सामान्यतया महिलाले एक सन्तानलाई मात्र जन्म दिने गर्छिन् । तर, कहिलेकाहीँ जुम्ल्याहा या तिम्ल्याहा बच्चा जन्मिने गरेका छन् ।
जुम्ल्याहा बच्चा जन्मिए स्याहार गर्न र एकैपटक हुर्काउन सजिलो हुने भएकाले कतिपय दम्पतीले जुम्ल्याहा बच्चाको चाहना राख्ने गर्छन् । अझ कतिले त जुम्ल्याहा बच्चा कसरी जन्माउन सकिन्छ भनेर चिकित्सककहाँ सल्लाह नै लिने गर्छन् ।
वास्तवमा जुम्ल्याहा सन्तान गर्भमा आउनु, जुम्ल्याहा बच्चा जन्माउनु भनेको निकै जोखिम कुरा रहेको प्रजनन् रोग विशेषज्ञहरु बताउँछन् । आखिर के कारणले गर्भमा एक भन्दा बढी बच्चा रहन्छन् त ? जुम्ल्याहा बच्चा गर्भमा आउनु कतिको स्वस्थकर कुरा हो? लगायतका विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
के कारणले आमाको गर्भमा एकभन्दा बढी बच्चा रहन्छ ? कसरी जुम्ल्याहा बच्चा बस्ने स्थिति रहन्छ ?
स्वभाविक हिसाबले हेर्दा एक जना महिलाको गर्भमा एउटा मात्र बच्चा बस्नुपर्ने हुन्छ । महिलामा दुईवटा डिम्बाशय हुन्छ । जब शारीरिक सम्पर्क हुन्छ, तब पुरुषका शुक्रकिट यी दुई डिम्बासयमध्ये एउटामा निषेचन हुन्छ । पुरुषको शुक्रकिट असंख्य हुन्छ । त्यसमध्ये एउटा शुक्रकिट महिलाको एउटा डिम्बसँग मिलन हुन्छ । यस्तो अवस्थामा महिलाको गर्भमा एउटा भ्रुण विकास हुन्छ । तर कहिलेकाहीँ यस्तो नहुन सक्छ । महिलाको गर्भमा दुई वा त्यो भन्दा बढी गर्भ रहन सक्छ । यसलाई चिकित्सकीय भाषमा ‘जैविक दोष’ बायोलोजिकल मिस्टेक भनिन्छ ।
एकभन्दा बढी भ्रुण विकास भएर कसरी जुम्ल्याहा बच्चा हुन्छ ?
कहिलेकाहीँ यौन सम्बन्ध बनाए पश्चात् गल्तिबस पुरुषको शुक्रकिट महिलाको दुईवटा अण्डमा निषेचन हुन पुग्छ । यस्तो अवस्थामा गर्भाशयमा दुईवटै भ्रुण विकास हुन पुग्छ र जुम्ल्याहा बच्चा बन्दछन् । यस्तो स्थितिमा जन्मने जुम्ल्याहाको रुपरङ्ग, आनीबानीमा केही फरकपन आउन सक्छ । साथै एउटा छोरा जन्मिएका छ भने अर्को छोरी हुनसक्ने सम्भावना धेरै हुन्छ । जुम्ल्याहा गर्भ रहने अर्को पनि स्थिति हुन्छ ।
एउटा शुक्रकिट एउटै अण्डमा निषेचित भएको छ भने पनि कहिलेकाहीँ भ्रुण विकास हुने क्रममा त्यो विभाजित भएर दुईवटा अलग भ्रुण विकास हुन सक्छ । यसरी जन्मने जुम्ल्याहा सन्तान प्रायः एकै लिङ्गका हुन्छन् भने उनीहरुको स्वभाव, रुपरङ्ग पनि धेरै हदसम्म मिल्दो हुन्छ । यसरी नै भ्रुण विकास हुने क्रममा यदि भ्रुणको विभाजन ढिलो भइदियो भने दुई अलग बच्चाको शरीर जोडिएर पनि जन्म हुन सक्छ ।
जुम्ल्याहा बच्चा गर्भमा रहनु कत्तिको जटिल अवस्था हो ? यसले के–के भवितव्यहरु निम्त्याउन सक्छ ?
एउटा गर्भाशयमा दुईवटा गर्भको तुलनामा एउटै बच्चा हुर्काउने प्रक्रिया सहज हुन्छ । दुईवटा गर्भ रहनु भनेको गर्भावस्थाको समस्या दोब्बर हुनु हो । एउटा गर्भ रहँदा जति समस्या हुन्छ, दुईवटा गर्भ रहँदा त्यो भन्दा दोब्बर हुन्छ । गर्भाशयमा दुईवटा भु्रणले बढी ठाउँ ओगट्ने हुँदा पेटको आकार पनि तुलनात्मक रुपमा बढ्छ । पेटको आकार सामान्य भन्दा ठूलो हुँदा बच्चा चाँडै जन्मने गर्छ । जस्तो अरु ३७ हप्तामा जन्मन्छन् भने जुम्ल्याहा बच्चा त्यसअघि नै जन्मन्छन् । अर्थात् उमेर नपुग्दै बच्चा जन्मन्छन् । यसैगरी पाठेघर खुम्चिन ढिलो हुने हुँदा रक्तश्राव बढी हुन्छ । आमालाई मधुमेह, उच्च रक्तचाप जस्ता समस्या थपिने जोखिम हुन्छ । अर्को जोखिम भनेको कतिपय अवस्थामा दुई बच्चाको शरीर जोडिएर जन्मिन सक्छन् ।
जुम्ल्याहा बच्चा हुनुको मुख्य कारणहरु के–के हुन् ?
जुम्ल्याहा बच्चा जन्मनुमा एउटा मात्र कारण छैन । विभिन्न कारणले गर्भमा जुम्ल्याहा बच्चा रहने स्थिति आउँछ । वंशाणुगत कारणले पनि जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ । परिवारमा यसअघि पनि जुम्ल्याहा सन्तान जन्मिएका छन् भने वंशाणुगत कारणले पछि गर्भमा जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ । त्यसैगरी यसमा उमेर पनि अर्को कारण बन्ने गरेको पाइन्छ । महिलाको उमेर बढ्दै गएको छ भने गर्भमा जुम्ल्याहा बच्चा बस्ने गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया