मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

को हुन् विश्वका शीर्ष दश धनाढ्य ? कति छ कुल सम्पत्ति ?

शीर्ष १० मध्ये ९ जना अमेरिकी नागरिक

काठमाडौँ– उच्च महत्वाकांक्षा र उद्यमशीलताको यो युगमा केही अर्बपतिले आम मानिसले अनुमानै गर्न नसकिने सम्पत्ति कमाएका छन् ।

विश्वको सबैभन्दा धेरै सम्पत्ति कमाउने मानिसहरुको सूचीमा पर्न सफल केही धनाढ्यको सम्पत्ति मध्यमस्तरका केही मुलुकको कुल अर्थतन्त्र बराबर नै हुन आउँछ । पछिल्लो समय प्रविधि, वित्त र खुद्रा व्यवसायमार्फत् धनाढ्यहरुले ठूलो परिमाणमा सम्पत्ति कमाएका छन् ।

यसबाट धनी र गरिबबीचको खाडल बढ्दै गएको भन्दै चिन्ता पनि उत्पन्न हुँदै आएको छ । संसारमा सबैभन्दा धेरै सम्पसत्त भएका १० अर्बपतिको सूचीमा पर्न सफल ८ जना प्रविधिसम्बन्धी उद्यमसँग सम्बन्धित छन् । विश्वका ठूला प्रविधि कम्पनीहरु एप्पल, फेसबुक, अमेजन, एक्सजस्ता कम्पनीका मालिकहरुले यो सूचीमा राम्रै ठाउँ पाएका छन् ।

त्यसबाहेक यो सूचीमा विश्वको सबैभन्दा धनी मुलुक अमेरिकी नागरिकको दबदबा रहेको छ । यो सूचीमा पर्न सफल १० जनामध्ये ९ जना अमेरिकी नागरिक हुन् ।

को हुन् त संसारका सबैभन्दा धनी १० अर्बपति ? आउनुहोस् चर्चा गरौँ ।

एलन मस्क

विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा टेस्ला, स्पेसएक्स र सामाजिक सञ्जाल एक्स कम्पनीका प्रमुख एलन मस्कको नाम आउँछ । अमेरिकी अखबार फोर्ब्सका अनुसार अमेरिकी नागरिक मस्कको कुल सम्पत्ति २ खर्ब ५२ अर्ब डलर बराबर रहेको छ ।

यो सम्पत्ति युरोपेली मुलुक पोर्चुगलको कुल ग्राहस्थ उत्पादन २ खर्ब ५५ अर्ब डलरभन्दा तीन अर्ब कम हो । नेपालको कुल ग्राहस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब रुपैयाँ अर्थात् ४०.२६ अर्ब डलर मान्दा मस्कको कुल सम्पत्ति नेपालको कुल ग्राहस्थ उत्पादनभन्दा ६ गुणाभन्दा धेरै हो ।

५३ वर्षे मस्कसँग टेस्ला कम्पनीको २३ प्रतिशत स्वामित्व रहेको छ । उनको दुई तिहाई सम्पत्ति यही स्रोतबाट आउने फोर्ब्सले उल्लेख गरेको छ । सन् २०२२ को अक्टोबरमा उनले सामाजिक सञ्जाल ट्विटर (हालको एक्स) ४४ अर्ब डलरमा खरिद गरेका थिए । सन् २०२१ को नोभेम्बर महिनामा उनको कुल सम्पत्ति ३ खर्ब २० अर्ब डलर बराबर पुगेको थियो ।

जेफ बेजोस

विश्वको सबैभन्दा धेरै सम्पत्ति हुने धनाढ्यको दोस्रो नम्बरमा जेफ बेजोसको नाम आउँछ । बेजोस अनलाइन खुद्रा व्यवसाय गर्ने कम्पनी अमेजनका संस्थापक हुन् । उनले अन्तरिक्षको खोज गर्ने कम्पनी ब्लु ओरिजिनको पनि स्थापना गरेका छन् । साथै, उनले सन् २०१३ मा २५ करोड अमेरिकी डलर मूल्यमा अमेरिकी अखबार वाशिंटन पोस्ट पनि खरिद गरेका थिए ।

फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति २ खर्ब १६ अर्ब रहेको छ । बेजोस पनि अमेरिकी नागरिक नै हुन् । उनको सम्पत्ति युरोपेली मुलुक ग्रिसको कुल ग्राहस्थ उत्पादन २ खर्ब १७ अर्ब डलरभन्दा १ अर्बले कम हो । हाल वाशिंटनको मेडिनामा बसोबास गर्दै आएका बेजोसले सन् २०२१ को जुलाई महिनामा अमेजन कम्पनीको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएका थिए ।

यद्यपि उक्त कम्पनीको अध्यक्षमा उनी अझै कायमै छन् । अमेजनको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएको महिना नै उनी ब्लु ओरिजिनले निर्माण गरेको रकेटमा चढेर अन्तरिक्षको निजी भ्रमणमा निस्केका थिए ।

बर्नाड अर्नौ

संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा बर्नाड अर्नौ रहेका छन् । संसारकै सबैभन्दा धनी १० व्यक्तिको सूचीमा पर्न सफल उनीमात्र गैर अमेरिकी हुन् । फ्रान्सेली नागरिक उनी पेरिसमा बसोबास गर्दै आएका छन् । ७५ वर्षे अर्नौ संसारकै सबैभन्दा ठूलो विलासी वस्तु उत्पादक कम्पनी मोएट हेन्नेसी लुई भुतोँ (एलभीएमएच) का प्रमुख कार्यकारी र अध्यक्ष हुन् ।

त्यसबाहेक उनको स्वामित्वमा क्रिस्टियन डायर, मोएट एण्ड शान्डन र सेफोरा कम्पनीसमेत रहेको छ । सन् २०२१ को जनवरी महिनामा एलभीएमएचले टिफानी एण्ड कम्पनी नामक गहना कम्पनी खरिद गरेको थियो । त्यसबेला एलएमभीएचले टिफानी एण्ड कम्पनीको स्वामित्वका लागि १५ अर्ब ८० करोड डलर तिरेको थियो ।

फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ खर्ब ९१ अर्ब डलर रहेको छ । यो सम्पत्ति अफ्रिकी महादेशको चौथो ठूलो अर्थतन्त्र अल्जेरियाको कुल ग्राहस्थ उत्पादन १ खर्ब ९५ अर्ब डलरभन्दा ४ अर्ब कम हो । अर्नौका छोराछोरी पनि उनको व्यवसायमा संलग्न छन् । सन् २०२३ मा उनले छोरी डेल्फिनलाई डायरको नेतृत्व सम्हाल्नेगरी नियुक्त गरेका थिए ।

मार्क जुकरबर्ग

विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा चौथो नम्बरमा मार्क जुकरबर्ग छन् । ४० वर्षे जुकरबर्ग फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता लोकप्रिय सामाजिक सञ्जालको माउ कम्पनी मेटाका संस्थापक तथा प्रमुख कार्यकारी हुन् ।

उनले सन् २००४ मा १९ वर्षको उमेरमै फेसबुकको स्थापना गरेका थिए । हार्डवर्ड विश्वविद्यालयमा कम्युटर साइन्स र मनोविज्ञान अध्ययन गरेका उनले सन् २०१२ को मे महिनामा आफ्नो कम्पनीलाई सार्वजनिक स्वामित्वमा लगेका थिए । हाल जुकरबर्गसँग उक्त कम्पनीको १३ प्रतिशत स्वामित्व छ । डिसेम्बर २०१६ मा उनी संसारकै सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीको शीर्ष १० मा अटाएका थिए ।

फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ खर्ब ८५ अर्ब रहेको छ । जुन युरोपेली मुलुक हङ्गेरीको कुल ग्राहस्थ उत्पादन १ खर्ब ७७ अर्बभन्दा ८ खर्ब डलर धेरै हो । जुकरबर्ग परोपकारी कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन् । सन् २१०० सम्म संसारमा व्याप्त सबै रोगको उन्मूलन, व्यवस्थापन एवम् समाप्त पार्नका लागि उनले आफ्नी श्रीमतीसँग मिलेर ३ अर्ब डलर खर्च गरेका छन् ।

ल्यारी एलिसन

विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूचीमा ल्यारी एलिसन पाचौँ नम्बरमा छन् । उनी सफ्टवेयर कम्पनी ओराकलका सह संस्थापक हुन् । उनले सन् १९७७ मा उक्त कम्पनीको स्थापना गरेका थिए । सन् २०१४ सम्म उनी त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका थिए ।

यद्यपि उनी अझै पनि ओराकलको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीको पदमा रहेका छन् । सन् १९४४ मा न्यूयोर्कमा जन्मेका एलिसनले अर्बाना च्याम्पियनमा रहेको इलेनोई विश्वविद्यालय र शिकागो विश्वविद्यालयमा अध्ययन गरेका थिए । सन् २०१२ मा उनले हवाईमा रहेको लनाई टापु ३० करोड डलरमा खरिद गरेरर चर्चा कमाएका थिए ।

एलिसनले सेल्सफोर्स डटकम, नेटसुट, क्वार्क बायोटेक्नोलोजी कम्पनी र एस्टेक्स फर्मासुटिकल्स कम्पनीमा पनि लगानी गरेका छन् । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ खर्ब ७९ अर्ब अमेरिकी डलर रहेको छ । जुन नेपालको कुल ग्राहस्थ उत्पादनभन्दा झण्डै साढे ४ गुणा धेरै हो ।

ल्यारी पेज

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीको छैटौँ स्थानमा ल्यारी पेजको नाम आउँछ । पेजको जन्म सन् १९७३, मार्च २६ मा  लान्सिङ मिसिगनमा भएको थियो । स्ट्यानफोर्ड विश्वविद्यालयमा पीएचडी गर्दा सँगै पढेका सर्गेइ ब्रिनसँग मिलेर पेजले सन् १९९८ मा गुगलको स्थापना गरेका थिए ।

सन् २००१ सम्म र त्यसपछि सन् २०११ देखि सन् २०१५ सम्म पेज गुगलका प्रमुख कार्यकारीको पदमा थिए । उनी गुगलको माउ कम्पनी अल्फबेटको सञ्चालक बार्डमा सदस्य पनि छन् । प्रमुख शेयरहोल्डरका रुपमा कम्पनीमा उनको मजबुत नियन्त्रण रहेको ठानिन्छ । उनले प्लानेटरी रिसोर्सेज नामक कम्पनीमा पनि लगानी गरेका छन् ।

उक्त कम्पनीले उल्कापिण्ड तथा अन्य खगोलीय पिण्डमा रहेका प्राकृतिक स्रोतको उत्खनन् गरी पृथ्वीमा ल्याउने उद्देश्य राखेको छ । फोर्ब्सका अनुसार पेजको कुल सम्पत्ति १ खर्ब ५५ अर्ब अमेरिकी डलर रहेको छ । जुन युक्रेनको कुल ग्राहस्थ उत्पादन १ खर्ब ६० अर्ब अमेरिकी डलरभन्दा ५ अर्ब कम हो ।

सर्गेइ ब्रिन

सबैभन्दा धनी व्यक्तिको सूचीमा सर्गेइ ब्रिनको नाम सातौँ स्थानमा आउँछ । सर्गेइ ब्रिन उनै व्यक्ति हुन्, जोसँग मिलेर ल्यारी पेजले सन् १९९८ मा गुगलको स्थापना गरेका थिए । गुगललाई विश्वको अग्रणी सर्च इन्जिका रुपमा विकास गर्न ब्रिनको ठूलो योगदान रहेको बताइन्छ ।

रुसी मूलका ब्रिनले कम्पनी स्थापनाको शुरुवाती चरणमा गुगलमाा प्रविधि अध्यक्षको पद सम्हालेका थिए । पछि उनले कम्पनीमा विशेष परियोजनाहरु हेर्न थाले । आवाजबाट सञ्चालन हुने स्मार्ट ‘गुगल ग्लास’ को विकासमा पनि उनले काम गरेका थिए । पेजजस्तै ब्रिन पनि अल्फबेटको सञ्चालक समितिमा सदस्य छन् ।

कम्पनीमा उनले पनि प्रभावशाली नियन्त्रण जमाउँदै आएको विश्वास गरिन्छ । फोर्ब्सका अनुसार ब्रिनको कुल सम्पत्ति १ खर्ब ४९ अर्ब अमेरिकी डलर रहेको छ । जुन नेपालको कुल अर्थतन्त्रभन्दा ३.७ गुणा धेरै हो ।

बिल गेट्स

विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा बिल गेट्स आठौँ स्थानमा रहेका छन । माइक्रोसफ्ट कम्पनीका सह संस्थापक गेट्सको जन्म सन् १९५५ अक्टोबर २८ मा वाशिंटनको सियाटलमा भएको थियो । उनलाई पर्सनल कम्युटरको क्षेत्रमा क्रान्ति नै ल्याएको जस दिने गरिन्छ । सन् १९८७ मा फोर्ब्सले उनलाई पहिलो पटक अर्बपतिको सूचीमा राखेको थियो ।

केही वर्षको अन्तरलाबाहेक सन् १९९५ देखि सन् २०१७ सम्म उनी विश्वका धनाढ्यहरुको सूचीमा शीर्ष स्थानमा रहँदै आएका थिए । एक समय गेट्ससलाई अर्बपतिको पर्यायकै रुपमा लिइन्थ्यो । लामो समय माइक्रोसफ्टमा काम गरेका उनी पछिल्लो समय भने परोपकारी कार्यमा लागेका छन् ।

उनले स्थापना गरेको बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले विश्वभर स्वास्थ्य, शिक्षा, विपद् न्यूनीकरणजस्ता क्षेत्रमा अनुदान प्रदान गर्दै आएको छ । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ खर्ब ३५ अर्ब अमेरिकी डलर रहेको छ । जुन उत्तर अफ्रिकी मुलुक मोरक्कोको कुल ग्राहस्थ उत्पादन १ खर्ब ३० अर्बभन्दा ५ अर्ब धेरै हो ।

स्टिभ बालमेर

विश्वका धनाढ्यको सूचीमा स्टिभ बालमेरको नाम नवौँ स्थानमा आउँछ । उनले सन् २००० देखि सन् २०१४ सम्म माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारीको पद सम्हालेका थिए । सन् १९८० मा माइक्रोसफ्टमा उनी कम्पनीको ३० औँ कर्मचारीका रुपमा प्रवेश गरेको बताइन्छ ।

उनले हाडवर्ड विश्वविद्यालयमा बिल गेट्ससँगै अध्ययन गरेका थिए । माइक्रोसफ्टमा काम गर्न उनले स्ट्यानफोर्ड विश्वविद्यायलमा एमबीएको पढाइ बिचैमा त्यागेका थिए । माइक्रोसफ्ट कम्पनीबाट अवकाश लिएकै समयमा उनले अमेरिकाको बास्केटबल लिग खेल्ने लस एन्जल्स क्लिपर्स क्लब खरिद गरेका थिए ।

त्यसबेला उनले २ अर्ब डलर खर्च गरेर उक्त क्लब किनेका थिए । त्यसबेलाका लागि त्यो कीर्तिमानी रकम रहेको फोब्र्सले जनाएको छ । फोर्ब्सका अनुसार बालमेरको कुल सम्पत्ति पनि गेट्सको जत्ति नै १ खर्ब ३५ अर्ब अमेरिकी डलर रहेको छ ।

वारेन बफेट

विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूचीको दशौँ स्थानमा वारेन बफेटको नाम आउँछ । उनलाई विश्वकै सबैभन्दा सफल लगानीकर्ता मानिन्छ । उनी लगानीकर्ता कम्पनी ब्रेकशायर हाथवेका प्रमुखसमेत हुन् ।

उनले संसारका सफलतम कम्पनीमा लगानी गर्ने गरेका छन् । इन्सुरेन्स कम्पनी गेको, बेट्री उत्पादक कम्पनी डुरासेल, एप्पल, नु होल्डिङ्स, डेरी क्विनजस्ता कम्पनीमा उनको लगानी रहेको छ । उनी परोपकारी कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् । सन् २०१० मा बिल गेट्ससँग मिलेर उनले गिभिङ प्लेज इनिसिएटिभ थालेका थिए ।

जसको उद्देश्य अर्बपतिहरुलाई आफ्नो कुल सम्पत्तिको ५० प्रतिशत परोपकारी कार्यमा खर्च गर्न आग्रह गर्नु रहेको थियो । बफेटले भने आफ्नो कुल सम्पत्तिको ९९ प्रतिशत नै परोपकारी कार्यमा दान गर्ने घोषणा गरेका छन् । फोर्ब्सका अनुसार बफेटको कुल सम्पत्ति १ खर्ब २८ अर्ब अमेरिकी डलर रहेको छ । जुन इथियोपियाको कुल ग्राहस्थ उत्पादन १ खर्ब २६ अर्बभन्दा दुई अर्ब डलर धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?