मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पढ्नुहोस् हालसालै सार्वजनिक भएका दश कृति

काठमाडौँ– पछिल्लो समय लेखन बजार फराकिलो बन्दै गएको देखिन्छ । बुक हिल, सांग्रिला, बेला पब्लिकेसन, फाइन प्रिन्ट, शिखा बुक्स लगायतका प्रकाशन गृहहरुबाट दिग्गजदेखि अनुज पुस्ताका पुस्तकहरु प्रत्येक हप्ताजस्तो नै सार्वजनिक भइरहेका छन् ।

सार्वजनिक भएका अधिकांश पुस्तकहरुमा गैर आख्यानको तुलनामा आख्यान कृतिहरु नै बढी छन् । आख्यानमा कथा, कविता र उपन्यास विधाका कृतिहरु धेरै छन् । हालै बजारमा आएका १० पुस्तकहरु

अम्रिकाने काशी

प्रकृति र प्राणीको दृष्टिकोणबाट रचना गरिएको सरला गौतमको ‘अम्रिकाने काशी’ दोस्रो आख्यान कृति हो । हालै सार्वजनिक गरिएको उपन्यासमा प्रकृति प्रेम, जलवायु र प्राणीहरुको सहअस्तित्वका मुद्दालाई निकै सशक्त ढंगबाट उठान गरेकी छन् । पत्रकारिताबाट साहित्यमा सक्रिय गौतमले यसअघि आख्यानकृति ‘डुमेरो’ ल्याएकी थिइन्

चेकेदेम (राजारानीको दरबार)

बादल चाम्लिङको कथासङ्ग्रह चेकेदेम (राजारानीको दरबार) हालैमात्र प्रकाशन भएको छ । कथाहरुमा मौलिक, प्राकृतिक र पुरातात्विक सुगन्ध मिसिएका छन् । शिखा बुक्सले प्रकाशन गरेको सङ्ग्रहमा २४ वटा कथा छन् । पाँचथरमा जन्मिएर मोरङमा बस्दै आएकी कथाकार, कवि चाम्लिङका यसअघि दुईवटा कवितासङ्ग्रह पाठेघर (२०७४) र वीर्य जमिन (२०७६) प्रकाशित छन् ।

लोरी

‘लोरी’ साहित्यकार खिम केसीको गजलसङ्ग्रह हो । हालै मात्र दाङको घोराहीमा साहित्यकारहरुको जमघटमा सङ्ग्रहको लोकार्पण गरिएको हो । यसमा समकालीन भोगाइ र समस्याहरु केन्द्रमा राखेर केसीले गजल सिर्जना गरेका छन् ।

समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन

कवि विनय कुमार भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ लाई साहित्य पोस्टले हालैमात्र बजारमा ल्याएको छ । यस सङ्ग्रहमा इतिहासका पात्रलाई उभ्याएर वर्तमानलाई समेत जोड्ने ५१ वटा कविताहरु समावेश गरिएका छन् । ‘तिम्रो देह मेरो जन्मदिन हे’ पछि प्रकाशित भएको भण्डारीको यो दोस्रो कवितासङ्ग्रह हो ।

बगुवा पानी

उपप्राध्यापक डा. विनोद ढकालको उपन्यास ‘बगुवा पानी’ हालै मात्र सार्वजनिक भएको हो । ढकालले सडक दुर्घटनामा केन्द्रित भएर उपन्यास लेखेका हुन् । पेसाले चिकित्स रहेका उनले साहित्य सिर्जना मार्फत समाजको यथार्थतालाई केलाउने जमर्को गरेका छन् । उनको यसअघि प्याथोलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक भएको थियो ।

प्रवासीको देश हुन्न

आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ हालै मात्र बजारमा आएको हो । अधिकारीका कथाले उत्तराधुनिक चेतनासहित प्रवासी अनुभूति र भावलाई उजागर गरेका छन् । समीक्षकहरुका अनुसार कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिन्छ । तनहुँ म्याग्दे गाउँपालिकाको छांग पुख्र्यौली थलो भै हाल चितवन निवासी लेखक बेल्जियममा बस्दै आएका छन् । यस संग्रहमा १४ वटा कथा समावेश छन् । यसअघि उनका ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ ।

रातो नदी

‘रातो नदी’ दुई दशकदेखि हङकङमा बस्दै आएकी कवयित्री जुनू रानाको कवितासङ्ग्रह हो । जुन सङ्गहको गत शनिवार थापागाउँस्थित मण्डला थिएटरमा विमोचन गरिएको थियो । यस कृतिमा उनले महिला विद्रोहसँगै महिलाको महिनावारीलाई शक्ति र साहसका रुपमा परिभाषित गरेकी छिन् ।

एन्टिथेसिस

सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको पुस्तक ‘ एन्टिथेसिस’ मा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्स, राजनीतिक विचारधारालाई समेटेका छन् । कृतिमा लेखकले मानव सभ्यतासँग सम्बन्धित समाजको वैज्ञानिक विकासक्रमलगायत विषयमा खोजमूलक तथ्यहरु पस्केका छन् । कृतिमा समाज, राजनीति, मान्छे मान्छेले विकास गरेका धर्म संस्कार, परम्परा, विज्ञान प्रविधिसम्मका विषयवस्तुहरु छन् । यसअघि उनका ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’ कृतिहरु प्रकाशित छन् । 

स्व

‘स्व’ आख्यानकार सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास कृति हो । यस उपन्यासमा प्रतिक्षाले मानिसको जीवन, मत्यु र आरोहलाई आफैंले महसूस गर्नुपर्ने स्व अस्तित्वको पक्षलाई खुलाएकी छिन् । यस उपन्यासले पाठकलाई आफैंभित्रको यात्राका लागि प्रेरित गराउँछ ।

बेग्लै म

‘बेग्लै म’ अग्रज साहित्यकार उषा शेरचनको कथासङ्ग्रहको कृति हो । हालै मात्र साहित्यकार शेचरनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन उनले फेसबुक लाइभ मार्फत आफ्नो नयाँ कथासङ्ग्रह सार्वजनिक गरेकी थिइन् । सार्वजनिक भएको कृतिमा शेरचनले जीवन र जगतलाई उतारेर सामाजिक परिवेशलाई नै दुखाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?