काठमाडौँ– रोधी घर अर्थात् लोक दोहोरी भन्ने बित्तिकै तपाईंको दिमागमा के आउँछ ? पुरानो घरको आँगन र पिँढी । जहाँ एक लाइन लहरै महिला र अर्को लाइनमा पुरुष मिलेर दोहोरी लयमै नै सन्चो, बिसन्चो, सुखम, दुःखदेखि माया पिरतीका कुराहरु साटासाट गर्छन् । रोधी धाएका लोकगीतप्रेमीहरु त्यही लयमा मन्त्र मुग्ध भएर लोकधुनमा डुब्छन् ।
दुई पक्षले पालैपालो दोहोरीको भाकामा प्रश्न उत्तर गरी माया प्रेम, सुख दुख, पीडालगायतको भाव पोख्दै गर्दा सहभागीहरु त्यसैमा आफ्नो पनि भाव र अनुभूतिहरु भएको महसूस गर्छन् । रोजगारी र अनेक बाध्यताका बाबजुत शहर पसेकाहरुले गाउँघरको यिनै रोधीघरको भाकालाई काठमाडौँमा ल्याए ।
५० को दशकमा रोधीघर शहर पस्दा गाउँबस्तीबाट झरेकाहरुले आफ्नोपना भेटाए । उनीहरु दिनभरी काम गरेर दिनभरीको थकान भुलाउन रोधी घर छिर्थे । तिनताकाको रोधीघरमा रोधी गाउनेहरुमा ग्रामिण भेगकै भेषभुषा, लय र प्रस्तुति हुन्थे, आउनेहरु त्यसैमा गाउँघरको न्यास्रो मेटाउँथे । ती हिजोका दिनहरु लोकदोहोरी गायिका देवी हमाललाई अहिले इतिहास जस्तो लाग्छ ।
हमाल तिनै गायिका हुन्, काठमाडौँमा रोधीघर बनाउन पहिलोपल्ट दोहोरी साँझ सञ्चालनको थालनी गरिन् । उनी र गायक बद्री पराजुलीले काठमाडौँमा विसं. २०५४ सालमा काठमाडौँ सुन्धारामा व्यावसायिक रुपमा दोहोरी साँझ सञ्चालनमा ल्याएका थिए ।
त्यसपश्चात् नै काठमाडौँमा दोहोरी साँझहरु थुप्रै सञ्चालमा आए र शहरमा अध्यारो शुरु भएपछि लोक लयका भाकाहरु गुञ्जिन थाले ।
काठमाडौंका ठमेल, बागबजार, नयाँ बसपार्क, बालाजु, सोह्रखुट्टे, कोटेश्वर, बानेश्वर हुँदै दोहोरी साँझको लहर अन्तर्राष्ट्रिय स्तरसम्मै फैलावट भयो । गाउँमा मात्रै सीमित लोक दोहोरीलाई काठमाडौँसहित विश्वभर फैलाउनका लागि पहिलो पटक दोहोरी साँझ सञ्चालनमा ल्याएको जस पाउँदा हमाललाई खुसी लाग्छ, तर हालको अवस्थाले भने निकै उनको मन खल्लो बनाउँछ ।
लोक दोहोरीमै र्याप, यसैमा एक अर्कालाई होच्याउने, अपाच्य तरिकाको हाँसो, गतिविधि र आधुनिक पहिरनले दोहोरीलाई फोहोरी बनायो भन्ने बजारमा सुनिरहँदा उनलाई नमज्जा लाग्छ । मनोरञ्जनका लागि शुरु भएको दोहोरीमा पछिल्लो समय केही फरक छ ।
कुनै समय स्थानीय माटो, संस्कृति र परम्परा झल्कने गरी सभ्य भाषामा गाइने दोहोरीमा पछिल्लो समय असभ्य झल्किएको हमालको ठम्याइँ छ ।
साँढे दुई दशकको अवधिमा अहिले काठमाडौँमा दोहोरी साँझको व्यापक फैलावट छ । अहिले दोहोरी साँझ च्याउँ झै उम्रिएका छन्, भन्दा फरक नपर्ने अवस्था छ । हमालका अनुसार दोहोरी साँझबाट धेरै कलाकार मात्रै जन्मिएनन्, यही क्षेत्र रोजीरोटीको थलो पनि बनेको छ ।
अधिकांश गायक गायिकाले दोहोरीमार्फत नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् भने कतिपय यसैमार्फत लोकसङ्गीतको मूलधारमा स्थापित हुन सकेका छन् । राजु परिवार देखि बद्री पङ्गेनी जस्ता लोक सर्जकहरु समेत यहीबाट उदाएका हुन् ।
पछिल्लोे समय दोहोरी साँझ लाइभ दोहोरीमा परिणत भएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको लहरले लोकगीतहरु अहिले डिजिटल प्लेटफर्ममा आउने गरेका छन् । पछिल्लो कोरोना महामारीपछि त लाइभ दोहोरीमा कायालपट नै भएको देखिन्छ ।
लोकप्रिय सर्जकहरु परियारदेखि शिला आले, पशुपति शर्मा, मिलन लामा, राम जी खाँण, पङ्गेनी, प्रिती आलेसम्मका गायक गायिकाहरु अहिले लाइभदोहोरीमै छाइरहेका छन् । अहिले गाइने गीतमा दोहोरीभन्दा पनि पैसा कमाउनका लागि गरिएको फोहोरीको रुपमा लिने गर्छिन् गायिका हमाल ।
५० को दशकमा टिपिकल, स्थानीय माटोको बासना आउने गरी लोक दोहोरी गाउने गरेको उनको स्मरणमा अझै छ । टेलिभिजनमा प्रसारण हुने दोहोरी समेत परिवारका सबै सदस्य सँगै बसेर सुन्न सकिने उनले बताइन् ।
तर पछिल्लो समय दोहोरी साँझमा गाइने गीत असभ्य र उत्सृङ्खल हुँदै आएको उनको आरोप छ । ‘पछिल्लो समयमा दोहोरी गीत गाउँदा लगाउने कपडा तथा प्रयोग गर्ने शब्द नै अपाच्य खालको छ,’ उनले भनिन् ।
शुरुवाती समयमा साँझ ७ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने दोहोरी साँझमा गाउने, नाच्ने र हेर्नेको लागि चाँडै समय बिते झैँ लाग्ने उनको भनाइ छ । उनले जोय नेपालसँग भनिन्, ‘तर अहिले यस्तो छैन । त्यो बेला गाइने दोहोरी गीत सभ्य, भव्य र परिवारका सबै सदस्य एकै ठाउँमा बसेर सुन्न सकिने खालका थिए ।’
पछिल्लो समय गाइने दोहोरी गीतमा यस्तो नभएको उनको दुखेसो छ । यसलाई नियन्त्रण गर्नको लागि सम्बन्धित निकायले आवश्यक कानून निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्लो समयमा दोहोरी गीत गाउँदा लगाउने कपडा तथा प्रयोग गर्ने शब्द नै अपाच्य खालको छ ।
–देवी हमाल, गायिका
उसो त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लाइभ दोहोरी तथा दोहोरी साँझमा प्रयोग हुने असभ्य भाषा तथा गतिविधि रोक्नको लागि नियमन गर्दै आएको छ । प्रतिस्थानले असभ्य गीत गाउने कलाकारलाई कारबाही गरेको पनि छ । साथै केही कलाकारले असभ्य गीत नगाउनको लागि प्रतिस्थानमा लिखित प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
गीत गाउँदा मात्रै नभई दोहोरी साँझमा समेत नकारात्मक काम हुने गरेको गुनासो कलाकारको छ । नाम नखुलाउने सर्तमा एक कलाकारले दोहोरी साँझमा साँझको समयमा मात्रै गीत गाउनु पर्ने भएकाले गर्नुपर्ने तथा गर्न नपर्ने कामसमेत गर्नु परेको दुखेसो पोखिन् ।
अधिकांश कलाकारले जीविकोपार्जन गर्नको लागि भए पनि दोहोरी साँझमा हुने क्रियाकलापलाई स्वीकार गर्न बाध्य भएको उनको भनाइ छ । उनले भनिन्, ‘तर दोहोरी साँझ बेलुकाको समय मात्रै हुने भएकाले काम मात्रै गरेर फर्कन पाइन्छ भन्ने हुन्न । साथीहरुको अनुभव सुने अनुसार व्यक्ति बाँच्नको लागि पनि गर्नु पर्ने तथा गर्नु नपर्ने काम पनि गर्नुपर्ने हुन सक्छ ।’
नयाँलाई टिक्नै मुस्किल
पछिल्लो समय दोहोरी साँझसँगै लाइभ दोहोरीका कलाकारलाई पनि टिक्न मुस्किल भएको बताउँछिन् गायिका धन परियार । विगत आठ वर्षदेखि दोहोरी गाउन थालेकी उनले २०७५ सालदेखि नियमित रुपमा गीत गाउन थालेको उनी सुनाउँछिन् ।
तर लाइभ दोहोरी गाउन र टिक्नको लागि सोचेअनुरुप सहज नभएको उनको अनुभव छ । दोहोरी गीतमा गाउनसँगै आर्थिक समस्या हुने गरेका उनले बताइन् ।
करिब एक दशकमा आफूले कहिले सित्तैमा त कहिले थोरै रकममा पनि गीत गाउन बाध्य भएको उनको भनाइ छ । ‘आफ्नै अवस्थाको साथीहरु आउनु हुन्छ । कहिलेकाहीँ सित्तैमा पनि गाउनु पर्ने अवस्था आउँछ,’ उनले भनिन्, ‘धेरै गीत फ्रिमा गाएकी छु । कोहीले ५ हजार रुपैयाँ पनि दिनुहुन्छ ।’
कहिलेकाहीँ ठगीमा पनि पर्ने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘म पनि २५ देखि ३० हजार रुपैयाँको ठगीमा परेको छु ।’ गीतबाट जीविकोपार्जन गर्न समस्या हुने भएकाले सहायकको रुपमा अन्य क्षेत्रमा पनि काम गर्न बाध्य भएको उनले सुनाइन् । अपाङ्गता सहायता नेपालको संस्थागत अध्यक्षको रुपमा तथा अन्य संस्थामा पनि काम गर्दै आएको उनले सुनाइन् ।
पछिल्लो समय बजारको महङ्गीले पनि आफूहरु थप मारमा परेको उनले बताइन् । साथै ठगिने समस्याले नयाँ तथा आर्थिक कमजोर भएका कलाकारहरु धेरै मारमा गरेको उनको अनुभव छ ।
आफू मात्रै नभई अधिकांश कलाकार ठगिँदै आएको उनको भनाइ छ । उनी भन्छिन्, ‘गीत गाएर मात्रै बाँच्नेलाई निकै समस्या छ । अधिकांश कलाकार ठगिँदै आएका छन् ।’
यो समस्या कम गर्नको लागि दोहोरी गीत प्रतिष्ठान नेपालले आवश्यक नीति नियम बनाउन आवश्यक रहेको उनी बताउँछिन् । पछिल्लो समयमा प्रतिष्ठानले केही नियन्त्रण गरे पनि पर्याप्त नभएको उनले सुनाइन् ।
उनले भनिन्, ‘यो समस्या कम गर्न सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्छ । व्यवस्थित गर्नुपर्छ । तर आवश्यकता अनुरुप भएको छैन । केही नीति सुधार भए पनि सोचे अनुरुप भएको छैन ।’ सम्बन्धित निकायले लोक दोहोरीमा हुने अव्यवस्थित वातावरणलाई नियन्त्रण गर्न सकेमा आफू जस्तै अन्य कलाकारले पनि केही राहतको महसूस हुने उनको आशा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया