मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

मुख गन्हाउने समस्याबाट कसरी जोगिने ? दाँत माझ्ने सही तरिका के हो ?

शरीरका अंगमध्ये मुख महत्वपूर्ण अंग हो । मुख स्वस्थ रह्यो भने मात्रै सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत पुग्छ । स्वास्थ्यका साथै आकर्षक हाँसो र अनुहारको सौन्दर्यका लागि पनि मुख र दाँतको सरसफाइ गर्न जरुरी हुन्छ । कतिपयले भने मुखको स्याहारमा लापरवाही गरेको पनि पाइन्छ ।

बिहान उठेदेखि नै विभिन्न खानेकुरा खाइरहने र दाँत नमाझी सुत्ने गर्दा ब्याक्टेरियाका कारण मुख गन्हाउने समस्या पनि निम्तिन्छ । त्यति मात्र नभएर दाँत बिग्रिने समस्या पनि आउँछ ।

चिकित्सकका अनुसार मुख गन्हाउने समस्या मात्र नभएर दीर्घ रोगबाट जोगिन पनि मुखको स्याहार गर्नु आवश्यक हुन्छ । यस विषय वरिपरि रहेर ओरल म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

मुखको सरसफाइ कसरी गर्ने ?

मुखलाई सफा राख्न बिहान उठ्नेबित्तिकै र बेलुका खाना खाइसकेपछि सुत्नुअघि दिनको दुईपटक दाँत माझ्नुपर्छ । तर दाँत माझेर मात्र हुँदैन । किनभने प्रायजसो हामी दाँतको तीन भाग मात्र ब्रस गर्ने चलन छ । तर यतिले मात्र पुग्दैन दाँतको पाँच भाग नै ब्रस सफा गर्नुपर्छ ।

दायाँ बायाँ, तल माथि र दाँतको बीचको भागमा ब्रसले सफा गर्नुपर्छ । दाँत माझ्दा ब्रस गिजाको ४५ डिग्रीमा हुनुपर्छ । ब्रसले दाँत र गिजा दुवैलाई छोएको हुनुपर्छ । दाँतको बाहिरी सतहमा अगाडि पछाडि, तल माथि लगेर ब्रस गर्नुपर्छ । ब्रसले हल्का रगड्नुपर्छ, किनकि यसरी ब्रस गर्दा गिजाबाट रगत आउन पाउँदैन । दाँत र गिजाको भित्री सतहमा पनि ब्रसलाई ४५ डिग्रीको राखेर अगाडि पछाडि र तल माथि गरेर माझ्नुपर्छ ।

जिब्रो र मुखको माथिल्लो भागलाई पनि सफा गर्नुपर्छ । त्यसले मुखमा जम्मा भएर बसेको ब्याक्टेरियालाई सफा गर्छ र मुख गन्हाउने समस्या आउँदैन । केही कारणले ब्रस गर्न सम्भव नभएको अवस्थामा सादा पानीले मुख कुल्ला गर्ने गर्नुपर्छ । केही खाना खाइसकेपछि मुख कुल्ला गर्दा मुखमा खाना टाँसिने सम्भावना कम हुन्छ । किनभने मुखमा खाना बाँकी रहेमा मुखमा ब्याक्टेरिया उत्पन्न हुने सम्भावना हुन्छ ।

मुख सफा गर्दा जिब्रोलाई पनि दैनिक राम्रोसँग सफा गर्नुपर्छ । यसको लागि टङ क्लिनरको प्रयोग गर्न सकिन्छ । मुखसँगै जिब्रोको सफा नगरेमा मुखभित्र हजारौं ब्याक्टेरिया उत्पन्न हुन्छन्, जसले दाँतको स्वास्थ्यमा नराम्रो असर पार्छ । मुख र सास गन्हाउने हुनसक्छ ।

मुखको स्वास्थ्य राम्रो राख्न फ्लसको प्रयोग गर्नु निकै नै उपयोगी मानिन्छ । यसले दाँतको बीचमा रहेको खानालाई निकाल्न मद्दत गर्छ । जुन ब्रस वा माउथवासबाट निस्किँदैन । त्यसैले मुखलाई सफा राख्न कम्तिमा दिनको एकचोटी फ्लसको प्रयोग गर्नुपर्छ ।

त्यस्तै दाँतलाई अझ सफा राख्न माउथवासबाट मुख कुल्ला गर्न सकिन्छ । यसले मुखमा भएका ब्याक्टेरियालाई मार्ने तथा सास गन्हाउने समस्यालाई निर्मूल पार्छ । दाँतलाई बलियो बनाइराख्न मद्दत गर्छ ।

मुख गन्हाउने समस्याबाट मुक्त हुन अरु कस्ता उपाय अपनाउन सकिन्छ?

क्याल्सियम दाँत र हड्डीलाई स्वस्थ र बलियो राख्न आवश्यक हुन्छ । यसको लागि दूध, दही, सुन्तलाको जुस, ब्रोकाउली चीज एवं अन्य दुग्धजन्य उत्पादनको सेवन गर्नुपर्छ । क्याल्सियम र भिटामिन ‘डी’ले गिजा र दाँत स्वस्थ राख्न मद्दत गर्छ । साथै भिटामिन ‘बी’ कम्प्लेक्सले पनि दाँत र गिजाबाट रगत बग्न जोगाउँछ । कपुर जिंक, आयोडिन, आइरन, पोटासियमको पनि दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका हुन्छ ।

पेय पदार्थमा फस्फोरसको मात्रा अधिक हुने गर्छ, जुन मुखको स्वास्थ्यका लागि आवश्यक हुन्छ । तर अत्यधिक फस्फोरसले शरीरमा क्याल्सियमको स्तरलाई नराम्रो असर गर्न सक्छ । जसले दाँत कुहिने र गिजाको समस्या नित्याउन सक्छ । त्यसैले दूध जस्तै अन्य पेय पदार्थ सेवन गर्न सकिन्छ । त्यस्तै चिनीयुक्त पेयपदार्थ भन्दा पानी पिउनु लाभदायक हुन्छ ।

सकेसम्म प्राकृतिक खानेकुराहरु मात्रै खाने, प्याकेजिङ खानेकुरा र रिफाइन्ड खानेकुरा सकेसम्म नखाने गर्नुहोस् । यसले पनि मुखलाई सफा राख्न मद्दत गर्छ । सकेसम्म तीन–तीन महिनामा दाँतको परिक्षण गराउनुपर्छ । यसरी जचाँउदा मुखको केही समस्या भएमा पनि समयमा उपचार गर्न सकिन्छ ।

सूर्तीजन्य पदार्थको सेवन गर्दा पनि कतिपयमा यो समस्या देखिन्छ । के सूर्तीजन्य पदार्थले मुखको स्वास्थयमा असर पार्छ?

पक्कै पनि चुरोट र सुर्तीको सेवनले मुख गन्हाउने समस्या हुन्छ । प्रायजसो चुरोट खाने मानिसहरुले मुखबाट चुरोटको गन्ध हटाउन चिया र कफी पिउने गर्छन् । जसले समस्या कम गर्नुको सट्टा मुखको समस्या दुई गुणा हुनसक्छ । त्यस्तै, गिजामा दुख्छ वा ब्रस गर्ने बेला दाँतबाट रगत आउने वा मुख गन्हाउने समस्या भएमा तुरुन्त दन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

मुखको स्वास्थ्यमा समस्या आएको खण्डमा के–कस्ता समस्याहरु हुनसक्छ ?

यदि कसैलाई गिजाको समस्या छ भने त्यसमा जम्मा भएको ब्याक्टेरिया रगतको माध्यमबाट फोक्सोमा गएर श्वासप्रश्वासमा पुग्छ । यसकारण एक्युट ब्रोंकाइटिस अर्थात् श्वासनली सुन्निने समस्या र क्रोनिक निमोनिया हुने सम्भावना बढी हुन्छ, जसले श्वासपश्वासमा बाधा पुर्‍याउँछ । यस्तै, दाँतको समस्या भएको बिरामीलाई मुटुको समस्या हुने सम्भावना अत्यधिक हुन्छ । किनभने मुखभित्र भएको ब्याक्टेरिया गिजा हुँदै शरीरभित्र प्रवेश गरेर मुटुको धमनी ब्लक भएर हृदयघात हुने सम्भावना बढी हुन्छ । यदि दिमागमा रक्तप्रवाह गर्ने धमनी बन्द भएको अवस्थामा स्ट्रोक हुने सम्भावना बढछ ।

मुखको सरसफाइमा ध्यान नदिँदा दाँत मक्किएर झर्ने, दाँत खुस्किने, झर्ने समस्या हुनसक्छ । यसकारण स्मरणशक्तिमा मात्र नभई दिमागको विभिन्न भागमा असर गर्न सक्छ । यसबाहेक मुखलाई सफा नगर्नाले पेटसम्बन्धी समस्या, फोक्सोको समस्या र मुखको क्यान्सर समेत हुने जोखिम हुन्छ । यसकारण हामीले संयमता अपनाउन आवश्यक छ ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

नियमित रुपमा दिनको दुइपटक राती सुत्नुभन्दा अगाडी र बिहान खाजा खाइसकेपछी दुई÷तीन मिनेटसम्म नरम खालको टूथब्रश र फ्लोराइडयुक्त टूथपेस्ट प्रयोग गरी दाँतका सबै भागमा पुग्ने गरी दाँत माझ्ने र डेण्टल फ्लसले दुई दाँतबीचको भागमा सफा गर्ने बानी बसाल्नु नै पहिलो उपाय हो । टूथब्रश हरेक तीन देखि चार महिनामा बदल्ने गर्नुपर्छ ।

चिनीयुक्त खाना, अम्लीय खाना तथा पिएपदार्थ कमखाने र खाइसकेपछि हरेकपल्ट राम्रोसँग कुल्ला गर्नु आवश्यक छ । धूम्रपान र सुर्तीजन्य पदार्थ, क्याफिन र अल्कोहलको सेवनले पनि दाँत र मुखको स्वास्थ्यमा ठूलो असर पुर्‍याउँछ । यसकारण यस्ता कुराहरुमा सचेत रहनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?