काठमाडौँ– बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेको आरोपी बाबु पक्राउ परेका छन् ।
पश्चिम सुर्खेतमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेपछि उनका छोरा तथा पीडितका दाजुले प्रहरीमा जाहेरी दिएका थिए । यही कारण गत सोमबार बाबुले आफ्नै छोराको समेत हत्या गरेको प्रहरीको दाबी छ ।
छोराको शव बाख्राको खोर नजिकै फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
हाल पक्राउ परेका बाबुले गत असोजमा आफ्नै छोरीमाथि बलात्कार गरेका थिए। घटनाबारे बहिनीले दाजुलाई भनेपछि प्रहरीमा जाहेरी दिइएको थियो। त्यसपछि बाबुले जाहेरी दिने छोराकै हत्या गरेपछि अर्को छोरा तथा मृतकका भाइले बाबु विरुद्ध जाहेरी दिएका छन्।
छोरीको बलात्कार र छोराको हत्या गरेर फरार भएका उनै बाबुलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान कैलालीको टीकापुरबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।
पक्राउ परेका बाबुले घटना बाहिर ल्याएको भन्दै छोरीलाई समेत घाइते बनाएका थिए। घाइते छोरीको उपचार भइरहेको छ।
घटनाबारे प्रदेश प्रहरी कार्यालय कर्णाली सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया