोमेलियाड प्लान्टले मानिसको मानसिक स्वास्थ्यका लागि आनन्द प्रदान गर्छ । घरको सजावट र सौन्दर्यका लागि अझ यो उत्तम मानिन्छ । यसलाई उमार्न सकेसम्म थोरै पानीको आवश्यकता पर्छ ।
पोथोस
लहरिएर फैलन प्रजातिको यस प्लान्टलाई हावा शुद्धीकरण र ताजगीकरणका रुपमा लिने गरिन्छ । यसलाई टेबल, सिँढी वा झ्यालमा राख्न सकिन्छ ।
मनी ट्री
घरको समृद्धी, शान्ति र सौभाग्यको प्रतीक स्वरुप मनी ट्री राख्ने गरिन्छ । अन्य इन्डोर प्लान्टको तुलनामा यो अलिकति अग्लो देखिन्छ । यसको हरियो र चम्किलो रङ्गले घरको सौन्दर्यता थप्न सकिन्छ । विज्ञहरुका अनुसार यसले हावामा रहेको विषाक्त कणलाई नष्ट गरी शुद्ध हावा समेत दिन्छ ।
एरिका पाम
एरिका पामले कार्वनमोनोअक्साइड वायुलाई हटाएर स्वच्छ हावा प्रदान गर्छ भनिन्छ । पातलो र लामो हरिया रङका यस पातहरुले घरको कुनै पनि ठाउँलाई सुन्दर बनाउँछ । यसलाई गमलामा रोपेर घरको लिभिङ रुपको कुनामा राखेर सजाउन सकिन्छ । यसको पातहरुमा चाँडै धूलो जम्ने भएकाले यसको सरसफाइमा भने ध्यान पुर्याउनुपर्छ ।
पाइन प्लान्ट
पाइन प्लान्टले रातको समयमा अक्सिजन दिने भएकोले यसलाई पनि वायु शुद्धीकरणका निम्ति उपयुक्त मानिन्छ । घरको कुनै पनि ठाउँमा राख्न सकिने यसलाई हुर्काउन समेत खासै ध्यान दिइराख्नुपर्दैन ।
घीउकुमारी
घीउकुमारीलाई घरको सजावट र मानिसको स्वास्थ्यका लागि बहुउपयोगी प्लान्टका रुपमा लिन सकिन्छ । यसको जुस समेत मानिसले पिउने गर्छन् । यसलाई छाला र कपालको सुन्दरताका लागि समेत प्रयोग गरिन्छ ।
पछिल्लो समयमा कस्मेटिक सौन्दर्य प्रसाधनका रुपमा बजारमा समेत यो किन्न पाइन्छ । घरभित्र र बाहिर दुवै स्थानमा राख्न सकिने यसलाई बेलाबेलामा काँटछाट गरेर हेरचाह गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया