काठमाडौँ– वि.सं. २०३८ मा विराटनगरस्थित ‘आरोहण गुरुकुल’ स्थापना कालमा दर्शकको उत्साहजनक उपस्थिति रहेको भैरव क्षेत्री स्मरण गर्छन् । संस्थापक सदस्य हुँदै लामो समयदेखि ‘आरोहण गुरुकुल’का अध्यक्षका रुपमा उनले विराटनगरमा नाट्य माहोललाई निरन्तरता दिइरहेका छन् ।
उनका अनुसार नाटक मात्र नभएर साहित्यिक गतिविधिहरुलाई समेत जोडेर हालसम्म नाटकघर सञ्चालनमा आइरहेको छ । पछिल्लो केही वर्षयता दर्शक न्यून मात्रामा उपस्थिति जनाउँदा नाटक घर चलाउन कठिन हुन थालेको उनी बताउँछन् ।
‘कलाकार त जेनतेन हामीले उत्पादन गरिरहेका छौं, तर नाटक हेर्ने दर्शक नै छैनन्,’ उनले भने, ‘यता व्यापारिक केन्द्र भएकोले व्यापारीहरुलाई नाटक हेर्ने फुर्सद नै हुँदैन । नाटक हेर्न बोलाएमा चार/पाँच जनाको टिकट लिएर पैसा तिर्छन् तर हेर्न आउँदैनन् ।’
मोफसलमा नाटक हेर्ने दर्शक मात्र नभएर कलाकार समेत टिकाउन निकै कठिन रहेको क्षेत्रीले दुःखेसो पोखे । राजधानीबाहिर कलाकारहरुलाई जीविकोपार्जन गर्न धौधौ हुनुका साथै अवसर समेत पाउन कठिनाइ छ ।
यसकारण उत्पादन भएका कलाकारहरु फिल्म, म्युजिक भिडियो र नाटकमै अझै फराकिलो हुन राजधानीतिरै जाने प्रवृत्तिले राजधानी बाहिरका नाटकघरमा कलाकार पलायनको पनि उत्तिकै समस्या रहेको क्षेत्रीले सुनाए ।
यी समस्याका बावजूद पनि आरोहण गुरुकुलले जिल्ला, एवं प्रदेशस्तरीय नाट्य महोत्सवहरु सँगै साहित्यका गतिविधिहरुलाई समेत निरन्तरता दिइरहेको छ ।
आरोहण गुरुकुल मात्र नभएर राजधानी बाहिरका अरु नाटकघर सञ्चालनमा उत्तिकै सकस देखिन्छ । नाटकघरलाई चलाउन सक्रिय रहेका रङ्गकर्मीहरुमा नाटकप्रतिको प्रेम र यसलाई विस्तार गर्नुपर्छ भन्ने हुटहुटीले नै राजधानी बाहिर रङ्गमञ्चीय माहोल कायम रहिरहेको स्वयं रङ्गकर्मीहरु नै स्वीकार्छन् ।
हालै मण्डला थिएटरमा सम्पन्न भएको ‘म्याड फेस्ट –२०२४’ मा थिएटर बहसकै क्रममा दयाहाङ राईले नेपाली रङ्गमञ्च अझै व्यावसायिक नभएको सुनाएका थिए । थिएटरलाई दिगो बनाउन टिकट बिक्री मात्र नभएर विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरेर अघि बढेमा मात्र सहज वातावरण बन्ने धारणा उनले राखेका थिए ।
त्यसै सन्दर्भमा अर्का सक्रिय रङ्गकर्मी केदार श्रेष्ठले आफूले प्रत्येक नाटकका लागि एक/दुई लाख रुपैयाँ आफ्नै खर्च बेहोरेर नाटकहरु तयार गरेको अनुभव सुनाए । यी दुवैको भनाइको तात्पर्यमा के थियो भने, राजधानी भित्र पनि नाटक र नाटकघरहरु टिकाउन रङ्गकर्मीहरुलाई सहज छैन ।
राजधानीमै चल्तीको मानिने मण्डला थिएटरभित्रकै राई अनि राजधानीभित्रै सक्रिय रङ्गकर्मी श्रेष्ठले रङ्गमञ्चको अवस्थाबारे यसरी भनिरहँदा राजधानी बाहिरको अवस्था कस्तो होला भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।
कम्तिमा एकदेखि दुई लाख रुपैयाँ व्यक्तिगत खर्च बेहोरेर पनि नाटक देखाउनुपरेको छ ।
–केदार श्रेष्ठ, रङ्गकर्मी
राजधानी बाहिर नाटकको माहोल बनाउँछु भनेर जो लागिरहेका छन्, उनीहरुलाई आर्थिक अभाव त छँदैछ, नाटक सिर्जना, मञ्चन र कलाकार उत्पादनमा समेत उत्तिकै कठिनाइहरु छन् । यस् सबै पक्षलाई अब गम्भीर रुपमा लिनुपर्ने क्षेत्रीको बुझाइ छ ।
६० र ७० को दशकमै राजधानीबाहिर नाटकको माहोल बनाएको कर्णाली आर्ट सेन्टर(मुगु), पोखरा थिएटर(कास्की), चुलाचुली रङ्मञ्च(इलाम), कदम थिएटर(झापा) जस्ता नाटकघरहरुले आफ्नै बलबुतोमा ग्रामिण बस्तीलाई नाटक देखाइरहेका छन् । यी नाटकघरहरुले कुनै भाडामा, कुनै सरकारी पुरानो भवनमा र कुनै चुहिएको छानोमुनि बसेर नै नाटक गरिरहेका छन् ।
यी नाटकघरहरुलाई उभ्याउने रङ्गकर्मीहरुमा क्रमशः हिरा बिजुली नेपाली, परिवर्तन, चेतन आङथुपो र सिजन दाहालहरुले आ–आफ्नै बस्तीमा नाटकको सपना देखेका छन् । नेपाली रङ्गमञ्चलाई राजधानीबाट अलि पर पुर्याउँछु भनेर उनीहरुले गरिरहेको जमर्कोलाई न त राजधानीले देख्छ, न त राज्यले नै । राजधानीको रङ्गमञ्चले त उनीहरुलाई मोफसलका रुपमा विभाजन गरिदिन्छ ।
म रङ्गमञ्चका लागि केही गर्छु र चुनौती मोल्न तयार छु भन्ने आँटले मात्र राजधानीबाहिरको थिएटरमा अडिन सकेको पोखरा थिएटरका संस्थापक रङ्गकर्मी परिवर्तनले सुनाए ।
उनका अनुसार नाटक, रङ्गमञ्च र कलाकार उत्पादनको हिसाबले अहिले भने पोखरा थिएटरलाई केही सहज भएको छ । गतिलो नाटकघर र राम्रो नाटक उत्पादन गर्न सकेमा राजधानी बाहिर पनि रङ्गमञ्चको माहोल बनाउन सक्ने स्थिति अहिले बनेको छ ।
यद्यपि नयाँ र अझ गुणस्तरीय नाटक सिर्जना लागि अहिले चुनौती थपिएको उनको भनाइ छ ।
म रङ्गमञ्चका लागि केही गर्छु र चुनौती मोल्न तयार छु भन्ने आँटले मात्र मोफसलमा थिएटर अडिएको छ ।
–परिवर्तन, रङ्गकर्मी
उनले जोय नेपालसँगको कुराकानीमा भने, ‘शुरुमा दर्शक ल्याउनका लागि हामीलाई गाह्रो भयो । अहिले दर्शकहरु नाटक हेर्ने मात्र नभएर विश्लेषण गर्ने तहमा पुगिसकेका छन् । दर्शककै लागि भएपनि अब हामीले राम्रा नाटकहरु बनाउनुपर्छ । तर राम्रो नाटकका लागि समय र आर्थिक भार बढी पर्छ, मुख्य समस्या यही नै छ ।’
उनको भनाइ जस्तै चुलाचुलीका संस्थापक अध्यक्ष आङथुपो पनि आर्थिक कठिनाइ नै बढी देख्छन् । आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर रङ्गमञ्चकै लागि केही गर्छु भनेर मानसिक रुपमा बलियो हुँदा पनि आर्थिक पक्षले सधैं गलाएको उनको अनुभव छ ।
मोफसलका थिएटरहरुले आशा राख्ने ठाउँ नै स्थानीय तहहरु हुन्छन् । स्थानीय तहले यसलाई बेवास्ता गर्दा असहज परिस्थिति आइरहने उनले बताए । उनको थिएटरले वर्षमा राम्रो नाटक उत्पादन गर्ने उद्देश्यले निरन्तर नाटकहरु सिर्जना गरिरहेको छ ।
पछिल्लो नाटक ‘झोडा’लाई उनको समूहले राजधानीसम्म पनि ल्यायो । त्यसमा झण्डै सात/आठ लाख रुपैयाँ खर्च भयो । स्थानीय तहबाट केही सहायता पाउला भन्ने उनको झिनो आशा थियो, त्यो पनि भएन । उक्त नाटकको झण्डै दुई लाख ५० हजार रुपैयाँ ऋण चुलाचुलीको थाप्लोमा छ ।
एक चुलाचुलीको आफ्नै नाटकघर छैन, सरकारी पुरानो भवनमा नाटकघर सञ्चालन गर्नुपर्ने बाध्यतामा उनी कहिलेकाहीँ विरक्तिन्छन्, र पनि नाटकका लागि फेरि साहस बटुल्छन् ।
राजधानीबाहिर यदि साँच्चै नै नाटक तथा रङ्गमञ्चको विस्तार गर्ने नै हो र नाट्य क्षेत्रलाई विकेन्द्रीकरणकै बाटोमा लैजाने हो भने रङ्गकर्मीहरु स्वयं नै उठ्ने बाटो बनाउनुपर्ने उनको तर्क छ ।
भन्छन्, ‘राज्यले अब नाटक र रङ्गकर्मीलाई केही गरिदेला भन्ने आशा राख्नु नै बेकार भइसक्यो । राज्यबिना नै हामी आफैं नै कसरी उठ्ने र नाटकलाई विस्तार गर्ने भन्नेबारे विकल्पहरु सोच्नुपर्ने बेला भएको छ ।’
राज्यले अब नाटक र रङ्गकर्मीलाई केही गरिदेला भन्ने आशा राख्नु नै बेकार भइसक्यो ।
–चेतन आङथुपो
नाटकमा आएका नयाँ पुस्ताहरुको हौसलालाई जोगाउन भएपनि रङ्गकर्मीहरु जुट्नुपर्ने उनको ठम्याइ छ ।
यही कठिनाइका बीच पनि अर्का रङ्गकर्मी गोविन्द सुनार जुम्लामा नाटकघर बनाउने हुटहुटी लिएर दुई वर्षदेखि लागिपरेका छन् ।
उनका अनुसार दुई वर्षदेखिको प्रक्रियामा स्थानीय गुठीले बल्ल नाटकघरका लागि जमीन दिने कुरामा समहति जनाएको छ । जमीन उपलब्ध हुने बित्तिकै नाटकघर बनाएर जुम्लाको कला, संस्कृति र जीवनलाई नाटक ल्याएर जुम्लेलीहरुलाई छिट्टै देखाउने उनको धोको छ । यद्यपि उनको धोको पूरा हुन भने त्यति सजिलो छैन ।
उनी आफैं भन्छन्, ‘गाउँमा नाटकघर बनाउँछु भन्नु फलामको चिउरा चपाए जस्तै रहेछ । स्थानीय तहले कला नबुझ्दा साह्रै गाह्रो र झण्जट भएको छ ।’
विकास भनेको भौतिक चीजको मात्र होइन भन्ने स्थानीय तहले राज्यदेखि स्थानीय तहले बुझिदिनुपर्ने उनको भनाइ छ । हाल ‘कर्णाली आर्ट फेस्टिभल’को तयारीमा जुटेका उनी डेढ वर्षभित्रमा नाटकघर बनाउने धुनमा छन् ।
राजधानीकै थिएटरमा स्थापित भएका अनुप बराल र घिमिरे युवराज जस्ता रङ्गकर्मीहरु गाउँ–गाउँमा रङ्गमञ्च पुर्याउने हेतुले लागेका छन् । शिल्पी थिएटरकै पहलमा हाल ३० लाख रुपैयाँ लागतको योजनामा मोरङ, सुन्दरहरैँचास्थित ‘सुन्दरहरैँचा नाट्य केन्द्र’ निर्माणमा युवराज लागिपरेका छन् ।
निर्माण कार्य जारी रहेको नाट्य केन्द्रमा चार सय जना दर्शक अटाउने गरी मुक्त रङ्गमञ्च(एम्पी थिएटर’ बनाउने शिल्पीको योजना छ ।
मान्छेले विकास भनेको खाली सडक, होटल र घरहरुमा मात्र देखे । आज मैले पोखरामा थिएटर शुरु गरेपछि भोलि यो ट्रेण्ड बाग्लुङ, गुल्मी सबैतिर पुग्न सक्छ ।
–अनुप बराल, रङ्गकर्मी
रङ्गकर्मी बराल पोखरास्थित आफ्नै जमीनमा ‘हंसध्वनी’ नाटकघर निर्माणमा छन् । वात्सायन फाउण्डेसनको पहलमा संस्कृति ग्राम परिसरमा निर्माणधीन चरणमा रहेको नाटकघरको अहिले बाह्य संरचना निर्माणको कार्य सकिएको बरालले सुनाए ।
उनका अनुसार अबको नयाँ वर्षमा नाटकघर सञ्चालनमा ल्याउने तयारी चलिरहेको छ । उनका अनुसार पोखरा जस्तो कलामय शरहरमा पनि आम मानिसमा कलाप्रति हेर्ने दृष्टिकोण त्यति सन्तोषजनक छैन ।
राजधानीको तुलनामा बाहिर अझ नाटकलाई मानसिक रुपमा साथ र समर्थन कमै रहेको उनी स्वीकार्छन् । नाटकघर निर्माणकै क्रममा उनलाई छिमेकीले ‘के बनाएको यो, नाच देखाउने घर हो ? भनेर प्रश्न गरेका थिए ।
उनले ‘त्यस्तै त्यस्तै हो’ भनेर जवाफ फर्काउँदा छिमेकीले दुःख मनाउँदै आर्थिक मन्दीको समयमा ब्याङ्क्युट बनाउने सल्लाह दिएको उनी स्मरण गर्छन् । पोखरा मात्र होइन अरु ठाउँमा पनि सांस्कृतिक शहर बनोस् भन्ने उनी चाहन्छन् ।
उनी भन्छन्, ‘मान्छेले विकास भनेको खाली सडक, होटल र घरहरुमा मात्र देखे । आज मैले पोखरामा शुरु गरेपछि भोलि यो बाग्लुङ, गुल्मी सबैतिर पुग्न सक्छ । मैले एनएसडी(नेसनल स्कुल अफ ड्रामा) पढ्दा पनि थिएटर पढेर के गर्ने भन्दा गाउँमा गएर नाटक गर्छु नै भनेको थिएँ । म त्यही सपना पूरा गर्दैछु ।’
‘हंसध्वनि’ नाटकघरमै चाँडै नै नाटक अभिनय कक्षा सञ्चालन गर्ने तयारीमा उनी जुटिसकेका छन् । बिस्तारै राजधानीसँगै बाहिर पनि रङ्गमञ्चका लागि सहज वातावरण बन्दै जाने आशामा उनी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया