काठमाडौँ– जो कोहीलाई जीवनका सपनाहरु देख्न र बुन्न एकदमै छुट छ । तर सपना पूरा गर्न कहाँ सहज छ र । सपनाहरुको गन्तव्यमा पुग्न मानिसले थुप्रै अप्ठ्यारा बाटाहरु झेल्नु र भोग्नुपर्छ ।
आफ्नो सपनाको महल बनाउन अरुको भन्दा आफ्नो आत्मबल अझै चाहिन्छ । तब न लोप्साङ(नुहाङ तामाङ) जसरी नै फेरि मैदानमा उठ्न सकिन्छ ।
हो, तिनै लोप्साङ नाटक ‘नुग्:द्य’ का मुख्य पात्र । जो आफ्नो सपना पूरा गर्नकै लागि लडेर पनि फेरि उठेर आएका छन् ।
थापागाउँस्थित मण्डला थिएटरमा ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत महोत्सवको दोस्रो दिन शनिवार नाटक ‘नुग्: द्य’ मञ्चन गरिएको थियो । मुख्य पात्र नुहाङकै लेखनमा विजय तामाङ ब्लोनले नाटकको निर्देशन गरेका हुन् । ‘नुग्: द्य’मा एक कलाकार (डान्सर) बन्ने हुटहुटी बोकी हिँड्ने युवाका उतारचढावहरुको कथा छ । ती उतारचढावहरुमा कतै रोमाञ्चकता र कतै भावुकताहरु मिसिएका छन् ।
तिनै रोमाञ्चकता र भावुकताहरुबीच लड्दै–लड्दै उठेका उही लोप्साङको कथा छ । नृत्यको सपना पुनः सङ्गालेर आएका लोप्साङले आफूलाई त उभ्याएका छन् नै तमाम युवाहरुलाई समेत सपना देख्न र सपनाको गन्तव्यमा हिँड्न सिकाएका छन् । उनी भन्छन्,
‘आशाका टुक्रा–टुक्रा बटुली, भागी हिँड्ने मन समेटी
‘छिचोल्दैछु अप्ठ्यारो अँध्यारो उकालो
म हुँ एउटा विश्वास, म हुँ एउटा हिम्मत
म नै हुँ एउटा उज्यालो ।’
नाटकको थालनी राष्ट्रियस्तरको नृत्य प्रतिस्पर्धामा ‘म्याजिक क्रु’को फाइनल राउण्डको प्रस्तुतिबाट हुन्छ । समूहको फाइनल राउण्डको प्रस्तुतिकै क्रममा लोप्साङको नृत्य सपनामा अचानक तुसारोपन छाउँछ । त्यसपछि ह्वीलचियरबाट नै लोप्साङको जीवन र सपनाहरु फ्ल्यासब्याकमा जान्छ । त्यसपछि उनका जीवन र सपनाका किस्साहरु आम दर्शक समक्ष खुल्दै जान्छन् ।
२६ वर्षिय गाउँले ठिटो लोप्साङको एउटै सपना छ, नृत्य कलाकार बन्ने । नृत्य प्रतिस्पर्धामा उत्कृष्ट भएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने मौका पाएमा नामसँग थोरै दाम पनि कमाउँछु भन्ने उनको आशा छ । नृत्यकै माध्यमबाट दाम कमाइ हालेमा बहिनी निमा(चेनमी राई)लाई राम्रो स्कूल पढाउने, आपा (बुवा) छिरिङ(युभहाङ राई)लाई किराना पसल राखिदिने र आमा डोल्मा(रञ्जिता लिम्बु)लाई राम्रो अस्पतालमा लगेर उपचार गराउने । त्यही सपना बोकेर उनी दुई घण्टाको बाटो लगाएर डान्स क्लास र काममा दिनहुँ धाउँछन् ।
उनी जस्तै सपना बोकेर आउने साया(स्मृति श्रेष्ठ), सुरज(मनिष पाण्डे), दिवस (श्याम कार्की)हरुलाई उनले डान्स क्लासमा भेट्टाउँछन् । सबै एउटै चाह हुन्छ, नृत्य गर्ने । अनि समस्या पनि उस्तै हुन्छ, नृत्य सिक्न पैसा कहाँबाट ल्याउने ?
लोप्साङको आपा सोच्छन्, जवान छोराले कमाएर घरमा केही भरथेग गरिदिओस् । घरको अभावले नै छोरा लागेको बाटो उनलाई राम्रो लाग्दैन । उनी छोराका लागि काम खोजीमा निरन्तर छन्, तर लोप्साङ आफ्नै नृत्य कर्ममा छन् । त्यहीबिच शुरु हुन्छ, बाउछोराको टकराव ।
घरमा बिरामी आमा, सानी बहिनी, बुवाको दिनरातको उही कुराले मानसिक रुपमा विचलनमा परेको लोप्साङ आमालाई सुनाउँछन्, ‘आफूले मन परेको काम गर्न पाए त्यसैमा खुसी मिल्छ । मैले विदेश गएर पैसा त कमाउँला त्यसमा खुसी पाउन सकिँन भने के गर्ने ?’
यही उनको विचलनकै क्रममा उनी ह्वील चियरमा पुग्दा उनकी आमा सधैंका लागि ढलिसकेकी हुन्छिन् । त्यसपछि शारीरिक, मानसिक रुपमा मौन रहेका लामो समय विश्राममै रहन्छन् । जब उनका आँखा अगाडि आमा र आफ्नै सपनाहरु अगाडि आउँछन्, तब उनले आफैं भित्रको उज्यालो देख्छन्, आफैंलाई विश्वास गर्छन् र हिम्मत जुटाएर उज्यालो लिएर फेरि उठ्छन् ।
नाटकका दृश्यहरु हेर्दा यस्तो भान हुन्छ, विजय र नुहाङ जस्ता युवा पुस्ताका कलाकारहरुले आफू मात्र होइन, लाखौं युवाका कथाहरु भनिरहेका छन् । ‘कलाकार’, जुन शब्द कानले सुन्दा र आँखाले हेर्दा जति गजब र सम्मानजनक लाग्छ, त्यसको ट्याग भिरेर कलाकारिता फाँटमा उभिन त्यति सजिलो पक्कै छैन । यी दुई युवाहरु रङ्गकर्मी मात्र नभएर नृत्य क्षेत्रमा पनि सपना खोजिरहेका छन् ।
नृत्यमा सपना खोज्दाखोज्दै रङ्गमञ्चमा आइपुगेका यी दुवै युवाहरुले आफ्नो कथा आम जमातमा गज्जबले भनेका छन् । यी दुईको नाटक सिर्जनाले भन्छ, ‘कलाकार बन्न त्यति सजिला बाटाहरु छैनन् । कैयौं सपनाहरु टुटाएर, फुटाएर अनि आफैंमा हिम्मत जुटे मात्र कलाकारको रुपमा उभिन सकिन्छ ।’
नुहाङ जसले नाटकलाई जीवन्त रुपमा लेखनमा मात्र नभएर अभिनय कलामा समेत उतारेका छन् । जो लोप्साङ(मुख्य पात्र)का रुपमा मञ्चमा छन् । नाटकका दृश्यहरु हेर्दा लाग्छ, त्यहाँ लोप्साङको होइन, नुहाङको कथा देखिँदैछ । अनि त्यसैमा रङ्गकर्मी विजयले आफ्ना कथाहरु पनि मिसाइ दिएका छन् ।
नाटकमा लोप्साङको जीवनमा घटित अधिकांश घटनाहरुमा आम युवा वर्गका सपनाहरु अन्तरघुलित भएका छन् । नृत्यमा उनको सङ्घर्ष, उनको पारिवारिक स्थिति, नृत्य जीवनमा घटित् घटना, आमासँगै गुमेका सपनाहरु, उनको मानसिक विचलनहरुमा आम युवा वर्गहरु देखिन्छन् ।
सन्तानलाई भविष्यको साहरा मान्ने वर्गमा जन्म लिएपछि कलाकार नै बन्छु भनेर ढिपी कस्नेहरुको के–कस्ता हन्डरहरु खाएर सपनाकै लागि भएपनि जागिरहनुपर्छ भन्ने ज्वलन्त उदाहरण नाटकले पेश गरेको छ । युवाले सपना देख्नु गलत होइन, तर सपना पूरा गर्न स्वयं नै लड्ने र उठ्ने खेलमा हुनुपर्छ भन्ने आम युवालाई नाटकले सन्देश छोड्दै बिट मार्छ ।
नाटकमा युवापुस्ताबिच हुने प्रेम, खिचातानी, आपसी द्वन्द्वहरुलाई नाटककै सन्दर्भमा बग्न दिएको छ । यद्यपि ती द्वन्द्वहरुमा स्थायित्व छैनन् । जस्तो साया र लोप्साङको प्रेममा घुसिनै लागेको द्वन्द्व त्यसै टुङ्ग्याइएको छ ।
लोप्साङको फ्ल्यासब्याकै घुम्ने कथामा ब्राह्मण र किरातीबिचको विवाहलाई अलिकति घुसाइएको छ । नाटकमा समकालीन समाजलाई देखाउन खोजिएपनि नाटकको मूल कथामा उक्त उपकथा नहुँदा पनि खासै फरक पर्ने देखिँदैन । कलाकारहरुको नृत्य प्रस्तुतिहरुले नाटकलाई जबर्जस्त बनाएको छ । त्यसैमा कलाकार नुहाङको नृत्यसँगै उनले गरेको जीवन्त अभिनयले नाटकमा प्राण भरिदिएको छ ।
लोप्साङको मानसिक संवेदना र सङ्घर्षहरुमा शब्द भन्दा बढी काम प्रयुक्त प्रकाश उनको मुहारको अभिव्यक्तिले प्रस्ट पारेको छ । त्यस्तै पाको उमेरका बुवाको चरित्रलाई निर्वाह गर्ने कलाकार युभहाङ राई, साहुजी(राजिव चौधरी)को अभिनयलाई आम दर्शकले मनमा राख्न सक्छन् । समग्रमा नाटकले युवा वर्गलाई लडेर आँखा चिम्लिरहन होइन, उठेर उज्यालो बाँड्नतिर लाग्ने उत्प्रेरणा प्रदान गर्छ ।
नाटकमा प्रकाश डिजाइनमा उमेश तामाङ, सेट डिजाइनमा मान बहादुर राई, युभहाङ राई, प्रप्समा श्याम कार्की, कस्ट्युममा अपिल कार्की, स्टेज व्यवस्थापन र सहायक निर्देशनमा मञ्जिल श्रेष्ठ छन् ।
मञ्चमा:
नुहाङ तामाङ, युभहाङ राई, रञ्जिता लिम्बु, चेनमी राई, रोहित शाह, मनिष पाण्डे, युङ्छो लिम्बु, स्मृति श्रेष्ठ, श्याम कार्की, विवेक खड्का, उदित थापा, राजिव चौधरी, मनिषराज पाण्डे, अपिल कार्की, सुजना पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया